+

ब्लड प्रेशर बढ्दा के खाने के नखाने?

२०७७ असोज  २४ गते १४:५९ २०७७ असोज २४ गते १४:५९
Shares
ब्लड प्रेशर बढ्दा के खाने के नखाने?

उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचार एवं मुटु रोगको जोखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ । आज युरोप र अमेरिका जस्ता विकसित  देशहरूमा उच्च रक्तचापको उपचारका लागि अनिवार्य रूपमा दाश खानपान खान सल्लाह दिइन्छ ।

के हो दाश खानपान ?

दाश खानपान पद्धति पाश्चात्य समाजका लागि नौलो भए पनि दक्षिण एसियालीहरूका लागि नौलो खाना होइन । युरोप एवं अमेरिकामा उच्च रक्तचाप महामारीको रूपमा फैलिन थालेपश्चात त्यहाँका वैज्ञानिकहरूले यो रोगको प्रकोप कम भएको समुदायको अध्ययन गर्दा ती समुदायमा विशेष प्रकारको खानपान अभ्यास भएको पाइयो । पछि अध्ययनगर्दा यसरी पूरै समुदायकै रक्तचाप कम हुनुमा उहाँहरूको खानपान र जीवनशैलीलाई जिम्मेवार ठहराइयो । वैज्ञानिक अध्ययनपश्चात सोही खानपान पद्धतिलाई परिष्कृत एवं वैज्ञानिक बनाएर दाश खानपान नामाकरण गरियो । दाश खानपान पद्धति मूलतः शाकाहारी खानपान पद्धति हो । यस पद्धतिका प्रचुर मात्रामा सागशब्जी र फलफूलहरू खाने, नुन, चिनी एवं चिल्लोको प्रयोग अत्यन्त कम गर्ने, मदिरापान नगर्ने र मांसाहार नगरी नहुनेहरूका लागि रातोमासु, फलमासु वा बोसो भएको ठूला जनावरका मासु नखाएर दुब्ला पातला जनावरको (रातोमासु र बोसो भएको)मासु छोडेर अन्य अङ्गको मासु खान वा माछा खान सल्लाह दिइन्छ ।

दाश खानपान किन ?

दाश खानपानले उच्च रक्तचाप घटाउनुका साथै तौल कम गर्ने, क्यान्सरको खतरालाई न्यूनीकरण गर्ने, मुटुरोगको जोखिम कम गर्ने, कोलेस्टे्रोल कम गर्ने लगायत पाचन र उत्सर्जन प्रणालीलाई समेत फाइदा पु¥याउने तथ्यहरू उजागर भएका छन् ।

दाश खानपानका फाइदाहरूः

१. उच्च रक्तचाप कम गर्नेः दाश खानपानको अभ्यासले रक्तचाप बढेकाहरूको रक्तचाप घटाउँछ भने नबढेकाहरूको रक्तचाप बढ्न दिँदैन । रक्तचापको अन्य जोखिम कारक तत्वहरू जस्तै मोटोपन, नुनको सेवन, तनावआदिलाई नहटाउँदा पनि दाश खानपान एक्लैले रक्तचाप कम गर्ने गर्छ । साथै, दाश खानपानका साथसाथै नुनलाई पनि कम गर्दा रक्तचाप अझै कम हुन्छ ।

२. तौल कम गर्न सहयोग गर्छः दाश खानपान तौल घटाउने मनसायले तयार गरिएको खानपान पद्धति नभए पनि यो खाद्य अभ्यासले तौल पनि घट्छ । उच्च रक्तचापको एउटा कारक तत्व मोटोपन पनि हो। उच्च रक्तचाप भएकालाई मोटोपन भए मोटोपन कम गर्ने सल्लाह दिइन्छ । उच्च रक्तचाप कम गर्ने क्रममा दाश खानपानमा रहे तौल पनि कम हुन्छ । यसो हुनुमा दाश खानपानको प्राकृतिक नुन, चिनी, मैदा र चिल्लो युक्तहुनु हो ।

३. मुटुरोगको जोखिम कम गर्ने : दाशखानपानले मुटुरोगको जोखिमलाई २०% कम गर्छ ।

४. क्यानसरको जोखिम घटाउने : दाश खानपानमाथि भएका अनुसन्धान र समीक्षाहरूले यो खानपान पद्धतिलाई क्यान्सर प्रतिरोध पद्धतिको रूपमा चित्रण गरेको छ ।

५. मष्तिस्क घातको जोखिम कम गर्नेः दाश खानपान गर्नेलाई मष्तिस्कघातको जोखिम पनि २९% ले घटेर जाने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाएको छ ।

६. मेटाबोलिक सिन्ड्रोमको जोखिम कम गर्ने : यी पाँच रोगहरू उच्च रक्तचाप, उच्च रक्त ट्राइग्लिसराइड, मधुमेह, बढेको भुँडी र निम्नरक्त एच.डी.एल कोलेस्टेरोलमध्ये तीन रोगहरू भएको अवश्थालाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । दाश खानपानको अभ्यासले मेटाबोलिक सिन्ड्रोमको जोखिम ८१% कम भएर जान्छ ।

७.मधुमेहको जोखिमलाई कम गर्दछः टाइप–२ मधुमेहको जोखिमलाई पनि दाश खानपानको अभ्यासले राम्रो गर्दछ । यसका अतिरिक्त दाश खानपानको अभ्यासले इन्सुलिन प्रतिरोधकतालाई कम गर्ने र संवेदनशीलतालाई बढाउने गर्छ ।

के के खाने ? कतिखाने ?

१. सग्लो अन्नको परिकारः ३ देखि ४ सर्भिङ्ग प्रतिदिन : सग्लो अन्न जस्तै, गहुँको पाउरोटी, रातो चामलको खिचडी दलिया, किन्वा, ओट कर्नलेक, भुटेको मकै भट्टमास, हरियो मकै, आदिको खाजालिन सकिन्छ।

एक सभिङ्गको उदाहरणः

–एउटा सग्लो गहूँको पाउरोटी एउटा चाना ।

–मकै भट्टमास, भुटेको गहुँ, भूटेको चना मटर आदि ३० ग्राम ।

–आधाकप(९५ ग्राम) रातो चामलको भात वा कागुनोको भात ।

२. सागपात एवं तरकारी : चारदेखि पाँच सर्भिङ्ग प्रतिदिन ः दाश खानपानमा ज्यादाभन्दा ज्यादा र सबै प्रकारका रङ्गीचङ्गी सागपात एवं तरकारीहरू खान सिफारिस गरिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक कपवा ३० ग्राम पालुङ्गो र साग ।

–आधाकप (४५ ग्राम) काचै खानमिल्ने भए काचो र पकाएर खान पर्ने भए पाकेको ब्रोकाउली, गाजर, स्कुस, टमाटर, चुकन्दर आदि ।

३. फलफूल : ४ देखि ५ सर्भिङ्ग प्रतिदिनः

फलफूलको सेवनलाई दाश खानपानमा खुब प्राथमिकता दिइन्छ । फलफूलको हिसाबले अलग अलग फलफूलको अलग अलग सर्भिङ्ग साइजहरू छन् ।

एक सभिङ्ग साइजको उदाहरणः

–एउटा मध्यमआकारको स्याउ

–चौथाई कप (५० ग्राम) सूख्खाखुर्पानी ।

–आधाकप (३० ग्राम) ऐसेलु, आलूबखडा, स्ट्रोबेरी कालो अङ्गूर जस्ता फलफूल ।

४. दूध एवं दुग्ध जन्यपदार्थः दुईदेखि तीन सर्भिङ्ग प्रतिदिन

दाश खानपानमा खाइने दुध एवं दुग्धजन्य पदार्थमा चिल्लोको मात्रा हुनुहँुदैन वा अत्यन्तै कम हुन्छ । यसरी चिल्लो काढिएको दूधलाई स्किम्ड मिल्क भनिन्छ ।

एक सभिङ्ग साईजको उदाहरणः

–एक कप (२४० मि.लि.) कम चिल्लो भएको दूध ।

–दही खाँदा एक कप (२८५ मि.ली.) कम चिल्लो भएको दही ।

–पनिर खादाँ ४५ ग्राम पनिर

५. सुख्खा फलफूलः सुख्खा फलफूलमा धेरै चिल्लो हुने हुँदा जथाभावी खानु हुँदैन । हप्ताको ४ देखि पाँच सर्भिङ्ग भन्दा ज्यादा नखाएकै राम्रो । सुख्खा फलफूलहरूमा बदाम, मुङ्गफली, कटुस, ओखर, सूर्यमुखीको बियाँ, आलसको दाना, राजमा, मुसुरो, मटर आदि लिन सकिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक तिहाइकप (५० ग्राम) सुख्खा फलफूल ।

–२चम्चा (३० ग्राम) पिनट बटर ।

–१ चम्चा (१५ ग्राम) भुटेको आलस ।

–आधाकप (४० ग्राम) पकाएको गेडागुडी

तेल, घिउ रचिल्लो पदार्थ : उच्च रक्तचापका रोगीलाई धेरै चिल्लो खाने सल्लाह दिइँदैन । खानै पर्दा अन्य चिल्लोपदार्थ छाडेर वनस्पति तेल खानुपर्छ । चिल्लोको नाममा जनावर बाट प्राप्तचिल्लो पदार्थ खानु हुँदैन । जनावरबाट प्राप्त चिल्लोमा कोलेस्ट्रोल पाइन्छ । वनस्पतिबाट प्राप्त चिल्लोमा कोलेस्ट्रोल पाइँदैन । तोरी, सूर्यमुखी, भटमास जस्ता वनस्पतीय तेल अन्य तेलभन्दा राम्रा छन् :

एक सभिङ्ग साइजको उदाहरण 

–एक चियाचम्चातोरीको तेल

–एक चियाचम्चा नौनी

–२ चम्चा (३० मि.लि.) सलाद ड्रेसिङ्ग

नमुना खाद्य सूची 

एउटा वयस्क व्यक्तिको लागि लगभग २००० किलो क्यालोरी ऊर्जाको आवश्यकता पर्छ । यसै मानबिन्दुलाई आधार बनाएर यसरी निम्नानुसारको दाश खाद्य सूची बनाउन सकिन्छ । तर तौल कम गर्न चाहनेहरूले यति धेरै खानुहँुदैन ।

१. बिहान व्यायामपश्चात 

–एक चियाचम्चा भुटेको आलस ।

–एक कप (२३६ मि.लि. पानीमा १५ मि.लि. मह र ५ मि.लि.कागतीको रस) मह कागती पानी ।

–चारवटा भिजाएको बदाम ।

–चारवटा भिजाएको ओखर ।

२. बिहानको खाजाः

–१ कप (९० ग्राम) ओट मिलसँग १ कप (२४०मि.लि.) छाली काडिएको दूध मिसाएर पिउने ।

–आधाकप (७५ ग्राम) ऐंसेलु, स्याउ वा स्ट्रबेरी र आधाकप (१२० मि.लि.) ताजा सुन्तला वा मौसमको रस ।

३. अल्पाहारः एउटा सामान्य आकारको स्याउ र एक कप (२८५ ग्राम) छाली काडिएको दही ।

४. बिहानको खानाः

–दुईवटा चोकर यूक्त आटाको रोटी, वा एक कपका गुनोको भात ।

–डेढ कप भेडे खुर्सार्नी वा भिण्डी वालौका वा परवर वा घिरौलाआदिको सब्जी

–एक कप(९०ग्राम) दाल वा ९० ग्राम माछा करी ।

–डेढ  कप (११५ ग्राम) हरियो सलाद ।

–१ कप (२३६ मि.लि.) छाली काडिएको मोही

५. अल्पाहारः एउटा मध्यम आकारको केरा ।

६ रसाहारः पौने कप (२३६ मि.लि.)फलको रस ।

रात्रिभोजनः

–दुईवटा चोकर युक्त आटाको रोटी वा एउटा फापर र कोदाको मिश्रित रोटी ।

–रोटी नखाँदा आधाकप (१०० ग्राम) कागुनोको रातो चामलको भात

–एक कप (१५० ग्राम) ब्रोकाउली, काउली, बन्दा, गाजर, भेडे खुर्सानी आदिको तेलरहित वाहल्का तेलयुक्त तरकारी ।

–आधाकप (८० ग्राम) फलफूलको सलाद ।

राति सुत्नुभन्दा पहिलेः एक कप (२३६ मि.ग्रा.) दूध ।

खानपानलाई उच्च रक्तचाप प्रतिरोधी बनाउने उपायहरूः

–खानपानमा धेरैभन्दा धेरै फलफूल एवं तरकारीलाई समावेश गरौं ।

–प्रशोधित खानेकुरा नखाऔं ।

–सग्ला अनाजका परिकारलाई समावेश गरौं ।

–दूध एवं दुग्धजन्य पदार्थ खाँदा चिल्लो निकालिएको वा कम चिल्लो भएको  खाद्यपदार्थ छानौं ।

–खाना पकाउँदा सकभर तेलरहित पाकविधि सिकौं वा कम वनस्पति चिल्लोयुक्त खानेकुरा रोजौं ।

–घिउ, तेल, नौंनी, छाली, वटर र बोसो जस्ता जंगम श्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नुहुँदैन ।

–उच्च रक्तचाप भएकाहरूले पूर्ण शाकाहारी हुनु जरुरी छ । माछामासुमा पाइने बोसोले कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले ठूला जनावरका मासु छाडेर माछा वा चराचुरूङ्गीको मासु खाने गरौं । मासु पकाउदा पनि अत्यन्त कम वनस्पति तेल हालेर पकाउने गरौं ।

–उच्च रक्तचाप भएकाहरूले चाउचाउ, बिस्कुट, नुडल्स, कार्बाेनिक पेय र अल्कोहलिक पेय जस्ता खाली क्यालोरी दिने पदार्थ उच्चरक्तचापको लागि खानै हँुदैन ।

–पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र  चौथाइभाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनुपर्छ ।

–खाना मानुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनोमोटो, सोडियोवाइकार्बोनाइड र सोडियमबेन्जोएट जस्ता बेकिङ पाउडरको प्रयोग रक्तचाप मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाउजस्ता अतिरिक्त लवण राखिएका खाद्य पदार्थले उच्च रक्तचाप रोगको जोखिम बढाउँछ ।

–खानामा रेसा र चोकरयुक्त खाद्यान्नहरूको समायोजन हुन जरुरी छ । सलाद, हरिया सागसब्जी, चोकरयुक्त पिठो, रातोचामल, सग्लाअन्नहरूमा रेसाको मात्रा ज्यादा हुन्छ ।

लेखक भरतपुर–१ वागेश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

ब्लड प्रेसर
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय