Comments Add Comment

अझैसम्मन्… !

अझैसम्मन् त
तय गरेकै छैन मैले
मूलबाटोको यात्रा

अझैसम्मन् चुँडाल्दै छु जञ्जिरहरू
टक्टक्याउँदै छु पक्षघातहरू
लाग्छ, सभ्यताको सूर्यले चुम्न बाँकी नै पो छ कि
यो ग्रहको हरियो तालु !

सम्पूर्ण वजन पृथ्वीलाई बोकाएर
पहाडजस्तै ‘सिङ्गो म’ उभिन बाँकी नै छ,

कागजका फोस्रा हिमालहरू कच्याक्कुचुक हुने गरी
पहिलो पाइला टेक्न बाँकी नै छ,

अझैसम्मन् पखाल्दै छु,
तिम्रा ढोंगी कुवामा
मेरा रगतका मैलाहरू
मिल्काउँदै छु झिकेर तिमीले फालेको
तासले बनेको खोपडी

अझैसम्मन् त
तय गरेकै छैन मैले
मूलबाटोको यात्रा

तिमी आफ्नै मनोग्रन्थीले थिचिएर
सडकमा नाङ्गै उभिएर जलाइरहँदा
मेरो टोपी, इस्टकोट, पटुका, कछाड…

तिमी आफ्नै सपनादेखि तर्सिएर
पुरिरहँदा मेरो गन्तव्य भ्रमको बालुवाले
म अक्षरको आसनमा बसेर
ज्यावलहरू घुमाउँदै हातमा
गरिरहेछु आराधना,
एउटा चेतनशील सभ्यताको
एउटा श्रमशील संस्कृतिको

अझैसम्मन् युगको आडम्बरी जुँगा उडाउने गरी
चलेकै छैन हुरी,
अझैसम्मन् समयको निरंकुश राजपाठ भत्काउने गरी
गएकै छैन भूइँचालो,

तिमी आफ्नै हातहरूले आफ्नै घाँटी थिचेर
छटपटाइरहँदा
तिमी आफ्नै खुट्टाहरूमा नेल ठोकेर
मुट्ठी बजारिरहँदा
म मस्तिष्कको ओदानबाट
इतिहासको कर्कश हुरीले थुपारेको धूलो पुछिरहेछु
म तिम्रा विषालु आदेश निल्दानिल्दै बञ्जर बनेको हृदयमा
दुई थुङ्गा फूल फुलाइरहेछु

अझैसम्मन् त
तय गरेकै छैन मैले
मूलबाटोको यात्रा

तर,
कोरिसकेको छु स्पष्ट नक्सा मस्तिष्कको पानामा
कि कहाँबाट तिम्रो नपुंसक ईश्वरलाई देब्रे पारेर
म मूलबाटोमा निस्कनुपर्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment