Comments Add Comment

निमदेखि बेसारसम्म : भोजन नै औषधि, औषधि त भोजन

वनस्पतिको ज्ञान विज्ञान र स्वास्थ्य

म आफैं पनि आधुनिक चिकित्सा विज्ञान पढेकी डाक्टर हुँ । शायद १० वर्षअघि मैले आज जे लेखिरहेछु, (वनस्पति र परम्परागतको ज्ञानका बारेमा) त्यो लेख्न र बोल्न लाज लाग्थ्यो होला । तर, अहिले म ढुक्कसँग बोलिरहेछु र आफूले सिकेको ब्यवहारिक र परम्परागत ज्ञानका कुरा अरूलाई पनि सिकाउँछु ।

३४ वर्षअघि भर्खर डाक्टर भएर आउँदा मलाई लाग्थ्यो, ‘मभन्दा जान्ने कोही छैन । आधुनिक औषधिले जुन रोग पनि ठीक पार्न सक्छ । अस्पतालमा आएर उपचार गराएपछि त सबै ठीक हुन्छन् ।’

अनि हजुरआमाले भनेको कुरा ‘बेसार, तुलसी, पानी, टिमुर, मह आदिले स्वस्थ राख्छ । दहीले पेट सञ्चो गराउँछ । लसुन र मेथीको जाउलोले पखाला हुँदा औषधीको काम गर्छ, । बालबालिकालाई छातीमा तेल मालिस गरे फाइदा गर्छ ।’ भन्ने कुराचाहिँ वाहियात हुन् जस्तो लाग्थ्यो ।

विस्तारै–विस्तारै संसारका विभिन्न ठाउँमा गएर काम गरेपछि, भारतकी प्रसिद्ध बैज्ञानिक डा. वन्दना शिवाको भाषण सुनेपछि, उनले निम र बेसारका बारेमा गरेका अनुसन्धान र किताब पढेपछि मात्र मलाई बोध हुँदै आयो, मेरो तथाकथित आधुनिक ज्ञानको परिधि कति सानो रहेछ । निम, बेसार, तुलसी आदि घर आँगनका औषधीलाई हामीले हेला गरेका रहेछौं । हजारौं वर्षदेखिको वनस्पतीय ज्ञानलाई अपहेलना गरेका रहेछौं ।

काम गर्दै जाँदा अनुभव पनि बढ्दै गयो । सन् २०१७ मा एक पत्रिका पसलमा नेशनल जियोग्राफीको ‘प्रकृतिका उत्कृष्ट उपचार’ भन्ने पत्रिका देंखें । किनेँ, साँच्ची नै उत्तम पत्रिका रहेछ । यो किताबमा हामीले प्रयोग गरेका वनस्पतिको इतिहास, कहाँबाट आयो भन्ने कुरा पनि रमाइलोसँग लेखिएको थियो । यो अंक यति लोकप्रिय भयो कि नेशनल जियोग्राफीले सन् २०१९ मा पुन : यस पुस्तिकाको पुन विस्तृत मुद्रण गरेछ ।

‘नेशनल जियोग्राफी’ ले निकालेको ‘न्याचुरल होमरेमेडिज’ पुस्तक पनि किनें । संसारका विभिन्न देशमा भएका वनस्पतिहरुको चिकित्सकीय महत्वका बारेमा लेखेको यो किताब पढेपछि मलाई लाग्यो हाम्रा पूूर्खाहरुलाई यसरी वनस्पतिको विज्ञानको ज्ञान नभए पनि तिनै वनस्पतिलाई जीवनमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान त रहेछ । त्यो किताबमा लेखेको कतिपय वनस्पतिलाई अहिले त क्याप्सुल बनाएर पनि बेचिन्छ ।

अदुवाले वाकवाकी रोक्ने काम पनि गर्छ । गर्भवती महिलाई एक टुक्रा अदुवा मुखमा हालिराख्न सल्लाह दिइन्छ । लामो यात्रामा जाँदा त म केही टुक्रा अदुवा त सँगै लैजान्छ ।

केही वैज्ञानिक अध्ययनले देखाएका पनि छन् कि क्यान्सरको बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ, अदुवाले त्यो वाकवाक केही कम गर्न सक्छ ।

हामीले बिहान उठ्नेबित्तिकै पिउने चियाको इतिहास र महत्वको बारेमा प्राय वास्ता गरिन्न । चिया चाइनामा ५,००० वर्षअघि आविस्कार भएको थियो भन्ने किवंदन्ती पनि छ । यी किताबमा लेखिएअनुसार १२०० शताब्दीमा चिया जापानमा फैलियो अनि १६०० शताब्दीमा युरोपमा चिया आयो ।

नेपालमा चिया प्रायः दूधमा पकाएर खाइन्छ । युरोपमाचाहिँ दूध नहालेर खाइन्छ । चियाको गुणलाई बुझेर होला, चियापत्तीसमेत अहिले क्याप्सुलमा बन्छ ।

