Comments Add Comment

युवा जनसंख्या बढी भएकाले पाकिस्तानमा कोरोना असर कम

५ भदौ, काठमाडौं । कमजोर स्वास्थ्य प्रणाली, अत्यधिक जनघनत्व र भिडभाडयुक्त बसोवास भएका गरीब परिवारलगायत कारणले पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण गहिरिने र भाइरसको कारण पाकिस्तान आक्रान्त हुन सक्ने आकलन गरिएको थियो ।

यद्यपि २३ करोड जनसंख्या रहेको पाकिस्तानमा अहिलेसम्म करिब ६ हजार मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यस्तोमा धेरै पश्चिमी मुलुकको तुलनामा पाकिस्तानको अवस्थामा राम्रो देखिएको छ ।

पाकिस्तानमा अहिले मानिसहरुको जनजीवन सामान्य बनिरहेको छ । लकडाउन खुकुलो बन्दै गएको छ भने रेष्टुरेन्ट र बजारहरु पुनः खुल्न थालेका छन् । पाकिस्तानले सार्वजनिक गरेको सरकारी तथ्यांक कत्तिको विश्वसनीय छ भन्ने छुट्टै कुरा हो तर यो तथ्यांकलाई हेर्ने हो भने पाकिस्तानलाई युवाको जनसंख्या धेरै हुनुको फाइदा मिलेको छ ।

पाकिस्तानमा अहिलेसम्म दुई लाख ९० हजार कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । पाकिस्तानमा कोरोना भाइरसको परीक्षण निकै कम भइरहेकोमा कुनै द्विविधा छैन । यद्यपि समग्र परीक्षण र पोजेटिभ आउनेको अनुपात पनि कम नै रहँदै आएको हो ।

पाकिस्तानको दुई ठूला सहर कराँची र लाहोरमा जुन महिनामा अन्त्येष्टि गरिएका मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको थियो । यद्यपि यी सबै मृत्यु कोरोना भाइरसकै कारण भएको हो भन्न सकिँदैन ।

डाक्टर राना अब्बाद असगरका अनुसार कोरोना भाइरसको कम असर पर्नुको कारण युवाको जनसंख्या धेरै हुनु हो । पाकिस्तानमा जनसंख्याको औसत उमेर २२ वर्ष मात्र छ ।

बेलायतमा औसत उमेर ४१ छ । विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेमा वृद्ध/वृद्धाको संख्या बढी छ । डाक्टर असगरका अनुसार पाकिस्तानमा ६५ वर्षभन्दा बढी उमेर भएका मानिसको संख्या केवल चार प्रतिशत छ । धेरैजसो विकसित मुलुकमा यो संख्या २० देखि २५ प्रतिशत हुने गरेको छ ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या प्रधानमन्त्री इमरान खानले स्मार्ट लकडाउनको घोषणा गरेसँगै घट्न थालेको हो ।

यद्यपि जानकारहरु पाकिस्तानमा अझै पनि कोरोना भाइरसको संक्रमण बढ्ने खतरा भने कायम रहेको बताउँछन् । लकडाउन सकिएसँगै मानिसहरु सहर छाडेर गाउँ फर्किन थालेका छन् । यस्तो अवस्थामा गाउँमा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरिएको छ ।

डाक्टर असगर पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसको जति डर थियो, त्यो हिसाबमा कोरोना भाइरस नियन्त्रणमा सफलता हासिल भएको बताउँछन् । उनी भन्छन् – तर, यसको अर्थ पाकिस्तान कोरोना भाइरसको खतराबाट बाहिर आयो भन्नेचाहिँ होइन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment