Comments Add Comment

भेनेजुएला : जहाँ स्वास्थ्यकर्मीको मासिक तलबले पाँचओटा मास्क पनि आउँदैन

२७ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धेरै मुलुकले स्वास्थ्य समस्या सामना गरिरहेका छन् । त्यस्तै समस्याको सामना गर्ने एक मुलुक भेनेजुएला पनि हो ।

अहिलेसम्म भेनेजुएलामा ८३ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित बनिसकेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि सात सय नाघिसकेको छ ।

भेनेजुएलामा कोरोनाबाट मृत्यु हुनेको समग्र संख्यामध्ये झण्डै एक तिहाइ स्वास्थ्यकर्मी छन् । पीपीई, मास्कलगायतका उपकरणको अभाव हुने गरेकाले उनीहरुलाई सबैभन्दा धेरै जोखिम देखिएको छ ।

कोरोनासँग विना उपकरण लड्नुपरेपछि गत महिना स्वास्थ्यकर्मीहरुले सञ्चारमाध्यममा पनि आफ्नो समस्या राखेका थिए । जसमा उनीहरुले भेनेजुएलामा काम गर्ने स्वास्थ्यकर्मीको नाजुक अवस्थाको बारेमा बताएका थिए ।

स्वास्थ्यकर्मीको अवस्था

फाइनान्सियल टाइम्सले गत महिना पान अमेरिकी स्वास्थ्य संगठन (पाहो) लाई उधृत गर्दै ल्याटिन अमेरिकामा पाँच लाख ७० हजारभन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र उनीहरुमध्ये दुई हजार पाँच सयको मृत्यु भएको बताएको थियो । यसले पनि यो क्षेत्रमा स्वास्थ्यकर्मीको अवस्था कति जोखिमपूर्ण छ भन्ने उजागर गरेको छ ।

यो क्षेत्रका स्वास्थ्यकर्मीहरुले निकै तनावपूर्ण अवस्थामा काम गरिरहेको पाहोका निर्देशकले बताएका थिए ।

ल्याटिन अमेरिकामा भनेजुयलाको अवस्था निकै दयनीय मानिन्छ । भेनेजुएलामा काम गर्ने स्वास्थ्यकर्मीले भने आवश्यक पीपीई र मास्कसमेत पाउँदैनन् । भेनेजुएलाका स्वास्थ्यकर्मीका नेता माएरो जब्रानो आफूले निरीक्षण गर्ने राजधानी सहर काराकासका १६ अस्पतालमध्ये नौवटामा मास्क र पञ्जा नभएको बताउँछन् । साथै सातओटामा सरसफाइको लागि पानी पनि छैन । अधिकांशमा स्यानिटाइजरसमेत छैन भने साबुन र डिस्इन्फेक्ट्यान्ट त झन् कुनै पनि अस्पतालमा छैन ।

नाम नबताउने शर्तमा एक डाक्टरले अस्पताल आउँदा आफूलाई आवश्यक पर्ने मास्क र पीपीई ल्याउनुपर्ने बाध्यता रहेको बताए । साथै अस्पतालको अस्तव्यस्तताको विषयमा कसैले आवाज उठाएको खण्डमा उनीहरु पक्राउ पर्ने जोखिम पर्नसक्ने उनको भनाइ छ । आफूलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सेवा सुविधाको विषयमा कुरा उठाएकोमा अस्पतालबाट निकालिएको वा पक्राउ परेका धेरै उदाहरणहरु छन् ।

भेनेजुएलामा कोरोना परीक्षण गरिएका मानिसको कोरोना परीक्षणको नतिजा आउन तीनदेखि चार सातासम्म लाग्नु सामान्य मानिन्छ । भेनेजुएलामा कोरोनाबाट मृत्यु हुनेको तथ्यांक पनि वास्तविक तथ्यांकभन्दा निकै कम रहेको जानकारहरु बताउँछन् ।

बीबीसीले गत सेप्टेम्बर २७ मा प्रकाशित गरेको रिपोर्टमा भेनेजुएलाको एक सरकारी अस्पतालको दुरावस्था देखिएको थियो । स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई र मास्क पनि नपाइने उक्त रिपोर्टमा देखाइएको थियो । अस्पतालका अधिकारीले स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई नपाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरी केरकार गरेको थियो । त्यसैले धेरै स्वास्थ्यकर्मीले कामबाट राजीनामा दिएका थिए ।

तर, अधिकारीहरुले उनीहरुलाई पुनः काममा फर्कन बाध्य पारेका थिए । काममा नफर्किए पक्राउ गरिने धम्की स्वास्थ्यकर्मीहरुलाई दिइन्छ र काममा फर्किन बाध्य गरिने गरिएको छ ।

तलबले अस्पताल आउजाउ गर्न पनि मुस्किल

कोरोना संक्रमणको जोखिम मात्र होइन । सेवा सुविधाको मामिलामा पनि भेनेजुएलाको अवस्था निकै दयनीय छ । यहाँका स्वास्थ्यकर्मीले पाउने सेवा सुविधा निकै कम छ । त्यसमाथि पनि उनीहरुलाई आफूले लगाउने पीपीई आफैं किन्नुपर्ने बाध्यता छ । यहाँ एउटा मास्कको मात्र एक डलर पर्छ । तर, स्वास्थ्यकर्मीहरुले पाउने तलब मासिक चारदेखि पाँच डलरको हाराहारीमा हुने गरेको अधिकारीहरु बताउँछन् । ल्याटिन अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई दिइने यो सबैभन्दा कम तलब हो ।

‘मैले आफ्नो सार्वजनिक यातायातमा यात्रा गर्दा नै कमाएको भन्दा धेरै पैसा तिर्नुपर्छ’, नाम नबताउने शर्तमा एक नर्सले बीबीसीसँग भनिन् । अर्की एक नर्स आफूले कोठा भाडा तथा अन्य खर्च आफ्नो परिवारसँग मागेर चलाउनुपरेको बताउँछिन् । स्वास्थ्यर्मी आत्मनिर्भर हुन दोस्रो काम गर्नुको विकल्प छैन । त्यसैले धेरै स्वास्थ्यकर्मी १२ घण्टा अस्पतालमा काम गरेर आएपछि अर्को कामका लागि तयार हुन्छन् । तर, अस्पताल छाड्ने विकल्प भने उनीहरुलाई छैन । अस्पतालबाट राजीनामा दिए पक्राउ पर्ने डर उनीहरुलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment