
सजीव मुस्कानमा पाउने त्यो सामीप्यता, माया, प्यार दुलार, स्नेह दुर्लभ भइसकेको एउटी छोरीको अगाडि जब मूर्तिकार लक्ष्मण भुजेल अनि राजन काफ्लेजीले प्लास्टिकले छोपेको मूर्तिको मुहार उघार्दा आफ्नो अगाडि देखिएको बुबाको आकृतिले यो छोरीको मन र मुटु दुवै एकैछिन ढक्क भएर रोकिएको अनुभूति भएको थियो ।
‘डिल्लीबजारको फलानो ठाउँमा आउनुस न एकचोटी।’ फोनको घण्टीपछिको आवाज थियो त्यो । मैले सिधै ‘हुन्छ’ भनिदिएँ ।
पाँच वर्ष भइसक्यो बुबालाई सशरीर देख्न नपाएको । बुबा-छोरी बात मार्दा मुसुक्क़ मुस्कान भित्रबाट सुस्तरी निस्कने आवाज नसुनेको । ‘नानी आई’ भनिदिने मुस्कान नदेखेको ।
अर्ध कदको आकृति ।
आकृतिमा बुबा ‘मङ्गल कुमार नेपाल’ । त्यहाँ न मुस्कान थियो । न त त्यो होचो टेबल , न त त्यो अम्लाले समातेका कलम न कुनै किताब ।
एउटी छोरी आफ्नै अगाडि उभिइरहेका बुबालाई कुनै आभाष थिएन । न त थिए त्यहाँ ‘दर्शन’भन्दा पाउने कुनै आशीर्वादको आवाज । थिए त केवल बुबाको हाँसो र मुस्कान युक्त केही तस्वीरहरू । अहिले नै केही बोल्न खोजेजस्तै ।
जिन्दगीसँग प्रसन्न मानवको प्रफुल्ल हाँसो जस्तै ।
जिन्दगीमा कसैसँग पराश्रित नभएको एक अजेय मानवजस्तै ।
जिन्दगीको यथार्थलाई सन्तोषसँग ग्रहण गर्नुपर्छ भन्ने पूर्ण पाठजस्तै ।
हरेक उतार चढावमा पनि नथाकेको यात्रु जस्तै ।
एकैछिन नजिक गएँ । फेरि पनि बुबालाई स्नेहले स्पर्श गर्न मन लाग्यो । बुबा ‘म वसु’ भन्न मन लाग्यो । फेरि टक्क रोकिएँ ।
हेरिरहेँ । कता के-के नमिलेको जस्तो ।
जसको विशेषता नै मुस्कान थियो । यहाँ त्यही हराए जस्तो ।
अझ नजिक गएँ । क्यामरा क्लिक – क्लिक ।
अहँ ! नाक धेरै अग्लो भो । बुबाको नाक एकदम राम्रो ठिक्कको थियो, यो मिलेन । उहाँ जिन्दगी यो आकृति जस्तो कहिल्यै उदाश हुनुहुन्थेन । यो गाला पनि मिलेन । ओठ मुनिको चिउँडो पनि अलिक यसरी मिलाउनुपर्ला । म बेपरवाह भन्दै गएँ । हुन सक्छ मेरो आलोचनात्मक टिप्पणीले मूर्तिकारलाई अलि-अलि मन पनि दुख्यो होला । मनमनै माफी पनि मागेँ ।
बनाउनेलाई कति परिश्रम पर्यो होला । मैले नमिलेको क़ुरा भनिदिन कति सजिलो है, जस्तो पनि लागेर आयो ।
मूर्तिकारहरुले पटक्कै नराम्रो मानेको पाइनँ । बरू यसरी सल्लाह दिँदा हामीलाई मानिसको स्वभाव मूर्तिमा चित्रण गरेर बनाउन कति सजिलो हुन्छ भनेर खुसी जनाउनुभयो ।
पूरै हिसाबकिताबको एङ्गलमा चल्दोरहेछ मूर्तिकारको कला विज्ञान। कहिलेकाहीँ परिकल्पना पनि । यो मूर्तिमा मूर्तिकारको गणित र कवि एवं साहित्यकारको जीवन जगत पनि समेट्न पाए झनै राम्रो हुन्थ्यो भन्ने भावना पलाइरह्यो ममा ।
दुईदिनपछि फेरि घण्टी बज्यो फोनको- हामीले परिमार्जित गरेका छौं ।
नजिकै गएँ । क्लिक- क्लिक तस्वीरमा बुबा । धेरै मिलेको रहेछ आज ।
हेरिरहेँ । मैले भनें अब बुबा ‘आउनु’भो ‘ । मूर्तिकार लक्ष्मणजीको मुहारमा प्रशन्नताको रेखा देखिए।
मैले भनेँ अब मेरै बुबा हो । आकृतिमा बुबा आउनु’भो । मुस्कान दिँदा बुबाका गालाका मसल कति मिलेर दुरुस्तै उस्तैग़री ख़ुम्चेका । आँखाले पनि मलाई नै हेरेर मुस्काए जस्तो ।
लौ मेरो एउटा तस्वीर खिच्नुस त बुबासँग, मैले भनेँ ।
बुबालाई स्नेहले उहाँको गलामा हातले अँगालो हाल्न मन लाग्यो । मूर्तिकार राजनजीले बुबालाई अँगालो मारेजस्तै गर्नुस् न भनेँ ।
बुबा साँच्चै मसँगै हुनुहुन्छ जस्तै अनुभूति भयो । जब बुबाको काँधमा हात राखेँ ।
अझै हेरिरहेँ, आँखा हटाउनै मन लागेन । मूर्तिकारले भन्नु’भो यो भोलि हामी डिमोलिस गर्नेछौं । यसमा डाइ बनाउने छौं । किनकिन मलाई कस्तोकस्तो भो । यो भोलि ढल्ने छ, अब मैले हेर्न पाउने छैन जस्तो लागेर आयो ।
जति हेर्यो उति गह भरियो । खै के भयो भयो । मसँगै छु जस्तो भयो, छोडेर जानै मन नभए जस्तो । तर पनि सम्हालिएर मूर्तिकारलाई भनेँ ‘मेरोतर्फबाट म पूर्ण सन्तुष्ट छु।’ योभन्दा दुरुस्त त के गर्न सकिएला र ?
भावना, भावुकतासँगै कर्मक्षेत्रप्रति इमान्दार रहनु भन्ने बुबाकै शिक्षाले अभिप्रेरित भई अगाडि बढिरहेकी यी छोरी थुप्रै-थुप्रै कुरा गुन्दै घोरिइरही । थाहै नपाई आफ्नै अफिसको कोठामा रहेको एउटा डायरीमा लेख्न पुगी ‘आकृतिमा बुबा भेट्दा’ ।
अनि यो आकृति बनाउने प्लान सुरु गरेकी बुबाकी बुहारी अर्थात मेरी भाउजुलाई फोन गरेँ । मैले त ओके गरेर आएँ । हजुर गएर फाइनल गर्नुस् ।
तेस्रो पटक पनि बोलाइएपछि फेरि हेर्न गएँ । यी दिनहरूमा मलाई लागि रहे कि मेरो बुबा त्यहीँ कतै हुनुहुन्छ । थाहा छैन मलाई किन यस्तो भयो । तर कसैले बोलायो कि गइहालौं भइरह्यो, फेरि गएँ । अनुभूतिको तस्वीर उस्तै मेरो मनभित्र । कोटमा कलम सधैं रहन्थ्यो उहाँको । त्यसैले त्यो छुट्नु भएन, त्यो पनि राखुम ।
दौराको कठालो यसरी कहिल्यै झरेको हुन्थेन । आइरन लगाएजस्तै तनक्क तानेर पट्याएर राख्नुहुन्थ्यो । सधैं टक्क हुन्थे लुगा, उहाँका । मूर्तिकारले धर्सा कोर्नु’भो , दौराको गला मिलाउने, कलम राख्ने भनेर । कपालका रेसारेसा मिलाएका । शिरमा हर हमेसा रहने टोपी दुरुस्तै । हामी जस्तो कालो आँखा होइन, अलि–अलि नीलो टाइपको आँखाको नानी ।
मैले बुवालाई हेर्दा मलाई नै हेरिरहे जस्तो लागिरह्यो । जिन्दगीको हरेक घटना सम्झाई दिने । हरेक माया ब्युताई दिने । हरेक आवाज गुञ्जाई दिने । मुस्कानभित्रबाट निस्कने शब्दहरुको आभाष दिलाई दिने मेरो बुवाको यो आकृति । मूर्तिकारहरुको कड़ा मेहनतप्रति सदा कृतज्ञता अर्पण गरें ।
आज मेरो अगाडि बुबाको उपस्थिति भनौं या ‘बुबाको आकृतिको’ अगाडि मेरो उपस्थिति !
म सोध्न चाहन्थेँ आवाजविहीन मौनतामा– ‘बुबा हजुरलाई कस्तो छ ?’
मेरा कानहरु इच्छुक थिए उही जवाफ सुन्न– ‘नानी मलाई सबै ठीक छ, मलाई मेरो छोराछोरी, नाती–नातिना सबै आफ्नो खुट्टामा उभिएको, सक्षम भएको देख्दा सधै आनन्द लाग्छ ।’
मलाई जिन्दगी कहिल्यै भार लाग्दैन । सबैले माया र सम्मान गरेको देख्दा मन प्रसन्न हुन्छ’ यस्तै–यस्तै । त्यो मौनतामा उहाँका यिनै सकारात्मक आवाजहरु गुञ्जिरहे जस्तो ।
मन भरी , गह भरी , क्षितिज पारीको बुवा मैले फेरि भेटें जस्तो लागी रह्यो ! लागी रह्यो !!
प्रतिक्रिया 4