परम्परागत ज्ञानमा बेसारको प्रयोगले स्वास्थ्यमा धेरै टेवा पुर्‍याउँछ । रोगसँग लड्न क्षमता प्रदान गर्छ भन्ने पनि ज्ञान दिएको छ । बेसार, मरिचको र टिमुरका बारेमा वैज्ञानिक अनुसन्धान पनि भएकोले तिनको हँसी उडाउनुपर्ने जरुरत छैन । ‘टिमुरले रोगसँग लड्ने शक्ति दिन्छ, लेक लाग्नबाट रोक्छ’ भन्ने परम्परागत ज्ञानलाई अहिले विज्ञानले सिद्ध गरेको छ । पूर्खाको विश्वासलाई त विज्ञानले मानेछ ।

विश्व स्वास्थ्य संघले पनि परम्परागत ज्ञानको महत्व स्वीकार गरेर बालबालिकालाई खोकी लाग्दा मह र अदुवाको रस दिन सकिन्छ र साधारण समस्यामा घरेलु औषधिद्वारा नै ठीक पार्न सकिन्छ भनेर स्वीकार पनि गरेको छ ।

पुदिनाका बारेमा पनि यसमा छ । मैले अहिले यसको प्रयोग झन् गर्छु । पुदिना जाडो र गर्मी दुवैमा काम लाग्छ । पुदिनाको अचारले खानाको स्वादलाई झनै बढाइदिन्छ । पुदिनाको क्याप्सुल पनि बनाएर बेचिन्छ । पुदिनामा रोगसँग लड्ने शक्ति हुन्छ भनेर नै हाम्रा पूर्खाहरूले पुदिनाको सर्बत र अचारको त पहिलेदेखि नै प्रयोग गरेका हुन् ।

केवल आधुनिक औषधि अस्पताल र डाक्टरहरूले मात्र स्वास्थ्य राम्रो पार्न भूमिका खेल्ने होइन, परम्परागत ज्ञान, जस्तो– तेल लगाउनु सुत्केरी र बालबालिकाको स्वास्थ्य राम्रो पार्ने उपाय हुन् । विदेशमा ‘मसाज’ भनेर धेरै पैसा तिर्नुपर्छ, हामीकहाँ हजुरआमाले मालिस गर्दा अपहेलना हुन्छ । यस्ता सामान्य कुराबाट पनि थाहा हुन्छ कि पूर्खाको प्रत्येक ज्ञानलाई हँसीको पात्र बनाउनुपर्दैन ।

त्यसैगरी, महिला स्वास्थ्यका लागि उत्तम केही प्राकृतिक औषधिहरुका बारेमा पनि परम्परागत ज्ञान प्रयोग गरिन्छ । तर, त्यसको वैज्ञानिक महत्वचाँहि के छ भन्ने विचार नै गरेका रहेन छौं । भटमास, दहीले महिलाहरुको स्वास्थ्यमा योगदान पुर्‍याउँछ भनेर यसलाई दैनिक भोजनमा प्रयोग गर्नुपर्छ यो किताबले सिकाउँछ ।

अहिले विज्ञानले भन्छ, भटमासमा प्रोटिन हुन्छ । गर्भवती, सुत्केरी सबैलाई फाइदा पुर्‍याउँछ भने महिनावारी रोकिएका वा रोकिन लागेका महिलाहरुका लागि भटमासमा रहेको विशेष तत्वले फाइदा गर्छ भनेर अध्ययनले पुष्टि गरेको छ ।

यी किताबहरूमा प्रत्येक लेखको अन्तमा, त्यो वस्तुको वैज्ञानिक नाम पनि दिएको हुनाले कसैले यस्ता फलफूल र मसलाका बारेमा जान्न चाहे भने यसका बारेमा बढी जानकारी सहजै लिन सकिन्छ ।

‘भोजन नै औषधि हो, औषधि त भोजन नै हो’ आधुनिक चिकित्साका जन्मदाता मानिने हिप्पोक्राटासको भनाइ अहिले त झन् सान्दर्भिक हुन गएको छ । आयुर्वेदले पनि त्यही भन्छ । शायद अंग्रेजीमा भनेपछि मात्र नेपालका वैज्ञानिकले मान्ने हो कि ?

शरीरमा रोगसँग लड्ने शक्ति बढोस् भनेर हाम्रो संस्कृतिले ज्ञान दिएको छ । माघ १ गते खिचडी, तरुल, तिलको लड्डु खानु, असार १५ गते दही चिउरा खानु, अक्षय तृतियामा सातु र सर्बत पिउनु जस्ता अनेक चलनहरु यसै अस्तित्वमा आएका होइनन् । यिनका पछाडि एक ठूूलो विज्ञान छ । यसैले नै परम्परागत ज्ञानलाई सम्हालेर राख्नु पर्छ । अनुसन्धान गरेर व्यवहारमा ल्याउनुपर्छ ।

विश्व स्वास्थ्य संघले नै वरिपरिका वनस्पतिको महत्व छ भनेर सिद्ध गरेपछि अहिले कतिपय मानिसहरू अनेक वनस्पति प्रयोग गरेर स्वास्थ्य राम्रो पार्न कोशिशमा छन् ।

सिंहदरबार वैद्यखानाबाट निस्केको ‘चन्द्र निघन्टु’ नामक किताबले पनि देखाउँछ । हाम्रा वनस्पतिहरू कति गुणले भरिपूर्ण छन् । सिंहदरबार बैद्यखानाबाट प्रकाशित भएको यो ग्रन्थ नेपालको ज्ञान भण्डार हो । यो ज्ञानलाई यदि विदेशीले लगेर अंग्रेजी, फ्रेञ्च र जर्मनी भाषामा प्रकाशित गरे र नेपालमा हामीलाई विदेशीले आएर पढाए भने हामी दंग पर्छौं ।

शायद पहिले–पहिले गाउँघरमा ‘निमको पातले नुहायो भने छालाको घाउ निको हुन्छ’ भन्दा मैले पहिले के वाहियातपूर्ण कुुरा गरेको होला भन्ने ठान्थें ।

भारतकी डा. बन्दना शिवाले ‘निम’ को बारेमा अध्ययन गरेर निकालेको किताब पढेपछि म निमलाई धेरै प्रयोग गर्छु । महिला स्वयंसेविकालाई निम र तितेपातीको प्रयोग गरेर महिलाको प्रजनन् स्वास्थ्य कसरी सुधार्ने भनेर तालिम दिन्छु । तितेपातीको तेल रु. ३० हजार लिटर पर्छ भनेपछि मात्र गाउँलेहरूले यसको महत्व बुझ्न थालेको भान भएको छ मलाई ।

अहिले म त मीठा निम र निम त दिनदिनै खान्छु । बेसार, मरिच, गुर्जो, दालचिनी, मुङग्रेलो, जेठी मधुको धुलो, यसले मलाई रोगसँग लड्ने शक्ति दिएको छ भन्ने म विश्वास गर्छु ।

परम्परागत ज्ञानलाई महत्व दिएर जीवनमा पनि प्रयोग गर्नुको अर्र्थ आधुनिक चिकित्सा विज्ञानलाई नकार्नु चाँहि पक्कै होइन । परम्परागत ज्ञान, वरिपरि भएका वनस्पतिहरुको उचित प्रयोग, आधुुनिक चिकित्सा विज्ञानको विवेकशील प्रयोग हुुनुुपर्छ भन्ने विचारसँग चाँहि म अहिले नजिक भएकी छु । नेशनल जियोग्राफी र सिंहदरबार वैद्यखानाबाट निस्केका किताबहरु पढ्दा मलाई ज्ञान भयो कि विभिन्न फूूल र पात वनस्पति, जसलाई हामी केवल सौन्दर्यको दृष्टिले हेर्छौं, सजाउँछौं । ती वनस्पति त ‘स्वास्थ प्रदान गर्ने’ पोको पो रहेछन् ।

हाम्रो खानाले हामीलाई रोगसँग लड्ने शक्ति दिन्छन् । क्षयरोगको किटाणु वातावरणमा जताततै हुन्छ । तर, जसको रोगसँग लड्ने शक्ति कम हुन्छ, उचाहिँ बिरामी बन्छ । क्षयरोगको आधुनिक औषधिको प्रयोगसँगै पौष्टिक खानाको प्रयोग गरेर म आफैं पनि ३६ वर्ष अगाडि रोगमुक्त भएकी थिएँ । मलाई उपचार गर्ने डाक्टर र नर्सले भनेका थिए, ‘तिमीले औषधीसँगै स्वस्थ्यकर खाना खाइनौ भने तिम्रो रोगसँग लड्ने शक्ति कम हुन्छ र फेरि रोग दोहोरिन्छ कि ?’

यी शब्दले मलाई जीवनमा पोषणको महत्व बुझाए ।

तर, यति भन्दाभन्दै पनि मलाई पुनः क्षयरोग भयो भने क्षयरोग विरुद्धको औषधी त प्रयोग गर्ने नै छु । मेरो खुट्टा भाँचियो भने आधुनिक उपचार गर्नेछु । तर, स्वस्थकर खाना पनि खानेछु ।

आफ्ना वरिपरि भएका वनस्पतिलाई बेवास्ता र अपमान गरेर विदेशी भाषामा लेखेको ‘वैज्ञानिक’ कुरामा मात्र विश्वास गर्ने चलन हटाउन हाम्रा आयुर्वेदिक डाक्टरले कहिले बोल्लान् ? कहिले आधुनिक चिकित्सा पद्धति, आयुर्वेद र परम्परागत ज्ञानसँगै काम गर्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment