Comments Add Comment

लकडाउनमा कसरी सेवा दिइरहेका छन् विकास बैंकले ?

‘स्वीकृत भइसकेको कर्जा पनि लगानी भएन’

११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् ।

वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् । तर वाणिज्य बैंकहरुले जस्तै सेवा दिन भने सकेका छैनन् । विशेष गरेर काठमाडौं उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेर मोफसलमा सेवा दिइरहेका विकास बैंकहरु यतिबेला समस्यामा देखिएका छन् ।

पूरा समय शाखा खोलेर सेवा दिनमात्रै होइन, कतिपय ठाउँमा त पूर्णरुपमा नै बन्द गर्नु परेको विकास बैंक सन्चालकहरुले बताएका छन् । कोरोना संक्रमण फैलने त्रासले गर्दा बुटवल सहरमै पनि विकास बैंकहरुले काउन्टर खोलेर सेवा दिन पाएका छैनन् ।

यद्यपि, के–कसरी हुन्छ विकास बैंकहरुले ग्राहकलाई सहज तरिकाले सुविधा दिन हरदम प्रयास गरेका छन् । रुपन्देहीको बुटवल केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ चिनजानकै आधारमा पनि सेवा दिइरहेको बताउँछन् । उनका अनुसार कुनै ग्राहक अप्ठेरोमा परेको भन्दै आए शाखा खोलेर पनि सेवा दिने गरिएको छ ।

सीईओ श्रेष्ठका अनुसार रुपन्देहीमा नगद काउन्टर पनि बन्द भएका छन् । संक्रमणको खतरा बढेपछि स्थानीय प्रशासनले नगद काउन्टरसमेत बन्द गराएको हो । चेक क्लियरिङ लगायतका केही सुविधा भने दिइने उनले जानकारी दिए ।

सीईओ श्रेष्ठले नोटबाट पनि कोरोना सरेको हुनसक्ने आशंका गरिएको बताए । जसका कारण सर्वसाधारण पनि बाहिर निस्कन डराइरहेको उनले बताए । ‘हाम्रै बैंकका केहीलाई पनि कोरोना संक्रमण देखियो, अन्य बैंकका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ,’ डेभलपमेन्ट बैंकर्स संघका सचिवसमेत रहेका उनले भने, ‘बैंकका कर्मचारीलाई नै लागेपछि नोटबाट कोरोना संक्रमण सर्यो कि भन्ने त्रास भयो, त्यसैले सबै डराएको अवस्था छ ।’

लकडाउन खुलेपछि त कर्जाको माग राम्रै बढिरहेको थियो, तर अहिले त ठप्पै छ, स्वीकृत भइसकेको कर्जा पनि लगानी हुन पाएको छैन – प्रदीपकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेन्ट बैंक

कपिलवस्तुमा भने स्थानीय प्रशासनले दिनमा २ घण्टामात्रै काउन्टर खोल्न भनेको छ । सीईओ श्रेष्ठका अनुसार विहान ८ बजेदेखि १० बजेसम्म काउन्टर खोलेर बैंकले सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहहरुले फरक–फरक तरिकाले बन्द गराइरहेको उनले बताए । उनले सुरक्षाका मापदण्ड सबै पालना गरेर थोरै कर्मचारीबाट छोटो समयमा विकास बैंकहरुले सेवा दिइरहेको बताए ।

एटिएम मेसिन तथा मोबाइल बैंकिङबाट पनि कारोबार गर्न सकिने भएकाले सकेसम्म विद्युत्तीय माध्यमबाटै कारोबार गर्नुपर्ने उनको सुझाव छ ।

गण्डकी प्रदेशको पोखरा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य पनि अहिले सेवा प्रदान गर्न सहज नभएको बताउँछन् । पोखरामा अहिले दिनमा एउटामात्रै शाखा खोलेर सेवा दिइरहेको उनले सुनाए । बाग्लुङमा त बन्द नै भएको उनले जानकारी दिए ।

‘पोखरामा हाम्रा ७ वटा शाखा कार्यालयहरु छन्, हामीले एउटामात्रै शाखा खोलेर ११ बजेदेखि २ बजेसम्म सेवा दिइरहेका छौं,’ सीईओ आचार्यले भने, ‘यहाँ त बरु सहज नै छ, अन्य ठाउँमा भने सम्बन्धित स्थानीय तहहरुले निर्णय गरेअनुसार सञ्चालन गरेका छौं ।’

उनका अनुसार म्याग्दीको बेनी र दरवाङमा भने शाखाहरुले सेवा दिइरहेका छन् । बाग्लुङमा भने निषेधाज्ञा जारी भएकाले अहिले बन्द भएको छ । मुख्य कार्यालयबाटै चेक क्लियरिङको काम भइरहेको उनले सुनाए । कार्यालयसम्म पुग्न भने खासै समस्या नभएको उनले बताए । बैंककै परिचय पत्रमात्रै बोकेर हिँड्न पाइने भएकाले सहज भएको उनले बताए ।

सुनसरीको धरान केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले पनि अहिले सेवा दिन गाह्रो परिरहेको सुनाए । बन्दाबन्दीको अवस्था भएकाले शाखा खोलेर सेवा दिन सम्भव नभए पनि बैंकमा आएका ग्राहकलाई रित्तै नफर्काउने नीति लिएको उनको भनाइ छ ।

सीईओ वस्तीका अनुसार बैंकभित्र थोरै कर्मचारीहरु बसेका हुन्छन् । अत्यावश्यक परेर कोही सेवाग्राही आए सुरक्षाका मापदण्डहरु पालना गरेर सेवा दिने गरिएको उनले बताए । ‘अत्यावश्यक परेकाहरुलाई दिनै परो, कर्मचारीहरु पालो गरेर कार्यालय खटाएका छौं,’ उनले भने, ‘सम्पर्कमा आएकाहरुलाई दिने हो, पूरा समय शाखा कार्याहरु खुलेका छैनन् तर जेहोस् बैंक आइसकेपछि त्यत्तिकै फर्कनु परेको छैन ।’ अहिले चेक साट्ने र धेरै रेमिट्यान्सका कारोबारहरु भइरहेको उनले सुनाए ।

कर्जा लगानी ठप्प, स्वीकृत भएको कर्जा पनि गएन

देशभर चार महिना पूर्णलकडाउन भयो । लकडाउन खुलेपछि कर्जाको माग बढेको थियो । तर अहिले पुनः ठप्प भएको तिनाउ मिसनका सीईओ श्रेष्ठ बताउँछन् । कर्जाको माग नभए पनि थोरे थोरै निक्षेपहरु भने आइरहेको उनले बताए ।

तर दुःखको कुरा कर्जा स्वीकृत भइसकेकाले पनि पैसा लैजान भने पाएका छैनन् । ‘लकडाउन खुलेपछि त कर्जाको माग राम्रै बढिरहेको थियो, अब राम्रै हुन्छ भन्ने देखिएको थियो,’ उनले भने, ‘तर अहिले त ठप्पै छ, स्वीकृत भइसकेको कर्जा पनि लगानी हुन पाएको छैन ।’

अहिले ठप्प हुनेको कारण भने मालपोत कार्यालयहरु बन्द भएकाले हो । मालपोतबाट हुनु पर्ने काम नहुने भएकाले स्वीकृत भएको कर्जा लगानी पनि हुन नसकेको सीईओ श्रेष्ठले बताए ।

मितेरीका सीईओ वस्ती पनि अहिले कर्जा लगानी ठप्प भएको बताउँछन् ।

मालपोत लगायतका सरकारी निकायहरु बन्द भएका कारण नै कर्जा लगानी ठप्प भएको उनको तर्क छ । पछिल्लो समय निक्षेप बढ्ने नै देखिएको उनले बताए । सबैतिर बन्दाबन्दी भएकाले ऋण लिन चाहानेले पनि सरकारी प्रक्रिया पूरा गर्न नसक्ने अवस्था भएकाले यतिबेला कर्जाको माग नभएको उनले बताए ।

ग्रीनका सीईओको तर्क पनि उस्तै छ । तर सधैं लकडाउन समाधान होइन भन्दै उनले अब भने खुलाउनु पर्ने बताए । ‘दोस्रो समय नथपेको भए पनि हुने थियो, फेरि थपियो, अब नथपे हुने हो,’ उनले भने । कोरोनाबाट जोगिनका लागि भने सबैजना आफैं सचेत हुनु आवश्यक रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

आमा बन्दै अनुष्का

Advertisment