+

रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्न मन छैन

२०७७ असोज  २७ गते १६:२१ २०७७ असोज २७ गते १६:२१
रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्न मन छैन

२७ असोज, काठमाडौं । ब्राजिलका युवा फुटबलर रोड्रिगोले आफू ‘नयाँ नेयमार’ बन्न नचाहेको बताएका छन् । विश्वकप क्वालिफायर अन्तर्गत पेरुसँग हुने म्याचको ठीक अगाडि उनको यस्तो बयान सार्वजनिक भएको हो ।

१९ वर्षका रोड्रिगोलाई ब्राजिलका उदीयमान स्टारको रुपमा हेरिएको छ । ला लिगा च्याम्पियन रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेसँगै विश्व फुटबलमै उनको चर्चा चुलिएको थियो । उनी गत वर्षमात्रै सान्तोसबाट ५ करोड २२ लाख डलर लिएर रियल मड्रिड गएका हुन् ।

सान्तोसबाटै उदाएका नेयमार र रोविन्होसँग उनको तुलना हुन थालेको छ । तर, यस्तो तुलनाले आफूलाई असहज लाग्ने रोड्रिगो बताउँछन् । अरुको पदचिह्नमा हिँड्नेभन्दा आफ्नो बेग्लै बाटो बनाउन चाहेको उनको भनाइ छ ।

उनले भने, ‘मैले सान्तोसबाट सुरु गर्दादेखि नै मलाई नयाँ नेयमार भन्न थालियो । रोविन्होसँग पनि तुलना हुन थाल्यो । तर, म चाहिँ सधैँ रोड्रिगो नै भइरहन चाहन्छु । आफ्नै कथा निर्माण गर्न चाहन्छु । रोविन्हो र नेयमारहरु मेरा आइडल हुन् । तर, नेयमार एउटा मात्रै हुन सक्छ । म रोड्रिगो नै ठीक छु ।’

रोड्रिगोले ब्राजिलको सिनियर टिमबाट तीन वटा अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् । यसैगरी ला लिगामा उनले २०२०–२१ को सिजनमा मड्रिडका लागि दुईवटा म्याच खलेका छन् । अहिलेसम्म उनले सबै गरेर २६ वटा म्याच खेलेका छन् ।

‘मैले सधैँ आफूलाई उत्कृष्ट फर्ममा राख्नुपर्छ किनकी मेरो स्थानमा खेल्ने धेरै राम्रा खेलाडीहरु छन्,’ उनी भन्छन्, ‘मैले अवसर पाएको बेलामा त्यसको सदुपयोग गर्नैपर्छ, अनि मात्रै मैले राष्ट्रिय टिममा आफ्नो मजबुत स्थान बनाउन सक्छु ।’

फुटबल रोड्रिगो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय