Comments Add Comment

विराटनगरमा महिलाको मृत्यु, अस्पतालले नहेरेको आफन्तको गुनासो

१६ असोज, विराटनगर । जण्डिसको उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना भएकी ३० वर्षीय महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका– ११ कि प्रतिमा राईको शुक्रबार बिहान मृत्यु भएको हो । आफन्त सुकदेव राईका अनुसार प्रतिमालाई बिहीबार दिउँसो २ बजे आकस्मिक कक्षमा भर्ना गरिएको थियो । १६ घण्टासम्म आकस्मिक कक्षबाट अन्त सारिएन ।

‘दिउँसो २ बजे भर्ना गरेपनि चिकित्सकले आएर हेरेनन्’ उनले भने ‘विरामी रातभर इमर्जेन्सीमा छटपाइटरहिन् ।’

स्वास्थ्य समस्या देखिएपछि आफन्तले प्रतिमालाई तुम्लिङटारमा लगेर स्वास्थ्य जाँच गराएका थिए । जण्डिसहित अन्य समस्या पनि रहेको भन्दै स्वास्थ्यकर्मीले विराटनगर रेफर गरे । विराटनगरमा पनि उपचार नपाएको उनको गुनासो छ । ‘विरामीलाई यहाँ ल्याउदा अवस्था सामान्य थियो । उपचार नहुँदा अवस्था बिग्रदै गयो’ उनले भने ‘हामीले उपचार गर्न भन्यौं, तर चिकित्सक नै आएनन् ।’

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले विरामीको उपचारमा लापरवाही नगरेको बताए ।

बिरामीको रगत, मृगौलामा खराबी देखिएको बताउँदै उनले फोक्सोमा पानी जमेको बताए । ‘हामीले स्वास्थ्य जाँच गरिरहेका थियौं’ उनले भने ‘उपचारमा लापरवाही गरेको छैन् ।’

गम्भीर अवस्था भएकाले इमर्जेन्सीमै राखेर उपचार गरेको बताए । कोरोना महामारीका कारण विराटनगरका अस्पतालहरुले विरामीलाई सहज रुपमा भर्ना लिन मान्दैनन् । भर्ना भएका विरामीको पनि पीसीआर जाँच अघि उपचार गर्न आनाकानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment