Comments Add Comment

दशैंको मुखमा चिनियाँ तगारो, नाका बन्द हुँदा सरकार मूकदर्शक !

चिनियाँ नाकामा ७० करोडको स्याउ कुहियो, मक्किन थाले कपडा

६ असोज, काठमाडौं । व्यवसायी अमर बानियाँ र कुमार पौडेलल गायतका २५ जनाको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ मगाए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेका ती कन्टेनरहरु चीनबाट काठमाडौं आउन रसुवागढी नाकातर्फ हिँडे । तर, चिनियाँ नयाँ वर्षका कारण माघ १५ गतेदेखि भन्सार बन्द हुँदा कन्टेनरहरु बाटोमै रोकिए ।

नयाँ वर्ष सकिएला र सामान नेपाल चलान होला भन्दाभन्दै बाटोमा हिउँ पर्‍यो । त्यहीबेला चीनमा कोरोना भाइरस देखियो । विस्तारै नेपालमा पनि लकडाउन र नाकाबन्दी सुरु भयो ।

व्यवसायीहरुले ७० करोड मूल्य बारबरको स्याउ नेपाल भित्र्याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपर्‍यो ।

चीनबाट सामान ल्याउँदा घाटा व्यहोर्नुपर्ने अवस्थामा पुगेका ब्यवसायीका प्रतिनिधि पात्र मात्रै हुन् अमर बानियाँ र कुमार पौडेलहरु । अहिले चीनबाट आयात हुने मालवस्तुमा निर्भर रहेका अधिकांश ब्यापारीलाई चीनको व्यवहारले धुरुक्क बनाएको छ ।

व्यपारिकरुपमा बन्द भएका नेपाल जोड्ने चीनतर्फका दुई नाका ९ महिना बित्दा पनि पूर्णरुपमा सहज बनेका छैनन् । लामो समयदेखि व्यापारिक नाका बन्द हुँदा व्यवसायीको करोडौं रुपैयाँको लगानीका मालवस्तु बाटोमा कुहिने र सड्ने अवस्था आएको छ । लत्ताकपडा र सजावटका सामाग्रीका लागि मुख्य चाडपर्वमा चिनियाँ बजारकै भर पर्ने नेपाली बजार दशैंको मुखमा चिनियाँ नाकामा देखिएको समस्याकै कारण प्रभावित बन्न पुगेको छ ।

चीनको स्थलमार्गबाट हुने आयात अहिलेसम्म ठप्प छ । यसले चीनमा निर्भर नेपाली बजारका कैयन मालवस्तुको आपूर्ति श्रृंखला भत्किएको छ भने ब्यापारीदेखि उपभोक्तासम्म पीडित बन्ने अवस्था छ । बजारमा मागअनुसार मालसामान आपूर्ति नभएपछि मूल्यवृद्धि त भएकै छ, कतिपय समानको अभाव पनि देखिन थालेको छ । साथै चिनियाँ सामान आउन नपाउँदा भारतीय आयात फस्टाएको छ ।

‘किनेको सामान ९ महिनासम्म बाटोमै छ । धेरै त सड्न थालिसके,’ हिमालय सीमापार व्यापार सं‌घका अध्यक्ष बच्चु पौडेलले भन्छन् । पुरानै सामान ल्याउन नसक्दा दशैंका लागि चीनबाट नयाँ सामान मगाउने आँट व्यवसायीमा आएको छैन ।

उपभोग्य चाड मानिने दशैंको मुखमा चीनतर्फको आपूर्ति व्यवस्था खल्बलिँदा कोभिडका कारण सुस्ताएको अर्थतन्त्र उकासिने सम्भावनामा पनि असर पुगेको व्यवसायीहरु बताउँछन् । आर्थिक कारोबार सुस्ताएका बेला उपभोगमा समेत असर पर्ने गरी नाकामा ब्यवधान खडा हुदा पनि समस्या समाधानमा सारेकारवाला जिम्मेवार बनेका छैनन् ।

चीनबाट समान ल्याएर ब्यापार गर्ने कुमार पौडेल ठूलो परिमाणमा स्याउ बाटोमै कुहिएर फ्याँक्नुपर्ने अवस्था आउनुमा कस–कसलाई दोष दिने भन्ने अन्योलमा छन् । १३० गाडी स्याउ कुहिँदाको वास्तविक पीडा उनी शब्दमा बयान गर्न नसकिने बताउँछन् ।

केरुङको बाटो भएर ल्याउँदा १० दिनमै नेपाल आईपुग्ने स्याउ यसपटक ६ महिनासम्म स्याउ ल्याउन नसकिएको पौडेलले बताउँछन् । ‘सरकारदेखि सबै नियकालाई गुहार्‍यौं, कतैबाट केही पहल भएन, सबै स्याउ उतै कुहियो,’ पौडेल भन्छन्, ‘स्याउ बाटोमा बिग्रियो, हामीले कतैबाट राहत पाएनौं, व्यवसायीहरु ऋणमा डुबेका छन् ।’

नाका खोल्न र सामान ल्याउनका लागि सकेजति प्रयास गरे पनि सम्भव नभएको पौडेलको गुनासो छ । स्याउसँगै चीनबाट ल्याइएको लसुन र प्याज पनि कुहिएर मिल्काउनुपर्दा एकैपटक धेरै व्यवसायीहरु थला परेको हिमालय सीमापार ब्यापार संघले जनाएको छ । यता भारतीय प्याजको अभाव भएको भन्दै प्याजको मूल्य आकाशिएको छ, उता चिनियाँ नाकामा प्याज कुहिएको अवस्था छ ।

बाटैमा रोकिए २ हजार कन्टेनर सामान

समस्या स्याउ र प्याज ल्याउनेको मात्रै छैन, चैत–वैशाखको गर्मीका लागि भनेर व्यवसायीले ल्याएको एक अर्ब हाराहारीको लत्ताकपडा पनि बाटोमै छ । लामो समय बाटोमै अलपत्र कपडा पनि बिग्रिएर र फेसन–आउट भएर मिल्काउनुपर्ने अवस्थामा आउन लागेको हिमालय सीमापार वाणिज्य संघको भनाइ छ ।

नेपालका लागि समान बोकेर आएका २ हजार कन्टेनर अहिले सीमापारी नै रोकिएको संघका अध्यक्ष बच्चु पौडेलले अनलाइनखबरलाई बताए । ‘किनेको सामान ९ महिनासम्म बाटोमै छ । धेरै त सड्न थालिसके,’ पौडेलले भन्छन् । पुरानै सामान ल्याउन नसक्दा दशैंका लागि चीनबाट नयाँ सामान मगाउने आँट व्यवसायीमा आएको छैन ।

बाटोमा भएको सामानका लागि व्यवसायीले करोडौं रुपैयाँ लगानी गरेका छन् । एकातर्फ ती सामान मिल्काउनुपर्ने अवस्था आउने जोखिम छ भने दशैं मनाउन यसपालि पुरानै सामानको भर पर्नुपर्ने अवस्था पनि छ ।

चीनबाट मुख्यरुपमा लत्ता कपडा भित्रिने गरेका छन् । चिनियाँ नाकाबाट कपडा, जुत्ता धेरै आयात हुन्छ भने थोरबहुत इलेक्ट्रोनिक्स सामानहरु समेत आयात हुने गरेको छ । दशैंका बेलामा कपडा तथा जुत्ता धेरै खपत हुने भएकाले अहिले साना–ठूला व्यवसायीहरु मार्कामा परेका छन् ।

यस्ता सामानहरु भारतबाट पनि ठूलो मात्रामा आयात हुन्छन् । सस्तो हुने भएकाले पनि नेपाली उपभोक्ताको रोजाइमा चिनियाँ सामग्री पर्ने गरेको छ । तर, यो वर्षको दशैंमा सस्तो मूल्यमा नयाँ फेसनका आइटमहरु बजारमा पाउन मुस्किल पर्ने व्यवसायी बताउँछन् । अहिले चीनबाट आउने सामानमा निर्भर महाबौद्ध भोटाहिटी लगायतका बजारमा पुग्ने उपभोक्ता तथा ब्यापारीहरु पुरानै मौज्दात सामान किनेर फर्किन बाध्य छन् ।

नेपाल–चीन नाका अवरुद्ध

पछिल्लो ९ महिनामा नेपाल–चीन ब्यापारिक नाकामा लगातार अवरोध छ । कहिले चीनका कारण त कहिले नेपालका कारण नाका सहज भएको छैन । प्राकृतिक विपदले पनि चीनतर्फका नाकामा धेरै असर गरिरहेको छ । चीनतर्फका मुख्य रसवागढी र तातोपानी नाका पटक–पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ ।

भारी हिमपातका कारण गत पुसबाटै चीनतर्फका नाकामा समस्या थिए । चिनियाँ नयाँ वर्ष मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नो तर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले आफ्नो नाका बन्द गर्ने निर्णय लम्ब्यायो ।

चीन हुँदै यूरोप र विश्वभर कोरोना फैलिएपछि नेपालले पनि चैत ९ गते नेपाल–चीन नाका बन्द गर्ने निर्णय गर्‍यो । तर, बाटोमा कन्टेनर अड्किएको भन्दै व्यवसायीले नाका खोल्न आग्रह गरेपछि सरकारले चैत १२ गते मालवस्तु आयातका लागि मात्रै आंशिक रुपमा नाका खोल्ने निर्णय गर्‍यो ।

नेपालले नाका खोल्ने निर्णय गरे पनि चीनले यसलाई सहज रुपमा लिएन । अत्यावश्यक वस्तुको ढुवानी र रोकिएको कन्टेनर नेपाल पठाउन चीन सहमत भए पनि झन्झटिलो सर्तका कारण तत्काल नाका सहज हुन सकेन ।

चैत २७ गते स्वास्थ्य सामाग्रीसहित तातोपानी नाका सञ्चालनमा आयो । तर, व्यवसायिक रुपमा यो नाका सञ्चालनमा आउन समय लाग्यो । प्रक्रिया र चीनको विभिन्न शर्तका कारण रसुवागढी नाका खुल्न सकेन । बल्ल असार २२ गतेबाट दैनिक १२० टन सामान नेपाल ल्याउने गरी कोटा तोकेर यो नाका एकतर्र्फीरुपमा सञ्चालनमा आयो ।

दुई हजार कन्टेनर अलपत्र परेको नाकामा दैनिक चारवटा कन्टेनर मात्रै भन्सार जाँच पास हुने भयो । यसले गर्दा ब्यवसायीले यो नाकाबाट आउने गरी थप सामान मगाउन सकेनन् । यो नाकामार्फत आयात हुने गरी नयाँ व्यवसायिक कारोबार अहिले ठप्प छ ।

पहिरोको जोखिमलाई कारण देखाउँदै नेपालले असार २४ पछि तातोपानी नाका एक महिना बन्द गर्न चीनलाई आग्रह गर्‍यो । नेपालले सडक मार्गका पहिरो पन्छाएर नाका खोल्न आग्रह गरे पनि हिमताल फ्टने जोखिम देखाएर भदौ तेस्रो सातादेखि तातोपानी नाका पुनः बन्द छ ।

त्यसमाथि अर्को संकट आइलाग्यो । केरुङबाट दैनिक ४ वटा कन्टेनर नेपाल पास हुँदै गर्दा नेपालबाट सामान ढुवानीका लागि खटिएका श्रमिकमा कोरोना देखियो । त्यसैलाई बाहना बनाएर भदौ १७ गतेदेखि चिनियाँ पक्षले रसुवागढी नाका बन्द गरिदियो । दशैंअघि चीनको दुबै ब्यापारिक नाका बन्द गरिदिएपछि त्यसको असर नेपालको बजारसम्म देखिन थालेको छ ।

स्थानीय प्रशासन के भन्छ ?

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार कोरोना देखिएका नेपाली श्रमिक संक्रमणमुक्त भइसकेका छन् । तैपनि ल्हासा प्रशासनको अनुमति नआएको भन्दै नाका खोल्न नसकिने जानकारी चिनियाँ पक्षले गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अनलाइनखबरलाई बताए ।

‘भदौ २४ गते नाका सञ्चालन गर्ने विषयमा छलफल भयो, छलफल सकारात्मक भए पनि नाका भने खोल्न चीन इच्छुक देखिएन,’ प्रजिअ पन्तले भने ।

यसवीचमा केही औषधिलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री नाकाबाट भित्रिए पनि व्यवसायिक मालवस्तु छुटाउनका लागि जिल्ला प्रशासनलाई कसैले आग्रह पनि नगरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

नाका खुलाउने विषय दुई देशका सरकारबीचको मामिला भएको हुनाले माथिल्लो तहबाटै छलफल र पहल हुने सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

चिनियाँ पक्षलाई नेपालबाट चीनतर्फ कोरोना फैलिने डर अत्यधिक देखिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । कोभिड–१९को सतर्कता अपनाउने पक्षमा नेपालमा भएको हेलचेक्र्याइँमा चीन असन्तुष्ट रहेको भन्सार अधिकारीहरुको विश्लेषण छ ।

नेपालको कोभिड–१९ सतर्कतालाई आफूहरुले राम्ररी नियालिरहको र नाका खुलाउन चीनलाई विश्वासमा लिने काम नेपालकै भएको चिनियाँ अधिकारीले बताउने गरेको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

चीन पुगेका श्रमिकमा कोरोना देखिएपछि उनीहरु त्रसित भएको भन्सार प्रमुख खड्काको भनाइ छ । नाकामा पीसीआर गर्ने प्रविधि राख्न चिनीयाँ अधिकारीले आग्रह गरेको भन्दै उनले यस प्ष्मा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताए ।

यता तातोपानी नाका भने पहिरोका कारण नेपालकै आग्रहमा एक महिना बन्द भएको भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् । ‘असार २४ को बाढीपछि नेपालतर्फ सबै बाटो बगाएकाले हामीले सामान नपठाउन आग्रह गर्‍यौँ, तर बाटो खुलिसकेपछि उनीहरुले सामान पठाएनन्,’ खड्काले भने ।

हिमताल फुट्ने जोखिमले गर्दा बाटो पनि खोल्न नसकेको जवाफ चिनियाँ भन्सार अधिकारीहरु दिएका छन् ।

चीनको तगारो

नाकाको अवरोधका विषयमा चीनसँग कूटनीतिक पहल भए पनि नेपालको आग्रह कार्यान्वयन नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नाका खुलाउन हामीले धेरै पहल गरे पनि प्रगति हुन नसकेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए । ‘छलफल र कूटनीतिक प्रयास तीब्र बनाए पनि प्रगति छैन’ सचिव अर्यालले भने ।

नाका खुलाउन सरकारले सबैखाले बल लगाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक तथा अनौपाचरिकरुपमा कूटनीतिक पहल भइरहेको मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी सुरेश अधिकारीले अनलाइनखबरलाई बताए ।

‘नाका खुल्नुपर्छ, व्यापार सहज हुनुपर्छ भन्नेमा मन्त्रालय गम्भीर छ, अहिलेलाई सबैखाले कूटनीतिक पहल भएको छ’ उपसचिव अधिकारीले भने ।

सरकारको मुखमा पानी

ब्यापारीहरु सरकारले चीनसँग प्रभावकारी पहल गर्नु सट्टा मुखमा पानी हालेर बसेको आरोप लगाउँछन् । सरकारले पहल गरेको भने पनि त्यसको नतिजा नदेखिनुले सरकारले गर्ने पहल भुत्ते रहेको ठहर भइसकेको नेपाल उद्योग वाणिज्य संघका एक पूर्वअध्यक्ष बताउँछन् ।

‘ब्यापारीलाई समस्या पर्दा पहल भइरहेको छ भनेर पन्छिने सरकारी परम्परा छ । तर, स्थायी समाधान हुने गरी पहल नै हुँदैन,’ उनी भन्छन्, ‘अर्बौंको सामान नाकामा अड्किएको अवस्थामा पनि यति विधि बेवास्ता त नहुनपर्ने हो ।’

विज्ञहरु पनि चीनले नेपाललाई वैदेशिक ब्यापारमा प्राथमिकतामा नराख्दा नाकामा देखिएको समस्या कहिल्यै पनि छिट्टै समाधान हुन नसकेको आरोप लगाउँछन् । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा नेपाल र चीनबीच राम्रो सम्बन्ध भएको भनी बाहिर चर्चा गरिए पनि नाकामा देखिएको समस्याले व्यबहारमा पुष्टि नगर्ने बताउँछन् ।

लामो समयदेखि नाकामा अर्बौंको सामान फस्दा पनि सरकार जानकार र जिम्मेवार नभएको हो वा भएर पनि पहल पुगेको छैन भन्नेमा प्रश्न उब्जिएको ओझाको भनाइ छ । ‘बाहिर भनिएजस्तो राम्रो सम्बन्ध हुँदा त नेपालले आर्थिक विकासमा चीनबाट सहयोग पाउनुपर्ने हो, तर नाकामा प्रत्यक्ष देखिएको समस्यामा समेत सरकार बेखबर देखिनु अर्थपूर्ण छ,’ ओझाले अनलाइनखबरसँग भने ।

चीन र भारतसँग नेपालको आयात निर्भर भएकाले यसरी देखिने समस्या समाधान गर्न तत्काल पहल गर्न सक्ने संस्थागत संयन्त्र जरुरी भएको उनको भनाइ छ । चीनमा नेपालका तीनवटा स्थायी संयन्त्र हुँदा पनि ब्यपारमा देखिएका समस्या हल नहुनुलाई आवश्यक पहल नभएको भनेर बुझ्नुपर्ने पूर्वसचिव ओझा बताउँछन् ।

‘बेइजिङमा दूतावास छ, ल्हासा, ग्वान्झाओ र हङकङमा महावाणिज्यदूतहरु छन्,’ ओझा प्रश्न गर्छन्, ‘तर पनि समस्या टसमस छैन, यो कसरी भयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment