Comments Add Comment

८९० अर्ब कर उठाउने आन्तरिक राजस्व र भन्सार विभागको अठोट

२० असोज, काठमाडौं । मुलुकभित्र व्यापार सहजीकरण, व्यवसायिक वातावरण निर्माण तथा राजस्व संकलनको जिम्मा पाएका दुई निकायले चालु आर्थिक वर्ष २०७७/७८ मा ८९० अर्ब रुपैयाँ राजस्व संकलनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

आन्तरिक राजस्व विभाग र भन्सार विभागले कोभिड १९ को विषम परिस्थितिका वावजुत तोकिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दुबै निकायले हालै वाषिर्क व्यवस्थापन गोष्ठी गरेका छन् ।

उक्त गोष्ठीमार्फत दुई निकायले करीव ९ अर्ब राजस्व उठाउने प्रतिवद्धता गरेका हुन् । चालु आवमा सरकारले कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

त्यसमध्ये भन्सार विभागको भागमा ४ सय ४० अर्ब २६ करोड रुपैयाँ परेको छ । आन्तरिक राजस्व विभागका भागमा भने ४ सय ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबारसम्म लक्ष्यको कुल लक्ष्यको १३.४० प्रतिशत अर्थातः १ खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

ननफाइलरको संख्या घटाइने

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि करतर्फ यो वर्ष ननफाइलर करदाताका रुपमा रेहका करदाताको संख्या घटाउने बताएको छ ।

विभागले ठूला र मध्यमस्तरीय करदाता कार्यालयको हकमा एक प्रतिशत र अन्य राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा ननफाइलर करदाताको संख्या १० प्रतिशतमा झार्ने लक्ष्य विभागले राखेको छ ।

आयकरमा समेत नन्फाइफर करदाता घटाउने विभागले जनाएको छ । विभागले यो वर्ष विद्यूतीय माध्यमबाट कर तिर्न सकिने व्यवस्थालाई प्रभावकारी बनाउने समेत बताएको छ ।

यो वर्ष सबै कार्यालयमा बायोमेटि्रक दर्ता प्रणाली लागु गरी चालु आवभित्रै कार्यान्वयनमा लैजाने बताएको छ ।

विभागको एकीकृत कर प्रणालीको स्तरोन्नती गरी कर प्रणालीलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा विभागले गरेको छ ।

अन्तशूल्क चुहावट नियन्त्रण र अबैध मदिरा नियन्त्रणको कामलाई समेत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने विभागले जनाएको छ ।

मुख्य ८ भन्सारको स्तरोन्नति गरिने

यता, भन्सार विभागले भने यो वर्ष भन्सार प्रणालीलाई मजवुत बनाउन भन्सार कार्यालयहरुको स्तरोन्नतिको योजना बनाएको छ ।

करिब ९६ प्रतिशत वैदेशिक व्यापारको अंश ओगट्ने र राजस्व संकलनका दृष्टिकोणले समेत महत्वपूर्ण ८ वटा भन्सार मूख्य कार्यालयमा आवश्यक भौतिक पूर्वाधार र साधनस्रोतले सम्पन्न गराउने विभागको प्रतिवद्धता रहेको छ ।

वैदेशिक व्यापार तथा निकासी/पैठारीको तुलनामा भन्सार एजेन्टको संख्या न्यून रहेको भन्दै यो वर्ष भन्सार एजेन्ट थप गर्ने योजना समेत विभागले बनाएको छ ।

चोरी निकासी निरुत्साहित, भन्सार मूल्यांकनलाई स्वचालित बनाउने कामलाई समेत निरन्तरता दिने विभागको भनाइ छ । ठूला ८ वटा भन्सार कार्यालयमा सघन अनुगमन विधि प्रयोग गरी त्यसका आधारमा आवश्यक सुधार समेत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment