Comments Add Comment

साउदीमा बलात्कृत महिलाको कथा सुनाउँदै भक्कानिए सहसचिव

‘घरेलु कामदार विदेश पठाउनै बन्द गरौं’

२८ भदौ, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफल राखिएको थियो ।

छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले आफू ४ वर्ष साउदी अरब बस्दाको दर्दनाक घटना सुनाएर सबैलाई भावुक बनाए ।

गृह, परराष्ट्र, श्रम, र महिला मन्त्रालयका प्रतिनिधि र सरोकारवाला सहभागी छलफलमा सहसचिव घिमिरे घरेलु कामदार नेपाली महिलामाथि भएको ज्यादतीबारे सुनाउने क्रममा पटक पटक भावविह्वल भए ।

घिमिरेका अनुसार एक नेपाली महिलालाई सामूहिक बलात्कार गरेर तीन तलाबाट फ्याँकिएको थियो । उनको उपचार र न्यायका लागि पहल गर्दा दूतावासका अधिकृतले नेपाली एजेण्टबाटै धम्की खप्नुपरेको थियो ।

बैठकमा घिमिरेले के भने ?

‘नेपाल सरकारले विभिन्न ९ वटा देशसँग श्रम सम्झौता गरेको छ । तीमध्ये जोर्डनसँग भएको सम्झौतामा घरेलु कामदार पठाउने कुरा स्पष्ट उल्लेख छ । इजरायलमा भने केयर गिभरको रुपमा अहिले काम गरिराखेकाहरुलाई सम्झौता गर्नुभन्दा अगाडि नै पठाइएको थियो ।

अहिले संस्थागत रुपमा ५०० जना केयर गिभर लाने भनेर सम्झौताको एउटा प्रोटोकल छलफलको क्रममा छ । हामीले दुई चरणमा वार्ता पनि गरेका छौं ।

खाडी मुलुककै उदाहरण दिउँ, साउदी अरब भनेको त्यो रिजनको आर्थिक सामाजिक र धार्मिक, खासगरी मुस्लिमहरुको शक्ति केन्द्रको रुपमा रहेको छ । त्यहाँ परिस्थिति असाध्यै जटिल छ, खासगरी नेपाली महिला कामदारहरुको लागि ।

साउदी अरबमा नखोल्ने (घरेलु कामदार पठाउन) र अरु देशमा खोल्ने भयो भने उनीहरु (साउदी सरकार) ले हामीलाई कुटनीतिक दवाव दिन्छन् । यो विषय जटिल छ । कुटनीतिमा अप्ठ्यारो हुने विषयहरु हुन् यी ।

साउदी अरबले २०१५/०१६ तिर हामीसँग घरेलु कामदारको सम्झौता गरौं भनेको थियो । हामीले घरेलु कामदारको र अन्य पनि गरौं भन्यौं । तर उसले घरेलु कामदारको मात्रै गरौं भन्यो ।

त्यहाँको समाज हाम्रोजस्तो खुल्ला छैन । महिलाहरुले बुर्का लगाएर हिँड्नुपर्ने हुन्छ । घरभन्दा अग्लो कम्पाउड वाल लगाउँछन्, एउटा घरको पुरुषले अर्को घरको महिलालाई नदेखोस् भनेर ।

न्युनतम तलब कति हुने ? कामदार समस्यामा पर्‍यो भने उपचार के ? दूतावासको पहुँच कतिसम्म हुने ? दूतावासका प्रतिनिधिलाई घरेलु कामदारले सोझै फोन गर्न सक्ने कि नसक्ने ? जस्ता विषयमा हाम्रो चासो थियो । तर, उनीहरुले त्यति रुचि देखाएनन् । त्यसपछि सम्झौता अगाडि बढाउन सकिएन ।

म आफैं साउदी अरबमा काम गरेर आएको । त्यो सम्झौताको कुरा हुँदा म भर्खरै नेपाल फर्किएको थिएँ । उनीहरुले हामीजस्तै अन्य देशसँग महिला कामदारको विषयमा प्रस्ताव गरे । बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान लगायतका मुलुकले औपचारिक सम्झौता गर्न रुचाएनन् । कारण– बन्द समाज र त्यहाँ घरेलु कामदारलाई गरिने व्यवहार ।

एउटा उदाहरण दिन्छु– म साउदी अरबमै काम गर्ने सिलसिलामा एक जना नवलपरासीको महिला हुनुहुन्थ्यो ।

म बस्ने क्वार्टरको साइडमा अरबी राष्ट्र सिरियाको एक व्यक्ति बस्थ्यो । ऊ एउटा कम्पनीको म्यानेजर थियो । मेरो र उसको कम्पाउन्ड वल्लो पल्लो थियो । बिहान ४ बजे उसले मेरो गेटको घन्टी बजायो ।

उसले मलाई भन्यो कि एकजना महिला दुई घन्टादेखि सडकमा रुँदै लडिरहेकी छन् । मलाई लाग्छ कि तिम्रो देशको नागरिक हुनुपर्छ । एकपटक उनलाई हेर्नुहोला ।

म तुरुन्तै घरबाट निस्किएँ । ती महिला उसले भनेकोजस्तै अवस्थामा थिइन् । लुगा च्यातिएको, विछिप्त अवस्था… (यसो भन्दा सहसचिव घिमिरेको गला अवरुद्ध भयो)

नेपाली भाषा पनि बोल्न नसक्ने, देहाती महिला थिइन् । उनलाई सामूहिक बलत्कार गरेर तीन तला माथिबाट खसालिदिएका रहेछन् । सबै लुगा च्यातिएका । (घिमिरे फेरि भावविह्वल बने ।)

मैले आफ्नो स्टाफलाई बोलाएँ । मेरो श्रीमतीको लुगा लगाउन दिएँ । उनको हातखुट्टा भाँचिएको थियो । लगभग चार महिनासम्म स्वास्थ्योउपचार गरियो ।

कहाँ धाइएन त्यसबेला । त्यहाँको मानव अधिकार आयोग, पुलिस, प्रशासन सबैतिर पुगियो । तर, कतै पनि केही सुनुवाइ भएन ।

उनको भनाइ अनुसार नेपालबाट परिवारभित्रैको व्यक्तिले साउदी पठाएको रहेछ । तिमीलाई पठाउने मान्छे को हो, नेपालमा कारवाही हुन्छ भन्दा उनी नाम नभन्ने । पछि ठीक भएपछि टिकट काटेर घर पठाउने भइयो । घर जाने बेलामा त्यही व्यक्तिलाई फोन गरेर म आउँदै छु भनिन् ।

भनेपछि परिवारभित्रकै मान्छेबाट हाम्रा मान्छे बेचिएका छन् । एउटा प्रतिनिधि घटना हो यो । यस्ता धेरै घटना छन् । धेरै महिलाहरु उद्धार गरेर पठाइयो साउदीबाट । ५/६ हजार महिला पठाइसकेपछि हामीले रेकर्ड राखेका थियौं, कोमार्फत गएको हो भनेर ।

हामीले ४३ जना त्यस्ता एजेण्टहरुको सुची बनाएर काठमाडांैमा पठायौं । ती एजेण्टले यता दूतावासमा हाम्रो अफिसर, जसले चिठीमा सही गरेर पठाउनुभएको थियो, उहाँलाई फोन गरेर धम्क्याउन थाले । अफिसर नै डराएर हिँड्नुपर्ने अवस्था भयो ।
यो खालको अवस्था छ । यस्तो परिस्थितिमा हामीलाई साउदीमा घरेलु कामदार पठाउने सम्झौता गर्न सजिलो थिएन ।

हामीले नमानेपछि उनीहरुले अफ्रिकी देशहरुसँग सम्झौता गरे । तर अफ्रिकी महिला कामदारसँग साउदी अरबका बच्चाहरु मान्दै मानेनन् । एकदम रुने, कराउने, चिच्याउने गर्न थाले । मनोवैज्ञानिक असर नै परेको जस्तो भयो । गोरो छाला भएका महिलाहरुले स्याहारेका बच्चाहरु कालो अनुहारका महिला देख्दा नै डराउँथे । त्यसपछि उनीहरुले अफ्रिकाबाट ल्याउन बन्द गरे ।

अफ्रिका बन्द गरेपछि उत्तरपूर्व र दक्षिणपूर्व एसियाका देशहरुसँग उनीहरुले पहल गरे । भियतनामसँग सम्झौता गरेर भियतनामी कामदार ल्याउन थालियो । सुरुमा ३/४ सय कामदार लगिएको थियो ।

घरमा कामदार राख्ने भनेको सम्भ्रान्त वर्गले हो । उनीहरुले अलि हेपाहा व्यवहार गर्छन् कामदारलाई । तर, भियतनामी महिलाहरु कम्फु, कराँते सिकेका । उनीहरुले मालिकलाई नै घुमाएर हिर्काइदिने । त्यसपछि यो पनि हुँदैन भनेर बन्द गरियो ।

अनि हामीजस्ता देशहरुबाट कामदार ल्याउन उनीहरुलाई चर्को दबाब भयो । त्यो बेलामा म आफ्नो जिम्मेवारी सकेर फर्किएको थिएँ । लौ गरिदिन पर्यो भनेर आए ।

तत्कालिन श्रम मन्त्रीज्यूलाई यहाँ साउदी राजदूतले भेट्नुभयो । त्यहाँ काम गरेर आएको हुनाले मलाई चासो भयो । मिटिङमा सहभागी भएँ । साउदी राजदूतले यतिसम्म भने, ‘तिमीहरुले घरेलु कामदार दिन्छौ भनेर पो हामीले एम्बेसी खोलेको ।’
यतिसम्म दवाव दिएको अवस्था छ ।

घरेलु कामदार बन्द गर्न माग

साउदी अरबमा घरेलु कामदार नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेको अनुभूति सुनिसकेपछि वैठक सहभागी पनि भावुक बने ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले भनिन्, ‘सामूहिक बलात्कार भयो, तीन तलामाथिबाट खसाइयो, देख्नेलाई कस्तो भयो होला ? अहिले भन्दा र सुन्दा नै भक्कानिने खालको छ ।’

उनले सकभर घरेलु कामदार पठाउनै बन्द गर्ने र पठाउनै पर्दा देश अनुसारको नीति बनाउनुपर्ने सुझाव दिइन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले थपे, ‘घरेलु कामदारका रुपमा जाने महिलाहरुको सुरक्षा कसरी गर्ने भनेर गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

उनले अगाडि भने, ‘महिलाको सुरक्षा कसरी होला, त्यो संयन्त्र सोचौं । सम्झौता गरेर पठाउने र हप्तामा कम्तीमा एक पटक दूतावासमा सम्पर्क गर्न पाउने व्यवस्था गर्न सक्छौं ।’

श्रम मन्त्रालयका सचिव तोयम रायले भने, ‘परराष्ट्रका सहसचिवले सुनाएका जस्ता त्यस्ता घटना अरु धेरै हुन सक्छन् ।’

उद्योग समिति सदस्य प्रकाश रसाइलीले साउदी अरेबियाजस्ता देशमा महिला कामदार पठाउनै बन्द गर्नुपर्ने बताए । उनले भने, ‘साउदीले नेपालमा दूतावास चाहिँदैन भने छोडेर जान्छ । हामी पनि हाम्रा राजदूत फर्काउँला ।’

नेकपा सांसद मुकुन्द न्यौपानेले अब घरेलु कामदारका रुपमा विदेश पठाउन सबै देशमा रोक लगाउनुपर्ने बताए ।‘अब घरेलु कामदार पठाउने होइन । सबैतिर बन्द नै गर्नुपर्छ । तीन तहको सरकार छ यहाँ नै रोजगारीको वातावरण बनाउनुपर्छ । उत्पादनमा देशलाई लैजानुपर्छ’ न्यौपानेले भने ।

सांसद बिन्दा पाण्डेले भने नेपालको पोजिसन वा शर्त के हो भन्ने बनाउने र शर्त मान्ने देशमा मात्र घरेलु कामदार पठाउन सकिने उल्लेख गरिन् । ‘हाम्रो पोजिसन बनाऔं । मान्नेले कामदार लैजान्छ । हुन्छ भन्नेलाई पठाऔं हुन्न भन्नेलाई नपठाउँ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment