Comments Add Comment

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

२१ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७० हजार नाघेको छ । अहिलेसम्म भारतमा कारोना भाइरसको कारण ७० हजार ६२६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ६५ जनाको मृत्यु भएको हो ।

भारतमा निरन्तर कोरोना भाइरसका संक्रमित संख्या बढ्दो क्रममा रहेको छ । अहिले भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक भेटिने मुलुक बन्न पुगेको छ । पछिल्लो केही दिनयता भारतले निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा नयाँ रेकर्ड बनाउँदै आएको छ । यद्यपि भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा कम छ । भारतले पनि यसैलाई आफ्नो सफलता बताउँदै आएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले विश्वभरमा भारत संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छ । तर, भारत ब्राजिलभन्दा धेरै पछि छैन ।

अहिले भारतमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म आठ लाख ६० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ हजार २७६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमित संख्याको आधारमा दोस्रो सबैभन्दा बढी प्रभावित आन्ध्र प्रदेशमा अहिलेसम्म चार लाख ८७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने चार हजार ३४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि चार लाख ५५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा सात हजार ७४८ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३१ लाख ८० हजारभन्दा धेरै संक्रमित निको भएर फर्किसकेका छन् भने आठ लाख ६२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment