Comments Add Comment

दीर्घायु विशेषज्ञको सुझाव, ‘कसरी लामो र सुखी जीवन पाउने ?’

कति वर्ष बाँचियो ? यो भन्दा महत्वपूर्ण प्रश्न अर्कै छ । कस्तो जीवन बाँचियो ? रोगले थलिएर, ऐया र अत्था गर्दै, अस्पताल धाउँदै, औषधि सेवन गर्दै वा कमजोर भएर बाँच्नुको खास सार्थकता छैन । जति बाँचिन्छ, निरोगी र तन्दुरुस्त हुनुपर्छ । यसै भनेका छन् डा. सिगकी हिनोहाराले । उनी जापानी दीर्घायु विशेषज्ञ थिए, जसले एक सय पाँच बर्ष सक्रिय जीवन बाँचे । उनको जन्म १९११ अक्टोबर ४ मा भएको थियो ।

लामो र सक्रिय जीवन बाँचेकै कारण उनलाई दीर्घायु विशेषज्ञको उपमा दिइयो । लामो उमेर बाँच्न चाहनेहरुका लागि उनी एक आदर्श हुन् ।

‘कसरी लामो र सुखी जीवन जिउने’ भनी उनले डेढ सय बढी पुस्तक नै लेखेका छन् । यसमा लिभिङ लङ, लिभिङ गुड पनि सामेल छ । डा. हिनोहाराले अक्सर दीघायु र निरोगी जीवनका लागि दिने सुझाव यस्तो थियो ।

खानको लागि बाच्ने होइन, बाच्नको लागि खाने

डा. हिनोहारा स्वस्थ जीवन बाच्नका लागि तन्दुरुस्त रहनुका साथै बाच्नको लागि खान सल्लाह दिन्छन् ।  उनी भन्छन्, ‘स्वस्थ्य जीवन बाच्नका लागि शारीरिक रुपमा सक्रिय हुन जरुरी छ । सक्रिय जीवन बाच्नका लागि स्वस्थकर खानेकुरा खान जरुरी छ ।’

उनी विहानको नास्तामा फलफुलको जुसको साथमा कफी र केही चम्चा ओलिभ आयलको सेव गर्थे । मुटुको धमनीको लागि राम्रो मानिने ओलिभ आयल (जैतुनको तेल)ले छालालाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

डा. हिनोहारा दिउँसोका खानामा दूधका साथमा केही कुकिज खान्थे भने बेलुकीको खानामा थोरै चामलको साथमा, हरिया सागसब्जी तथा माछा खान रुचाउँथे । उनले भनेका छन्, ‘सातामा कम्तीमा दुई पटक सय ग्राम ताजा मासु खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ’ ।

डा. सिगकी हिनोहारा

योजनावद्ध ढंगले काम गर्ने  

योजनावद्ध ढंगले काम गरेको अवस्थामा मस्तिष्क स्वस्थ रहनुका साथै यसले सफल जीवन जिउनमा सहायता प्रदान गर्छ ।

दुःख–पीडा रहस्यमयी छ

डा. हिनोहाराको अनुभवमा मानिसको जीवनमा आइपर्ने दुःख–पिडा आफैमा रहस्यमयी छ । यसैले मनलाई आनन्दमा स्थित राख्न उचित हुनेछ । यसका लागि संगीत सुन्ने, मनोरञ्जन गर्ने, घरपालुवा जनवारसँग रमाउने ।

अरुबाट प्रेरणा लिने

अरुको राम्रो काम, उन्नती एवं सफलताबाट हामीले आफ्नो लागि प्रेरणा लिन सिक्नुपर्छ । यसले हामीलाई सधै उत्साहित, जागरुक र आशाबादी रहन सिकाउँछ ।

जीवनको आनन्द लिने

सफलतापूवर्क जीवन बाच्ने हो भने जीवनको भरपूर आनन्द लिन जरुरी छ । स–सना कुराबाट खुसी हुने, हरेक कुरामा सन्तोष गर्ने, गुनासो नगर्ने । अझ हामीले त्यस्ता काम गर्नुपर्छ, जसबाट आनन्द प्राप्त गर्न सकियोस् । हामीले आफ्नो कामबाटै धेरैभन्दा धेरै आनन्द लिने अभ्यास गर्नुपर्छ ।

चिन्ता त्याग्ने

चिन्ताले नै मानिसलाई चितातिर डोहो¥याउँछ । त्यसैले, शरीरलाई स्वस्थ राख्न पनि चिन्ता त्याग्न जरुरी छ । हिनोहाराले भनेका छन्, ‘जीवन घटनाहरुको अप्रत्याशित श्रृंखला हो । त्यसैले, हामीले जीवनमा आइपर्ने कुराको चिन्ता गर्न छाड्नु पर्छ । चिन्ताले डिप्रेशनका साथै थप समस्या खडा गर्छ । त्यसैले, सकारात्मक सौचौ, स्वस्थ जीवन बाचौं ।’

ज्ञान बाड्ने

अरुलाई उत्पे्ररित गर्नकै लागि डा. हिनोहारा प्रत्येक वर्ष जापानका विभिन्न भाग पुग्ने गर्थे, पुस्तक लेख्थे, आफ्नो अनुभव सुनाउथे । खासगरी उनी प्रेरणादायी कुराहरु सुनाउने गर्थे । जीवनको अन्तिम क्षणसम्म उनले यसरी अरुलाई प्रेरणा दिइरहे । आफ्नो जीवन भोगाइबाट आर्जेका ज्ञान बाढिरहे ।

पैसाको चक्करमा नलाग्ने  

व्यवहारिक जीवन चलाउनका लागि पैसा चाहिन्छ । तर, पैसा नै सर्वोपरी मानेर त्यसको पछाडि लाग्दा जीवनका अरु आयमहरु छुट्न पुग्छ । पैसाको चक्करमा हामीले आफ्नो जीवन र समय गुमाउन पुग्छौं । त्यसैले पैसाका लागि मरिहत्ते गर्नुभन्दा जीवनलाई रमाइलो बनाउने सीप आर्जन गरौं ।

आदर्श खोज्ने

डा. हिनोहारा भन्ने गर्थे, ‘जीवनमा सफलता प्राप्त गर्नु छ कम्तीमा एकजना रोल मोडेल हुन आवश्यक छ ।’ यसले कतिपय समस्या एवं दुःखहरुमा जिउन सिकाउँछ भने जीवनप्रति आशावादी र सकारात्मक रहन प्रेरित गर्छ ।

रिटायर्ड नबस्ने

डा. हिनोहारा भन्थे, शारीरिक रुपमा फिट तथा मानसिक रुपमा सबल व्यक्तिले कामबाट कहिल्यै  रिटायर लिनु हुँदैन । किनकी रिटार्यड जीवजनले मानिसलाई निक्रिय तथा बोधो बनाउनुका साथै जीवनलाई अर्थहीन बनाउन सक्छ ।  त्यसैले, सफल तथा सुखमय जीवन जिउनका लागि पनि जीवन तथा कामलाई निरन्तरता दिन  आवश्यक छ ।

चिकित्सकमा मात्र निर्भर नहुने

जापानीज चिकित्सक  हिनोहारा आफै पनि फिजिसियन डाक्टर हुन् । यद्यपि उनले चिकित्सकको प्रत्येक कुरालाई आखाँ चिम्लेर विश्वास नगर्न सुझाव दिएका छन् । भनेका छन्, ‘चिकित्सकले भनेको सबै आँखा चिम्लेर मान्दैमा स्वस्थ भइदैन । बरु  यसले नकारात्मक असर गर्न सक्छ । आफै जागरुक र सचेत हुनुपर्छ ।’

विज्ञान मात्रले सबै रोगको उपचार सम्भव छैन

डा. हिनोहाराका अनुसार विज्ञान मात्रले सबै रोगको उपचार सम्भव छैन । उनका अनुसार कुनै पनि रोगको उपचारका लागि दृश्य तथा उदार कला पनि उत्तिकै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment