Comments Add Comment

कोभिड- १९ को महामारीबीच एसिया बन्दैछ भूराजनीतिको ‘हटस्पट’

२४ असोज, काठमाडौं- केही महिनायता अमेरिका चीनप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । एकातिर  दुई देशबीचको व्यापार युद्ध पेचिलो बन्दैछ छ भने अर्कोतिर कोभिड-१९, हङकङ र मानव अधिकारको विषयमा वीचमा द्वन्द्व चर्किरहेको छ ।

अमेरिकाले चीनलाई कोरोना भाइरस संसारभरि नै फैलाएको आरोप लगाएको छ । केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड- १९ लाई ‘चिनियाँ भाइरस’ भन्दै अहिलेको विश्वव्यापी महामारीका लागि अमेरिका जिम्मेवार भएको बताएका थिए ।

यतिबेला अमेरिकाको रणनीति भनेको एसियाका ठूला प्रजातान्त्रिक मुलुकलाई आफ्नो पक्षमा ल्याउने र चीन र  साना छिमेकी मुलुकको विचमा सकेसम्म दुरी सिर्जना गर्ने । अमेरिकाले नेतृत्व गरेको अहिलेको ग्लोवल अर्डरलाई चीनले जर्बरजस्ती पल्टाउन खोजेकाले त्यसलाई साझा विचार भएका मुलुकहरुको विचमा एलायन्स बनाएर प्रतिकार गर्न अमेरिकाले आग्रह गरिरहेको छ ।

यतिवेला संसार नै कोभिड-१९ ले आक्रान्त छ । तर, यहीवीचमा भूराजनीतिक तनाब निकै बढ्दै गइरहेको छ अनि अमेरिका, चीन र भारतका उच्च अधिकारीहरुको दौडधुप पनि बाक्लिएको छ । शक्ति राष्ट्रहरुवीचको टकराब र प्रतिस्पर्धा हेर्दा लाग्छ कि अहिले संसारले भोगिरेहको महामारी केही पनि होइन ।

अर्कोतिर केही महिनायता एसियाका दुई शक्ति भारत र चीनकोवीच सीमा क्षेत्रमा तनाव छ । दुवै पक्षको वीचमा धेरै पटक वार्ता भए पनि तनाव कम हुन सकेको छैन । दुबै मुलुक यतिबेला सीमा क्षेत्रमा हतियार र सैन्य सामाग्री थुपार्न व्यस्त छन् । कुनै पनि समयमा भारत र चीनको वीचमा एक सीमित युद्ध हुने कुरालाई नकार्न सकिँदैन । पहिला भारत-चीन द्वन्द्वमा मौन बस्ने अमेरिका यतिबेला भारतको पक्षमा केही खुलेको देखिन्छ । त्यसैले दुई मुलुकको वीचमा जुनसुकै बेला युद्ध हुने अबस्था छ ।

अमेरिका-चीन बढ्दो द्वन्द्व र भारत-चीन सीमा विवादले एसियाको भूराजनीतिमा तरंग सिर्जना गरेको छ । चीनसँगको द्वन्द्व बढेपछि यतिबेला भारत अमेरिका, जापानलगायतका मुलुकहरुसँग पहिला भन्दा धेरै नजिकिएको छ । यही मौका छोपेर अमेरिकाले चाहिँ एसियाका ठूला प्रजातान्त्रिक मुलुकहरुका वीचमा एउटा ‘एलायन्स’ बनाउने कोसिस गरिरहेको  देखिन्छ, जुन सिधै चीन लक्षित छ । एसियाली मुलुकमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्नका लागि अमेरिकाले साझा मूल्य र मान्यता भएका प्रजातान्त्रिक मुलुकहरुका वीचमा एलायन्स बनाउन खोजेको हो ।

हालै जापानको निकी पत्रिकालाई दिएको अन्तवार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका छन, ‘चार मुलुकहरु अष्ट्रेलिया, जापान, भारत अमेरिकावीचको सहकार्यलाई पुनः गतिशील बनाउन चा चाहन्छौं । चिनियाँ कम्युनिस्ट पार्टीका कारण उत्पन्न चुनौतीहरु सामना गर्नका लागि यसको आवश्यकता छ ।’  यी चार मुलुकहरुका वीचमा एक संयन्त्रमार्फत दुई वर्षयता सहकार्य भइरहेको छ, जसलाई क्वाड नामले चिनिन्छ ।

चीनतर्फ लक्षित गर्दै उनले अहिले अमेरिका र चीनवीचको लडाइँ नभई नियममा आधारित अन्तरर्राष्ट्रिय प्रणाली अपनाउने कि निरंकुशवादी सिद्धान्त अपनाउने भन्ने वीचको लडाइँ भएको बताएका छन् । उनले चीन निरंकुश मुलुक भएकाले त्यसविरुद्ध लड्नका लागि अन्य प्रजातान्त्रिक मुलुकहरु एकै ठाउँमा आउन आवश्यक भएको बताएका छन् ।

एसियामा भूराजनीतिक तनाव बढिरहेकै समयमा यही साता जापानमा क्वाड को बैठक सम्पन्न भएको छ । एसियाका चार प्रजातान्त्रिक मुलुकहरु भारत, अष्ट्रेलिया, अमेरिका र जापानवीचको सेक्युरिटी डाइलग नै क्वाड हो, जसलाई अझ प्रभावकारी र ठोस बनाउन अमेरिका अगाडि सरेको छ । यसलाई पछिल्लो समयमा चीनको काउन्टर गर्ने फोरमको रुपमा विकास गर्न खोजिएको छ ।

यसलाई सर्वप्रमथ तत्कालिन जापानी प्रधानमन्त्री आबे सिन्चोले सन् २०१७ मा अगाडि बढाएका थिए । त्यही बर्षको नोभेम्बर १२ मा क्वाडको पहिलो बैठक भएको थियो ।

केही बर्षयता चार मुलुकले यसको बैठक गरिरहेका छन् । तर अमेरिका-चीन  र भारत-चीन बढ्दो द्धन्द्धको समयमा भएको यस पटकको क्वाडको बैठकले भने एसियाली भूराजनीतिमा बढी नै तरंग सिर्जना गरेको छ । अनि अन्य बैठकहरु भर्चुअल भईरहेको समयमा क्वाड का विदेशमन्त्रीको बैठक भने जापानमा भौतिकरुपमा नै भएको छ ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले भौगोलिक अखण्डता र सीमा विवादको शान्तिपूर्ण समाधानको विषय उठाए । साथै उनले भने, ‘साझा मूल्य र मान्यता भएका हामी सृदढ प्रजातन्त्र भएका मुलुकहरुले खुल्ला, स्वतन्त्र र समावेशी इन्डोप्यासेफिकको महत्वको पुष्टि गरेका छौं ।’

प्रजातान्त्रिक मुलुकहरुको सम्भावित एलायन्सतर्फ संकेत गर्दै जयशंकरले भने,’कोभिडले हामीलाई के सिकाएको छ भने समान विचार भएका मुलुकहरु एकै ठाउँमा आउनु महत्वपूर्ण छ ।’

त्यसैगरी क्वाडको बैठकपछि जापानी विदेशमन्त्री मोतिगी तोसीमित्सुले भने,’हामी समान विचार भएका मुलुकहरु अमेरिका, अष्ट्रेलिया, भारतसँग सहकार्य गर्न तयार भएका छौं । खुल्ला र स्वतन्त्र इन्डोप्यासेफिक भिजनमा हामीहरुको वीचमा सहकार्य हुनु एकदमै महत्वपूर्ण छ ।’

सोही बैठकमा अष्ट्रेलियाले पनि समान चासो भएका मुलुकहरुको वीचमा सहकार्यको आवश्यकता औंल्याएको थियो । यस अगाडिका क्वाड बैठकमा भारत, जापान लगायतका मुलुकहरु चीनप्रति त्यति आक्रामकरुपमा प्रस्तुत भएका थिएनन्, जति अहिले भएका छन् ।

यतिबेला चीन र अष्ट्रेलियाको सम्बन्धमा पनि चिसोपन आएको छ । विशेष गरी केही हप्ता अगाडि अष्ट्रेलियाले चीनबाट शुरु भएको कोरोना भाइरसका सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताएपछि सम्बन्ध चिसिएको हो ।

यतिवेला अमेरिकाले क्वाडलाई विस्तार गरेर एसियाका ठूला प्रजातान्त्रिक मुलुकहरुका वीचमा एउटा एलायन्स बनाउन खोजेको देखिन्छ । उसो त यस अगाडि नै यस क्षेत्रमा चिनियाँ प्रभाव कम गर्नका लागि अमेरिकाले इन्डो प्यासेफिक रणनीतिलाई अगाडि बढाइसकेको छ । तर, अमेरिकाले अगाडि सारेको इन्डो प्यासेफिक र भारत, जापानलगायतका मुलुकहरुको बुझाइमा भने ठूलो अन्तर छ ।

तर, पछिल्लो समयमा भारतले पनि पहिले भन्दा अलि फरक भाषामा स्वतन्त्र इन्डोप्यासेफिकको विचारलाई अगाडि बढाइरहेको छ । पहिला एक निश्चित उदेश्यका लागि खडा गरिएको क्वाड अब विस्तारै गम्भीर र ठोसरुपमा अगाडि बढ्न लागेको विश्लेषकहरुको वुझाई छ ।

क्वाडमा अरुलाई तान्ने प्रयास

क्वाड मात्र होइन, अमेरिकाले एसियाका प्रजातान्त्रिक मुलुकहरुलाई पनि एकै ठाउँमा ल्याउने प्रयास गरिरहेका छ । अमेरिकाले दक्षिण कोरियालाई पनि क्वाड मा जोडिनका लागि आग्रह गरिरहेको छ । तर, ठूलो व्यापारिक सम्बन्ध भएको दक्षिण कोरिया चीन विरोधी कुनै पनि एलाइन्समा सहभागी हुने सम्भावना कम  छ । दक्षिण कोरिया यस अगाडी नै अमेरिकासँगको एलायन्समा रहेको छ ।

आइडोलोजी फरक फरक भएपनि व्यापारिक सम्बन्धको हिसाबले दक्षिण कोरिया र चीन पछिल्लो समय एकदमै नजिक भईरहेका छन् । क्वाड मात्र होइन, अमेरिकाले एसियामा रहेका ठूला प्रजातान्त्रिक मुलुकहरुको एलायन्स बनाउने प्रयास पनि गरिरहेको छ ।

अमेरिकी अधिकारीहरुले बारम्बार इन्डोप्यासेफिक क्षेत्रमा नाटो जस्तो एलायन्स बनाउन लागेको सार्वजनिक अभिव्यक्ति नै दिईरहेका छन् । त्यसैले एसियाका अन्य मुलुकहरुलाई पनि वृहत प्रजातान्त्रिक एलायन्समा सहभागी हुन आग्रह गर्ने सम्भावना रहेको छ ।

यस क्षेत्रका प्रजातान्त्रिक मुलुकहरुको एलायन्स बनाउने अमेरिकी प्रयासमा यस क्षेत्रका सबै ठूला मुलुकले साथ दिन्छन् भन्ने यकिन छैन् । प्रजातान्त्रिक मुलुकहरुको एलायन्स बन्छ कि बन्दैन् भन्ने धेरै निर्भर भारत र जापानमा पर्दछ ।

चीनसँग केही सीमा विवाद रहे पनि भारत अझै पनि वार्ताद्वारा नै समस्या समाधान गर्ने पक्षमा छ । दुवै चीनविरोधी कुनै पनि एलायन्सको सम्बन्धमा निकै होसियारीपूर्वक कदम चाल्ने पक्षमा छन् । किनकि यी दुवै मुलुकको चीनसँग ठूलो व्यापारिक सम्बन्ध छ ।

तर, चीनसँगको सम्बन्धमा तिक्तता आएपनि भारत अमेरिकासँग चाहिँ नजिक भइरहेको छ । भारत र चीन मात्र होइन्, क्वाड र प्रजातान्त्रिक एलायन्सको प्रक्रिया अगाडी बढ्दा त्यसले एसियलाी मुलुकहरुमा नै थप तनावको वातावरण सिर्जना गर्ने देखिन्छ ।

आर्थिक रुपमा फाइदा लिन सकिने चीनलाई रोज्ने कि अमेरिकालाई भन्ने विषयमा एसियाली मुलुकहरु एकदमै कठिन अबस्थामा रहन् सक्छन् । क्वाडको वैठकमा नै अमेरिका बाहेक अन्य मुलुकहरुले चीनको सम्बन्धमा खासै बोलेनन् । अर्काेतर्फ भारत अहिले चीनसँगको वार्गेनिङ पवार बढाउनकै लागि मात्र अमेरिकासँग नजिकिएको हो कि बास्तविक हो भन्ने यकिन भईसकेको छैन् ।

चीन भन्छ- यसको सीमित प्रभाव हुन्छ

अहिले मात्र होइन, क्वाड गठन भए लगत्तै चीनले यसलाई आफू विरोधी एलायन्सको रुपमा लिएको छ । चीनको फुदान विश्वविद्यालयको अमेरिकन स्टडीजका उपनिर्देशक जीन क्युयानले हालै ग्लोबल टाइम्समा प्रकाशित लेखमा भनेका छन,’जुन मुलुकहरुसँग अमेरिकाले एलायन्स बनाउन खोजेको छ, ती मुलुकहरुले अमेरिकालाई पूर्ण रुपमा विश्वास गर्न सकिरहेका छैनन् । उनले यस्तो इलाइन्सको प्रभाव भने एकदमै समित हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन, ‘अमेरिकाले आफूले गरेका प्रतिवद्धताहरु मिचिरहेको छ, अन्तराष्टिर्य नियमहरुलाई उल्लंघन गरिरहेको छ, अन्तराष्ट्रिय दायित्वलाई ‘इग्नोर’ गरिरहेको छ ।

त्यसैले यी मुलुकहरु अमेरिकीप्रति निर्भर हुन सक्दैनन् ।’ चीनले यो एलायसन्सलाई शित युद्धको जस्तौ वैचारिक एलायन्स बनाउन खोजेको र त्यसको उदेश्य चीनको प्रभावलाई कम गर्नु रहेको बताईरहेको छ । चीनले कुनै पनि मुलुकहरुवीचको सैनिक, राजनीतिक र अन्यखालका एलायन्सहरु बनाउने प्रयास गर्नु समय बिरुदको खेल हो भनी टिप्पणी गरेको छ ।

अहिलेको तरंग एसियाका ठूला प्रजातान्त्रिक मुलुकहरुमा मात्र होइन्, यस क्षेत्रका साना मुलुकहरुमा पनि भारत-चीन द्वन्द्व र अमेरिका-चीन द्वन्द्वको असर देखिन थालेको छ । चीनसँग द्वन्द्व बढेसँगै भारतले केही छिमेकी मुलुकहरुसँगको संवादलाई अगाडि बढाएको छ भने अर्कोतर्फ अमेरिका एसियाली मुलुकहरुमा चीनको प्रभाव कम गर्न लागिरहेको छ ।  भारत र चीनका उच्च अधिकारीहरुले विभिन्न मुलुकहरुको भ्रमण गरिरहेका छन् । त्यसैले यतिबेला एसिया भूराजनीतिको हट स्पष्ट बनिरहेको छ । यसले विशेष गरी ठूला मुलुकको द्वन्द्वमा तटस्थ र मौन बस्ने साना मुलुकहरुका लागि भने निकै अप्ठेरो अबस्था सिर्जना गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment