 
																			कतिपय परिघटनाले हठात् यस्तो तुफानी प्रश्न उठाइदिन्छन्, जसले दिमाग खराब गर्छ । फिल्म समीक्षक यज्ञशले दुई वर्षअघि यस्तै प्रश्न उठाइरहँदा सबै कुरा ठीकठाक थियो । ठीकठाकको अर्थ, कोरोना महाव्याधीको कुनै अवशेष थिएन । सामाजिक जीवनयापन प्रतिकूल थिएन । सिनेमा बन्ने, हो-हल्ला गर्ने, प्रदर्शन हुने एकनासे उपक्रम चलिरहेकै थियो ।
त्यही बखत उनले हावाको बहावभन्दा विपरीततर्फ ढुंगा फ्याके जसरी एउटा अपत्यारिलो प्रश्न उठाइदिए, ‘अब हत्केलाभरको स्मार्टफोनले सिनेमा घरको अस्तित्वलाई संकटमा पार्नेछ ?’
नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटिटी प्लेटर्फमको उदयले यो बहसलाई मूलधारमा ल्याइदिएको थियो । यद्यपि, कोरोनाकालअघि सदियौं पुरानो सिनेमा संस्कृतिको जग नै हल्लाउने गरी ओटिटी प्लेटर्फमले छलाङ मार्नेछ भन्नु झाँक्रीले ‘जोखाना’ हेरेजस्तो मात्र थियो ।
जबकि हिजोको दिनमा ‘अतिरञ्जित’ लाग्ने यही सवाल आज हाम्रो सामुन्ने ठिंग उभिन आइपुगेको छ, यथार्थ बनेर । र, हामी संशयसाथ उही प्रश्न दोहोर्याउँदैछौं, ‘के सिनेमा घर संग्रहालयमा रुपान्तरण हुनेछ ?’
कोरोना महाव्याधिको यो घडीमा सामूहिक मनोरञ्जनको मूलथलो सिनेमा घर रित्तो छ । सिनेमा निर्माण र प्रदर्शनको गतिमा अल्पविराम लागेको छ । एकातिर कोरोनाको सन्त्रास, अर्कोतिर ओटीटी (ओभर द टप) प्लेटर्फमको बढोत्तरी । यही दुई परिघटनाको गठजोडले अविश्वसनीय रुपमा सिनेमा हेर्ने संस्कार बदल्दैछ ।
‘सिनेमा हेर्ने तरिका र अनुभूतिमा परिवर्तन आएको छ,’ यज्ञशको बुझाइ छ, ‘संसारभरका कुनै पनि सिनेमा रिलिज भएलगत्तै आफ्नै कोठामा बसेर, आफ्नै फुर्सद मिलाएर, आफ्नै शैलीमा हेर्ने दिन आए ।’ हलसम्म धाउँदै, पपकर्न खाँदै, ताली बजाउँदै सिनेमा हेर्ने स्थिति छैन । हलहरुमा सन्नाटा छाएको छ, तालाचाबी लागेको छ । अर्कोतिर खोजीखोजी, रोजीरोजी, घरमै बसीबसी आफ्नो मर्जीअनुसार सिनेमा हेर्ने नयाँ व्यवस्थाको सूत्रपात भएको छ । यसले स्थान र समयको पावन्दीलाई मात्र भत्काइदिएको छैन, सिनेमा घरलाई नै ठाडो चुनौती दिइरहेको छ ।
एक अध्ययनले भन्छ, ‘सन् २००२ पछि सिनेमा घरको टिकट बिक्रीमा ३० प्रतिशतले गिरावट आएको छ ।’
ओटीटी प्लेटर्फम भर्सेज सिनेमा हल
अहिले जसरी सिनेमा हलहरुमा माकुराले जाल बुन्दैछ, ठीक उसैगरी डिजिटल प्लेटर्फमले दर्शकहरुलाई आफ्नो मोहनी जालमा पार्दैर्छ । नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी हटस्टारलगायत अनगिन्ती प्लेटर्फममा उपलब्ध बेव सिरिजदेखि फिचर फिल्मसम्मले ठूलो जमातलाई आफ्नो सत्तामा पारिसकेको छ ।
ताजुब मान्नुपर्छ, हिजो सिनेमा हलसम्म पुग्ने रौसे जमातभन्दा आज घरमै बसेर डिजिटल प्लेटर्फम चहार्नेहरुको घनत्व बढी छ । नतिजा, हलिउड/बलिउड जस्ता शक्तिशाली उद्योगलाई यसले उधिन्दैछ र बक्स अफिसको कमाइलाई उछिन्दैछ ।
सन् १९९७ मा स्थापना भएको नेटफि्लक्स आज हलिउडमाथि राज गर्दैछ । विश्वभर करोडौं ग्राहक बनाइसकेको नेटफ्लिक्सले उम्दा फिल्ममेकर्सलाई आफूमा समेटेको मात्र छैन, ओस्कारमा ‘सूरतको एक्का’ फ्याक्न थालिसक्यो ।
सुशान्त सिंह राजपुत अभिनित ‘दिल बेचारा’को डिजिटल स्टि्रमिङपछि प्राप्त नतिजा र वेब सिरिजहरुको लावा-लस्करले बलिउडलाई पनि नयाँ ढंगले सोच्न बाध्य पारिदिएको छ । अमिताभ बच्चन, अनिल कपुर हुँदै अजय देवगन, विद्या वालनदेखि आयुष्मान खुराना, जान्ह्वी कपूरसम्म तीनपुस्ते मूलधारका अनुहारहरु डिजिटल प्लेटर्फममा तानिएका छन् । यो परिवर्तनलाई आत्मसाथ गर्दै अमिताभ बच्चन यस्तो लेख्छन्, ‘फिल्म उद्योगमा प्रवेश १९६९ र अहिले २०२० मा ५१ वर्ष । यी वर्षहरुमा केही बदलाव र चुनौती देखें । अब एक अर्को चुनौती, डिजिटल रिलिज । मेरो फिल्म- गुलाबो सिताबो ।’
घतलाग्दो कुरा, ३१ जुलाईमा एकसाथ बलिउडका तीन फिचर फिल्म ओटिटी प्लेटर्फमबाट सार्वजनिक भए । अमेजन प्राइमबाट विद्या वालनको ‘शकुंतला देवी’, नेटफि्लक्सबाट नवाजुद्दीन सिद्दीकी र राधिका आप्टेको ‘रात अकेली है’, हटस्टारबाट कुणल खेमुको ‘लूटकेस’ ।
एकातिर हटस्टार, नेट्फिलक्स, अमेजन प्राइम लगायतले छाती खोलेर लगानी गर्नु र अर्कोतिर अपेक्षाकृत मनग्य दर्शक पाउनुले बलिउडमा समेत बहस छेडिदिएको छ, ‘के अब सिनेमा हलको दिन गएको हो ?’
यसैको विवेचना गर्दै बीबीसीको एक रिपोर्टमा लेखिएको छ, ‘बलिउडमाथि डिजिटल प्लेटर्फमले साम्राज्य स्थापित गरिसकेको छ । थिएटरका ठूला पर्दा, टेलिभिजनका मझौला पर्दापछि तेस्रो पर्दाको रुपमा यो मनोरञ्जनको संशाधन बन्दैछ ।’ आगामी दिनमा यसको हस्तक्षेप कति तीव्रताका साथ बढ्नेछ र त्यसको कारोबारको आँकडा कति पुग्नेछ भनेर अहिले नै लेखाजोखा गर्न थालिएको छ ।
सन् २०१९ मा भारतमा भएको एक सर्वे अनुसार ७० प्रतिशत व्यक्तिले मोबाइलमार्फत भिडियो सामग्री हेरिरहेका छन्, जसमध्ये ५५ प्रतिशत ओटीटी प्लेटर्फममा झुम्मिएका छन् ।
एकादेशमा नेपाली सिनेमा
मनोरञ्जन संयन्त्र र संस्कृतिको यो हठात बदलावले नेपाली सिनेमालाई पतन गर्नेछ वा उत्थान ? नेपाली सिनेमालाई इतिहासको टिठलाग्दो पानाहरुमा थन्को लगाउनेछ वा सम्भावनाको नयाँ क्षितिजमा उभ्याइदिनेछ ?
यतिबेला अनगिन्ती नेपाली युवा ओटीटी प्लेटर्फममै मग्न छन् । यसको अर्थ यो होइन कि, यी प्लेटर्फमले नेपाली सिनेमाको कल्याण गरिरहेका छन् । बरु, घरेलु दर्शकको सिनेमा चेत र गुणवत्ताप्रतिको अपेक्षालाई बढाइदिएको छ । किनभने उनीहरु संसारभरका दामी-दामी सिनेमाहरुमा आँखा विच्छ्याइरहेका छन् ।
विडम्बना, त्यो ‘संसार’मा नेपाली सिनेमाको कुनै सक्कल अनुहार भने छैन । बलिउड, दक्षिण भारतीय वा यस्तै-यस्तै मुकुण्डो पहिरिएर नेपाली सिनेमाले त्यहाँ आफ्नो झाँकी देखाउन एकरत्ती सम्भव छैन । अर्केतिर हामीकहाँ न त उनीहरुले खोजेजस्तो बजारको आयतन छ, न त सिनेमाको गुरुत्वबल । यसर्थ नेटफि्लक्सहरुले हामीलाई बाइपास गरेका छन्, पत्याएका छैनन् ।
घरेलु डिजिटल स्टि्रमिङ प्लेटर्फमले गतिलो धरातल निर्माण गरेको छैन, जहाँ हाम्रा सिनेमाहरु चलमलाउन सक्थे । बाँकी रह्यो, सिनेमा घरको कुरा ।
मल्टिप्लेक्स र सिंगल थिएटरसहित दुई सय हाराहारी हल, जसले नेपाली सिनेमाको भरथेग गरिरहेका छन् । ओभरसिज र डिजिटल बजारमाथि अझैपनि दिगो पकड बनिसकेको छैन । ठिक यतिबेला घरेलु दर्शक नेटफि्लक्स, अमेजन प्राइममा स्वाद फेर्दैछन् । हिन्दी, अंग्रेजी, कोरियन, इरानी सिनेमामा मग्न हुँदै गरेका आँखाहरुलाई नेपाली सिनेमाले मोहभंग गर्न सक्ला ?
थाहा छैन, हाम्रा फिल्मकर्मीहरुले आजको जटिलतालाई कति गम्भिरतापूर्वक विमर्श गरिरहेका छन् । तर, हामी एउटा दुर्घटनाको सम्मुखमा भने आइपुगेका छौं ।
समीक्षक एवं पटकथा लेखक सामिप्यराज तिमल्सिना भन्छन्, ‘हामीलाई ठूलो झड्का दिनेवाला छ । यसबाट या त हामी नयाँ चुनौती छिचोलेर अर्को चरणमा पुग्नेछौं, या वर्षौं पछि धकेलिनेछौं ।’ यी दुवै सम्भावना सराबरी रहेको उनको ठम्याइ छ ।
बदलिदो सिनेमा सभ्यताले हामीलाई त्यस्तो मूलढोकामा उभ्याइदिएको छ, जुन प्रस्थान विन्दुबाट नेपाली सिनेमाले विश्व परिक्रमा गर्न सक्छ । संसारभरका उत्सुक दर्शकलाई एकत्रित गर्न सक्छ ।
यज्ञश भन्छन्, ‘संसारका मान्छेहरुको इमोसन एउटै हो । रुने, हाँस्ने, खुसी हुने, डराउने, भयभित हुने, गदगद हुने भावनात्मक स्थिति उही हुन् । तर, इमोसनसँग खेल्ने कथा, शिल्प, रंग, ध्वनीमा भने भूगोल, संस्कृति अनुसार विविधता हुन्छ । हामीले आफ्नो मौलिकतालाई स्थापित गर्ने भनेको त्यही विविधताबाट हो ।’
अबका दिनमा नेपाली सिनेमाले आफूतर्फ नफर्की सुखै छैन, यज्ञश यसै भन्छन् । नुमाफुङ, कालोपोथी जस्ता सिनेमाहरु बन्ने हो भने नेपाली सिनेमाले विश्वमा आफ्नो मौलिक पहिचान बनाउन सक्ने उनको बुझाइ छ ।
यद्यपि ओटिटी प्लेटर्फमबाट नेपाली सिनेमाले विश्व-यात्रा गर्ने कुरा आजको घडीमा ‘हाइपोथेटिकल’ हुनसक्छ । आखिर हाम्रो धरातल त्यही दुई सय सिनेमा घर हुन्, जसलाई धीरतासाथ गतिशिल गराउनुको विकल्प छैन । त्यसो भए हाम्रा सिनेमा घरहरु फेरि तंग्रिनेछन् त ?
तंग्रिएलान् सिनेमा घर ?
सामिप्यराज तिमल्सिनाको विश्लेषण यस्तो छ, ‘कोरोना संकट तत्काल साम्य हुने छाँट छैन । त्यसैले नेपाली सिनेमालाई पूर्ववत् अवस्थामा र्फकन समय लाग्नेछ । हल चल्ने, दर्शक आउने स्थिति आउन अझै हामीले धैर्य गर्नुपर्नेछ ।’
हालैका दिनमा ‘मुलान’ जस्तो स्टारकास्ट रहेको बिग बजेट चलचित्र चीनका हलहरुमा सार्वजनिक गरियो, तर दर्शक आइदिएनन् । पृष्ठभूमीले के देखाउँछ भने, दर्शकहरु सिनेमा हलसम्म धाउने मुडमा छैनन् । यो स्थिति अझै लामो समय कायम रहनेछ र यसबीचमा ओटीटी प्लेटर्फमले आफ्नो फराकिलो स्वमित्व स्थापना गरिसक्नेछ । के यसले सिनेमा घरको अस्तित्वमाथि औंला ठड्याउनेछ ?
समीक्षक यज्ञशको विश्लेषणमा ‘अहिले नै ठोकुवा गर्न सकिदैन कि सिनेमा घरको युग सकियो । बरु, डिजिटल प्लेटर्फमको समानन्तर सिनेमा हल पनि गतिशिल हुनेछन् ।’ उनी थप्छन्, ‘समूहमा बसेर ठूलो पर्दामा हेर्दा जुन अनुभूति गर्न सकिन्छ, स्मार्टफोनसँग त्यो सामाथ्र्य छैन ।’
भारतका ओटीटी प्लेटर्फम जी-५ का सीईओ तरुण कटियाल बीबीसीसँग भन्छन्, ‘आइडियामा आधारित सिनेमा, वेब सिरिजका लागि ओटीटी एक राम्रो माध्यम हो । तर, ठूलो बजेटको सिनेमाका लागि थिएटर जरुरी छ ।’ ‘लार्जर देन लाइफ’को अनुभव जसरी सिनेमाघरबाट मिल्छ, त्यो स्मार्टफोनबाट नमिल्ने बताइन्छ ।
सिनेमा विश्लेषक मनोजबाबु पन्तको धारणा यहाँ मेल खान्छ । उनी लेख्छन्, ‘अँध्यारो कोठामा जीवनभन्दा भव्य दृश्यहरु र वातावरणीय ध्वनिको गहिराइमा बन्दी हुनुको जुन अनुभूति छ, त्यसलाई अन्य प्रदर्शनीको मञ्चहरुले कहिल्यै बिस्थापित गर्ने छैन ।’
अहिले ओटीटी प्लेटर्फममा आज जुन ठूलो जमात झुम्मिएको छ, जो हिजोको दिनमा सिनेमा हल पुग्ने दर्शकहरु मात्र नभई अरु थपिएका हुन् । यज्ञश भन्छन्, ‘ओटीटीले सिनेमा हलको दर्शक लगेका होइनन्, बरु नयाँ दर्शक थपेका हुन् ।’ यसबाट के स्पष्ट हुन्छ भने, ओटीटी प्लेटर्फमको उदयसँगै सिनेमाको खपत बढ्नेछ र समग्र उद्योग नै ‘बुस्ट’ गर्नेछ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4