Comments Add Comment

काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारत तयार

२५ भदौ, काठमाडौं । भारत काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयार भएको छ । एक पत्र लेखेर भारतले रेलमार्गको डीपीआरको काम अघि बढाउने इच्छा देखाएको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालसँग औपचारिक समझदारी हुनुअगावै भारतीय टोली डीपीआर तयार गर्ने काम अघि बढाउन नेपाल आउन तयार भएको छ ।

तर, अहिले नेपालमा सीमा नाकाबाट आवात जावत बन्द छ । त्यसैकारण विभागले कुन काम कसरी अघि बढाउने भनेर औपचारिक ढाचाँमा भारतलाई विवरण पठाउन आग्रह गरेको छ ।

भारतले औपचारिक ढाचाँमा आउनेहरुको नामवलीसहित विभिन्न विवरण पठाएपछि उनीहरुलाई नेपाल आएर काम गर्न अनुमति दिने तयारी छ ।

रेलमार्गको डीपीआरको लागि भारतले आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् ।

नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले औपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी भएको छैन । महानिर्देशक मिश्रका अनुसार डीपीआरको काम थालिएपछि दुई पक्षबीच औपचारिक समझदारीको पहल हुनेछ ।

भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क गर्दा पनि द्विपक्षीय समझदारी पर्खेको थिएन । नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

तर, त्यो भन्दा अगाडि नै फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्ट्यान्टहरु नेपाल आएका थिए ।

सरकारले त्यसअघि नै वीरगञ्ज-काठमाडौं रेलमार्गका लागि अध्ययन प्रक्रिया अघि बढाइसकेको थियो । तर, भारतले नै आफ्नै खर्चमा अध्ययन गर्ने भएपछि विभागले अन्तिम चरणमा पुर्‍याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गर्‍यो । आयोजनाको डीपीआरका लागि पनि समझदारीभन्दा पहिल्यै अध्ययनको काम सुरु भएको छ ।

यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड -केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ ।

यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको मिश्रले बताए । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको छ । तर, सरकारले यो रेलमार्गलाई स्टान्डर्ड गेजमा बनाइदिन आग्रह गर्दै आएको छ ।

यो प्रतिवेदन प्रारम्भिक मात्रै भएकाले रेलमार्गको अनुमानित लागतको विषय रिपोर्टमा समावेश छैन । प्रस्तावित रेलमार्गमा करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने भएको छ । ४० किलोमिटर सुरुङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना-ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ ।

यो प्रतिवेदन तयार हुनुअघि भारतीय कम्पनीले नेपाललाई दुई रुटको विकल्प दिएको थियो । १९० किलोमिटर र १ सय ३६ किलोमिटरको रेलमार्गमध्ये एकलाई छनोट गर्न भारतीय पक्षले भनेको थियो ।

१३५ किलोमिटरमा छोट्याएर निर्माण गर्दा भविष्यमा केही समस्या आउन सक्ने जानकारी भारतीय प्राविधिकले दिएका थिए । १९० किलोमिटर र १४० किलोमिटरमा बनेको रेलमार्गमा गुड्ने रेल लगभग बराबर समयमा काठमाडौं ओहोर-दोहोर गर्न सक्ने भारतीय पक्षको भनाइ थियो । नेपालले भने रेलमार्गको लम्बाइ कम हुनुपर्ने र प्राविधिक हिसाबले लाभदायी पनि हुनुपर्ने बताएको छ ।

नेपालले भविष्यमा मर्मत सम्भार र सञ्चालन गर्न सबैभन्दा सजिलो हुने विकल्पमा नै रेलमार्गको नक्सांकन गर्न भारतलाई भनेको थियो । त्यसकै आधारमा १३६ किलोमिटरमै रेलमार्ग बनाउने गरी भारतीय कम्पनीले प्रतिवेदन दिएको हो ।

रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ ।

यो क्षेत्रको भूगर्भ चीनसँगको प्रस्तावित रुटको भन्दा सजिलो छ । तर, चुरे क्षेत्रजस्तो संवेदनशील भूभाग पनि यही खण्डमा पर्ने भएकाले त्यसले जटिलता ल्याउन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment