Comments Add Comment

एकैदिन १२२८ संक्रमित थपिए, १२ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । चितवन, रुपन्देही र सप्तरीका २/२ जना तथा भक्तपुर, सिन्धुपाल्चोक, नवलपरासी, प्युठान, कास्की र तनहुँमा एक/एक जनाको मृत्यु भएको हो ।

  • भरतपुर महानगरपालिका-११, चितवनकी ४० बर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । झाडापखाला, खोकी तथा छातीमा समस्या भएर ६ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।
  • राप्ती नगरपालिका -९, चितवनकी ६५ वर्षीया महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या भएपछि डायलासिस गराउँदै आएकी उनी खोकी र श्वासप्रश्वासको समस्या लिएर १४ भदौमा अस्पताल भर्ना भएकी थिइन् । बुधबार कोरोना संक्रमण पुष्टि भएकी उनको भोलिपल्ट मृत्यु भएको छ ।
  • सैनामैना नगरपालिका-११, रुपन्देहीकी ७७ बर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी उनलाई त्यही दिन साँझ संक्रमण पुष्टि भएको थियो ।
  • बुधबार दिउँसो मृत्यु भएका बुटवल उपमहानगरपालिका-७, रुपन्देहीकी ४५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । चार दिनदेखि ज्वरो आउनुका साथै स्वास प्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा पुगेकी उनको साँझ मृत्यु भएको थियो ।
  • राजविराज नगरपालिका-७, सप्तरीका ५० बर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । बिहीबार दिउँसो अस्पताल पुगेको उनको केहीबेरमै मृत्यु भएको थियो । मधुमेहका विरामी समेत रहेका उनलाई चार दिनदेख ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समेत समस्या देखिएको थियो ।
  • राजविराज-७ कै, सप्तरीका ५५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । मधुमेह र उच्च रत्तचापका विरामी उनी छिन्नमस्ता अस्पतालको रिफरमा ७ भदौमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए ।
  • मध्यपुर थिमी नगरपालिका-६, भक्तपुरका ४० बर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । मृगौलासम्बन्धी समस्या भई ब्लूक्रस अस्पतालमा उपचाररत उनलाई कोरोना संक्रमण भएको भदौ ५ गते पुष्टि भएको थियो । त्यसपछि पाटन लगिएको हो ।
  • ईन्द्रावती गाउँपालिका-६ सिन्धुपाल्चोकका ७७ बर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । दम तथा क्षयरोगका बिरामी उनलाई भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको १२ गते पुष्टि भएको थियो ।
  • गैंडाकोट नगरपालिका-२ नवलपुका ३७ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ९ भदौमा अस्पताल भर्ना भएका उनलाई १० गते संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
  • स्वर्गद्वारी नगरपालिका-७, प्युठानका ५८ बर्षीय पुरुषको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा मृत्यु भएको छ । १० भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
  • पोखरा महानगरपालिका-६, कास्कीका ३७ बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रामक तथा सरुवा रोग अस्पतालबाट बिहीबार रिफर भएर आएका उनको आईसीयूमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको हो ।
  • म्यादे गाउँपालिका-१, तनहुँकी ९२ बर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । दम, मुटु तथा मिर्गौलासम्बन्धी समस्याले उपचाररत उनलाई कोरोना संक्रमण पनि भएको थियो ।

एकैदिन १२२८ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र ४४५ र सर्लाहीमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । उनीहरुमध्ये २५७ जनाको मृत्यु भएको छ । २४ हजार २०७ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment