
मानव समुदायमा आआफ्नै तरिकाले आफ्ना पूर्वजहरूलाई सम्झिने चलन छ । हाम्रो देशको धेरै समुदायमा सोह्रश्राद्ध अन्तर्गतको सोह्र तिथिमा र मृत्यु भएको दिनको तिथिमा श्राद्ध गरी पितृहरूलाई सम्झिने चलन छ । तर, हामी प्रायः सबैलाई आ-आफ्नो संस्कार तथा पृष्ठभूमिअनुसार कुनै न कुनै रूपमा बा’ले कहिल्यै पनि बिर्सन नसक्ने धेरै कुराहरू सिकाएर छोडेका हुन्छन् ।
अर्थात् बा’को मृत्युको तिथि बाहेकका दिनमा पनि बाको सम्झना आइरहन्छ । साना कुराहरू जो हामीले बुबाबा सिक्यौं, त्यसले जीवनमा धेरै पाठ सिकायो ।
मैले स्मरण गर्ने बेलामा मेरा उमेर समूहका साथीको हजुरबाको स्वरूपको हुनुहुन्थ्यो बा । हाम्रै घरमा म र मेरै भतिजको (मेरो जेठो दाइको छोरा) उमेरमा जम्मा एक वर्षको अन्तर छ र मभन्दा अगाडि नै हाम्रो भान्जा जन्मिसक्नुभएको थियो । त्यसैले म राम्रोसँग जान्ने हुँदाखेरि हाम्रा ठूल्दाइका तीनवटा सन्तान र अरू भान्जाभान्जीहरू पनि जन्मिसकेकाले हाम्रा बा र म सँगसँगैका मेरा भतिजा, भतिजी तथा भान्जा भान्जीहरूको जिबा भैसक्नुभएको थियो ।
सायद हाम्रा बा’को प्रशासन नीतिअनुसार म नियम पालना गर्नु नपर्ने उमेर पार गरिसकेको भएरहोला, मलाई आठ र दश वर्षमा दौडिरहेका हाम्रा छोरा र छोरीहरूले मसँग हाँस्ने, खेल्ने, चल्ने, लड्ने जस्ता क्रियाकलाप मैले भने बासँग गरेको सम्झना छैन । मलाई स्कुल पढ्न जान सुरु गरेदेखिका धेरै कुराको सम्झना छ । तर, मलाई बाको काखमा बसेर लडीबुडी गरेको सम्झना छैन । सायद मबाहेक मभन्दा कम उमेरका नातिनातिनीहरू भएर मैले त्यो अवसर नपाएको पनि हुन सक्छ ।
मलाई बा’ले थप्पड लगाएर कारबाही गरेको याद छैन । तर, मैले सानैदेखि बासँग निर्धक्क भएर आँखा जुधाई कुराकानी गरेको पनि सम्झना छैन । मैले बासँग आँखा जुधाई राम्रोसँग दोहोरो छलफल गर्ने अवसर नपाउँदै आजभन्दा झन्डै २० वर्ष अगाडि नै बाले यो भौतिक संसार छोडेर जानुभयो ।
परिवारमा यस्तो सम्बन्ध म र बाको बीचमा मात्र होइन, हाम्रो परिवारका सबै हुर्किसकेका सदस्यहरूमा बाका अगाडि र बाको अनुपस्थितिमा गरिने क्रियाकलापमा बिल्कुल फरक हुन्थ्यो । कतै बाहिरबाट घर प्रवेश गर्दा घरमा बाको उपस्थिति अथवा अनुपस्थिति सहजै अड्कल गर्न सकिन्थ्यो । हाम्रा बाको प्रशासनमा छोरा-बुहारी, छोरी, ज्वाइँ, नाति-नातिनीहरू सबैलाई समान व्यवहार थियो । लामो समयमा माइतीघर आउने दिदीहरू, ससुराल आउनुभएका भिनाजुहरू र मामाघर आएका भान्जाभान्जीहरू पनि बाअगाडि अत्यन्तै संयम भएर प्रस्तुत हुनुहुन्थ्यो । हाम्रा बाको कुन कुराले हाम्रो परिवारमा त्यति कडा अनुशासन पालना गर्ने वातावरण बनायो भन्ने कुरा मैले अहिले पनि केही अड्कल गर्न सकेको छैन ।
लामो समयपछि माइत आउनुभएका दिदीहरू पनि सामान्य सन्चो बिसन्चोको आदानप्रदान बाहेक बासँग गफिएर बस्नु हुँदैन थियो । दुई-तीन वर्षपछि विदेशतिरबाट फर्केर ससुराली आउनुभएका भिनाजुहरूको पनि बासँगको भलाकुसारीको विषय सन्चो-बिसन्चोको आदान-प्रदानमै सीमित हुन्थ्यो । फुरूङ्ग हुँदै मामाघर आएका भान्जाभान्जीहरू पनि आफ्नो उमेरअनुसार मात्र रमाइलो र स्वतन्त्रताको महसुस गर्न पाउँथे । हजुरबाको अलिअलि मेसो पाउने भान्जाभान्जीहरूले अहिले पनि भनिरहनुहुन्छ- ‘हजुरबाले माया गर्नुहुन्थ्यो, तर देख्नासाथ डर लाग्थ्यो ।’
यी कुरा पढ्दा कति मान्छेलाई हाम्रा बा रिसाहा, असंवेदनशीलतथा रूखो स्वभावको लाग्नु स्वाभाविक हो । तर, त्यो सामान्यीकरण बिल्कुल गलत हुन्छ । परिवारमा अनुशासन कायम राख्न बाले कहिल्यै पनि ठूलालाई चर्को स्वरले थर्काउन तथा हामी साना उमेरकालाई पिट्नुपरेन जुन कुरा ठ्याक्कै बाको नियमभन्दा उल्टो रुपमा म आफैं निरन्तर अभ्यास गरिरहेको छु । चर्को आवाज ननिकालिकन, कुनै रिसाहा स्वरूप नदेखाइकन र सामान्य तर निरन्तरको उपदेश अथवा प्रशिक्षणकै माध्यमबाट -जुन कुराले अहिले हामीलाई छुँदै छुँदैन) हामीलाई बाले अनुशासनमा बाँध्नुभएको थियो ।
मलाई बाको काखमा बसेको सम्झना नभए पनि सानो उमेरका र भर्खर तोते बोली सुरु गरेका केटाकेटी बाको काखमा लडिबुडी खेलेको नियमितजस्तै देख्न पाइन्थ्यो । खासमा बाले केटाकेटिलाई असाध्यै माया गर्नुहुन्थ्यो । सानासाना केटाकेटी जो भएपनि जिस्किन तथा रमाइलो गर्न शुरु गरिहाल्नुहुन्थ्यो । साना नातिनातीनी तथा कोहि पाहुना बच्चाहरू भएको बेलामा उनीहरू सरहकै भएर खेल्नुहुन्थ्यो । त्यही अनुसारको भाषा र शब्द चयन गरेर बोल्नुहुन्थ्यो । आजभोलि मात्र बाको सबै आनीबानि केलाएर हेर्दा मैले सामान्यीकरण गरेको छु कि विषेश गरी के कुरा ठीक र के कुरा गलत भनी पहिचान गर्नसक्ने उमेर पुगेकालाई बाले फरक तरिकाले ब्यवहार गर्नुहुन्थ्यो ।
साना उमेरका केटाकेटी लगायत जनावर र प्रकृतिलाई पनि बराबर माया गर्नुहुन्थ्यो । घरपालुवा जनावर तथा घरवरिपरि आउने चराचुरुङ्गीलाई पनि माया गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । जनावरहरूप्रति गरिने हिंसा तथा काटमारका कुरा पूरै निषेधित थिए । बाको जनावरप्रतिको आफ्नो व्यवहार र हामीलाई सिकाउने कुरालाई आधार मान्ने हो भने बा बौद्धमार्गीझैं हुनुहुन्थ्यो ।
कुनै बोटबिरुवाको काटछाँट गर्नुपरे पनि त्यसको उमेर, साइज तथा वरिपरिको वातावरणअनुसार गर्नुपर्ने हुन्थ्यो । प्राकृतिक विपत्तिको कारण हामी मान्छे नै हो भनेर बाले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सिकाइरहनुहुन्थ्यो । हामीले प्रकृतिलाई हाम्रो नियन्त्रणमा राख्न सकिँदैन, तर सोचेर काम गरियो भने धेरै दुर्घटनाहरूबाट बच्न सकिन्छ भनेर उदाहरण पनि दिइराख्नुहुन्थ्यो ।
पहिरोको सम्भावना कम गर्न केके गर्ने, रूखलाई कसरी प्रयोग गर्ने र प्रकृतिलाई कसरी स्वस्थ राख्ने भनेर पर्यावरणीय ज्ञान भएजस्तै गरी नियमित रूपमा सचेत गराउनुहुन्थ्यो । पुरानो संस्कृतिलाई निरन्तरता दिन हामीले ठाउँठाउँमा ठूलो रूखमुनि अनि पानीको मुहान भएको ठाउँमा पूजा गरेर खिर पकाएर खाने चलन पनि थियो । अझै पनि त्यसलाई देखावटी भएपनि निरन्तरता दिइराखेका छौं । मैले अहिले यसलाई बाले प्रकृतिको स्याहार र पूजा गर्न सिकाएको भनेर बुझेको छु ।
हाम्रा बाको छिमेकी नीति, कृषि उत्पादन र स्वउत्पादित वस्तुहरूको प्रयोगमा जोड र अत्यावश्यक बाहेकका वस्तुको निर्यातमा घरमा लाग्ने प्रतिबन्ध साँच्चै नै त्यतिखेर र अहिले पनि हाम्रो घरमा मात्र सीमित नराखी राष्ट्रियस्तरमा नै अनुकरण र लागु गर्नुपर्ने जस्ता थिए, ती सबै कुरा यो सानो लेखमा समावेश गर्न सम्भव छैन ।
पेशाले पण्डित भएकाले र हिँडेर चार-पाँच घण्टा लाग्ने ठाउँमा निरन्तर पुजापाठ गर्न जाने हुनाले बा धेरै समय घरबाहिर नै रहनुहुन्थ्यो । लगभग सधैंजसो पहेँलो अथवा सेतो कपडा लगाउने हुनाले टाढैबाट बाको आगमनको अड्कल गर्न सकिन्थ्यो । घरमा हुँदाको बिहान र साँझको अधिकांश समय आध्यात्मिक ज्ञानका कुराहरू सिकाउनुहुन्थ्यो ।
आत्मा अमर रहन्छ, हाम्रो मन सधैं शुद्ध राख्नुपर्छ, असल कर्म गर्नुपर्छ र भौतिक शरीर क्षणिकमात्र हो भनेर नियमित प्रवचन दिइरहनुहुन्थ्यो । मैले अलिअलि बुझेको भागवत गीताअनुसार बाले नियन्त्रित बन्धनसहितको गृहस्थी जीवन बिताउनुभएको थियो ।
बाको लवाइ, खुवाइ र सामान्य बोलोचाली हेर्दा एउटा सन्यासीजस्तो पनि देखिन्थ्यो । तर, म बाको आठौं सन्तान हुँ । बाको समकालीन र बाले बारम्बार नाम लिइरहने एउटा आदर्श व्यक्ति उहाँकै साथी अहिले बैदिक धर्ममा आस्था राख्ने प्राय सबै नेपालीले स्मरण गर्ने ब्रहृमलीन स्वामी परमानन्द सरस्वति महाराज हुनुहुन्थ्यो ।
सन्यासीहरूसँगको संगतले प्रभावित भएर भित्री मनले भन्नुभएको हो वा सामान्य प्रसंगमा भन्नुभएको हो आफ्ना सन्तानको कस्तो कुरा सुन्न पाए सबैभन्दा खुसीको महसुस गर्नुहुन्छ भनेर एकजना पाहुनाले सोधेको प्रश्नको उत्तरमा ‘मेरो कुनै सन्तान जोगी (सन्यासी) भएको सुन्न पाए’ भनेर जवाफ दिएको मैले बिर्सेको छैन । तर, बाको त्यो चाहनाको उल्टो हामी सकेसम्म भोगीको दौडमा तँछाडमछाड गरेर लम्किरहेका छौं ।
हाम्रा बाको बाल्यकालतिर हाम्रो गाउँ निकै नै विकट र लगभग जंगलजस्तै हुनुपर्छ । औपचारिक शिक्षाको अवसर पक्कै पाउनुभएन । कस्को सहयोगमा र कसरि बाले अक्षर पहिचान गरेर सामान्य लेखपढ गर्नदेखि लिएर संस्कृत राम्रैसँग पढ्नसक्ने हुनुभयो भन्ने कुरा पनि मैले सोधखोज गरेको छैन ।
मैले एकदिन चितवनमा जिल्लास्तरको एकजना राजनैतिक व्यक्तित्वसंग परिचय गर्ने क्रममा उहाँले ‘मेरो पहिलो शिक्षक तिम्रा बा हुन्’ भनेको सुन्दा असाध्यै खुशी लागेको थियो । जे होस् आफुले अक्षर चिनेपछि अरूलाई पनि चिनाउने प्रयास पनि गर्नुभएको रहेछ।
राम्रा मान्छेले पनि केहि न केही गल्ति अवश्य गरेकै हुन्छन । अहिले हामीले महान भनेर मानिने दिवंगतहरूका पनि सानाठूला कमजोरिहरू भेटिएकै हुन्छन् । हाम्रो बा त झन् परिवारभन्दा बाहिर खासै भूमिका नदेखिएको सामान्य मान्छे । मैले अहिले महसुस गर्दा बाले जिन्दगीमा सबैभन्दा ठूलो गल्ति हामी आठ सन्तानमध्ये चार दिदीलाई अक्षर चिनाउन पहल नगर्नु हो ।
हामी आठमध्ये दोश्रो सन्तान हाम्रो जेठो दाइ, म जान्ने हुने बेलामा शिक्षक भैसक्नुभएको थियो । त्यसबाहेक हामी तीनभाइ पनि कागजी प्रमाणअनुसार शिक्षित र ज्ञानको हिसाबले सबै साक्षर छौं । तर हाम्रा कुनैपनि दिदीहरूले कखरासमेत चिन्न पाउनुभएन र त्यसको असर दिदीहरूले अहिले भोगिरहनुभएको छ । विकटता र जमानालाई दोष दिएर छोरीहरूलाई स्कुल पठाउने कुरा गाह्रो भए पनि आफु साक्षर भएकोले घरमै पनि केहि सिकाउन पक्कै असम्भव हुने थिएन ।
योबाहेक छुवाछूत तथा जातका कुरामा पनि बाको सोच अलि साँघुरो थियो । सायद पारिवारिक पृष्ठभूमि तथा बाहिरी संसारको माहोलबाट टाढा हुनुले आफुलाई परिवर्तन गर्न आवश्यक परेन होला । छुवाछुत तथा जातका कुराले बालाई प्रभाव पारेको कुरा हामीले सहजै अड्कल गर्न सकिन्थ्यो । तर बोलिचालिलाई आधार मान्ने हो भने बाको भाषामा विभेदकारी शब्दहरू प्रयोग हुँदैनथे ।
बाले सानाठूला हरेक मान्छेलाई आदरार्थी शब्द प्रयोग गरेर बोलाउनुहुन्थ्यो । कडा अनुशासन कायम राखे पनि त्यो पुरै अधिकार सहितको थियो । सबै दिदीहरूको बिहे भइसकेको थियो । हामी सबैलाई आफ्नो योग्यता तथा पेशाअनुसार सल्लाह तथा सुझाब दिनु बाको घरमा हुँदाको नियमित रूटिन थियो। जस्तै म विद्यार्थी थिएँ र मैले किताब समाएको देखे बालाई पुग्थ्यो । त्यसबाहेक ठूला दाइलाई सामाजिक सम्बन्धका कुरामा जोड दिनुहुन्थ्यो । महिलो दाइलाई उहाँकै ज्योतिष तथा कर्मकाण्ड पेशामा तल्लीन भएर लाग्न उत्प्रेरणा दिनुहुन्थ्यो । साँहिलो दाइ अलिक चलाख र बाहिरबाहिर डुलिरहने भएकोले कुलतमा नफस्न भनेर सिकाउनुहुन्थ्यो । भाउजूहरूलाइ खेति बालि तथा घाँसको बारे र आमालाई घरमा आउने फरकफरक पाहुनाहरूलाई कसरी व्यवहार गर्ने भनेर नियमित सम्झाइरहनुहुन्थ्यो ।
कतिपय कुराहरूमा आफ्नो प्रयोगमा कटौती गरेर भएपनि बाहिरको मान्छेलाई खुशी पार्ने हाम्रा बाको नीति थियो । मलाई त्यतिखेर नढाटेर भन्दा बा घरमा भएको भन्दा नभएको ठिक लाग्थ्यो । बा नहुँदा स्वतन्त्र भएको महसुस हुन्थ्यो। बा घरमा नहुँदाको साँझ रंगमञ्चजस्तै हुन्थ्यो । कुनैकुनै साँझको बाको आकस्मिक आगमनले लगुञ्जिरहेको घरमा एक्कासि सन्नाटा छाउँथ्यो । घर बाहिरको हाम्रा बाको सहयोगी र मिजासु स्वभावमा घुलमिल भएका छिमेकीहरूले हाम्रो घरभित्रको वातावरणको बारे अड्कल गर्ने कुनै सम्भावना थिएन ।।
वास्तवमा हामीलाई बोल्न नदिने र हाम्रो कुरा नसुन्ने होइन, हामी आफैं बासँग अन्तरक्रिया गर्न नसक्नु हाम्रो कमजोरी थियो । हामीलाई गाउँको विकटताअनुसार आधारभूत कुराहरूको सुविधा थियो र अभावमा बाँच्न परेको थिएन ।
अहिले म हाम्रो परिवार, समाज र देशको वातावरण हेरेर बालाई सम्झिन्छु । हरेक गाउँ, टोल, समाज र केन्द्रीय तहसम्म नेतृत्व गरिरहेका जिम्मेवार व्यक्तिमा, हाम्रा आधारभूत आवश्यकता पुरा गर्नको लागि कसैलाई कुनै विभेद नगरी एउटा अनुशासनको परिधिमा राखेर आ-आफ्नो कार्यक्षेत्रमा व्यस्त रहन उत्प्रेरित र बाध्य पार्न सक्ने सोचाइ र क्षमता हुने हो भने सद्भाव र समृद्धि हाम्रो साथमा हुन्छन् ।
प्रतिक्रिया 4