Comments Add Comment
सरकारी अस्पतालमा भेटिएका संक्रमतिको कथा :

हेल्लो सरकार ! यी बिरामी विपन्न कि सम्पन्न ?

४ कात्तिक, काठमाडौं । नेपालगञ्जकी विष्णु थापाले वीर अस्पतालको कार्डियोलोजी विभागमा रहेको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित श्रीमानको अनुहार पाँच दिनदेखि हेर्न पाएकी छैनन् ।

थापाको दैनिकी पछिल्लो एक सातादेखि भुइँतलामा राखिएको बेञ्चमै बित्ने गरेको छ । साथमा छोरी पनि छिन् । कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत उनीहरुका अभिभावक मृगौला रोगीसमेत हुन् ।

विष्णु घरि यताउति डुल्न पुग्छिन् त घरि भर्‍याङबाट तल झरिरहेका चिकित्सकले आफ्ना पतिको केही खबर ल्याए कि भनेर जिज्ञासु नजरले हेर्छिन् ।

कोरोना संक्रमित ५९ वर्षीय पति र पिताको शीघ्र स्वास्थ्यलाभको कामना गर्नेबाहेक आमाछोरीसँग अरू केही विकल्प छैन ।

मंगलबार बिहानै वीर अस्पतालका चिकित्सकले विष्णुलाई औषधिको लिष्ट थमाए । सरकारले विपन्नबाहेक अन्य कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने घोषणा गरिसकेको छ ।

थापा परिवार विपन्न हो होइन, परिभाषा गर्न गाह्रो छ । उपचारका क्रममा उनीहरुसँग भएको पैसा लगभग सकिएको छ । विष्णु भन्छिन्, ‘कमाउने मान्छे एक सातादेखि अस्पतालमै हुनुहुन्छ । हामीसँग पैसा पनि कहाँबाट आओस् ?’

विष्णुले मलिन स्वरमा थपिन्, ‘केही दिन त औषधिको लिस्ट दिने गरेका थिएनन्, अब सुरु भयो ।’

थापा कोरोना संक्रमित भएपछि उनलाई आवश्यक सबै औषधिको खर्च सरकारले नै व्यहोरेको थियो । श्रीमानको अवस्था के होला भन्ने चिन्ता लागे पनि विष्णुलाई सरकारले गराएको निःशुल्क उपचारले ठूलो राहत महसुस भएको थियो ।

तर, अकस्मात मंगलबार बिहान चिकित्सकले औषधिको लामो लिस्ट थमाए । पैसा तिरेर औषधि किन्न भने । विष्णु भन्छिन्, ‘एक्कासी १० हजारको औषधिचाहिँ हामीलाई किन्न पठाएपछि अचम्म पनि लागेको छ ।’

१७ वर्षअघि नेपालगञ्जबाट काठमाडौं आएका ५९ वर्षीय थापाले केही वर्षको नोकरीपछि काठमाडौंको ग्रिनल्याण्डमा बेकरीका सामान बेच्ने पसल सुरु गरे । त्यतिबेला विष्णु र कुमारका एउटै मात्र सन्तान थिए । सुरुका केही वर्ष त उनीहरूलाई आवश्यक खर्च धान्नै ठीक थियो । बिस्तारै बेकरीमा सामान थपिँदै गयो । अहिले जेनतेन दुई सन्तानसहित आफू पालिएर केही पैसा बचत गर्न सक्ने भएका थिए ।

तर, २०७६ सालको वैशाख महिनामा उनीहरूको परिवार गम्भीर संकटमा गुजि्रन पुग्यो । अनुहारमा चिड्चिडाहट पसिना र शरीरमा उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका थापाको स्वास्थ्य परीक्षण भयो र अन्त्यमा रिपोर्ट आयो, दुवै मृगौला फेल ।

थापा छाँगाबाट खसेजस्तै भए । श्रीमती विष्णु आफू शान्त स्वभावको भए पनि हिम्मतिली थिइन् । उनले नै पतिलाई सम्झाएर मनोवैज्ञानिक उपचार दिएकी थिइन् । उनी सम्झन्छिन् ‘यसै त डराउने मान्छे हुनुहुन्थ्यो, दुबै मृगौला फेल भएको रिपोर्टपछि उहाँमा एकाएक बेचैनी बढेर गयो ।’

त्यतिबेला थापालाई आईसीयूमा नै उपचार गरेर राख्नु परेको थियो । जसमा केही जम्मा गरेको पैसा पनि सकियो ।

बीचका केही महिना उनीहरूको परिवार पीडामा नै बित्यो । २०७७ साल असार महिनादेखि थापाले नियमित डायलासिस गराउँदै आएका छन् ।

पछिल्लो केही महिनादेखि काठमाडौंमा कोरोनाको महामारी बढ्दै थियो । दुबै मृगौलाले काम नगरे पनि थापा गुजाराका लागि आफ्नो व्यवसायमा सकि्रय थिए । तर, हरेक समयमा सावधानी भने अपनाउने गरेको विष्णु बताउँछिन् । तर, कहिले के भयो कुन्नि । गत मंगलबारदेखि उनलाई ज्वरो आउने र ज्यान दुख्ने समस्याले सताउन थाल्यो ।

कोरोनाको लक्षण मिलेपछि परिवारले झट्टै शंका गरिहाले । उनलाई रातारात वीर अस्पताल ल्याइयो । राति १० बजे वीर अस्पतालको आपतकालीन कक्षमा उपचार सुरु गरेका उनलाई भोलिपल्टै कोरोना परीक्षण गरेर अस्पताल भर्ना गरियो । शुक्रबार रिपोर्ट आयो, पोजेटिभ ।

शुक्रबारसम्म नियमित देखादेखसम्म भएका श्रीमान् शुक्रबारदेखि आइसोलेसनमा गए । ‘हामी मंगलबारदेखि यहीँ कुर्सी र यही प्राङ्गणमा छौं,’ विष्णु भन्छिन्, ‘शुक्रबारसम्म औषधिको पैसा खोजिनिति गरेर पनि तिरेका थियौं । कोरोना संक्रमित भएपछि औषधिको पैसा तिर्नुपरेको थिएन, तर आजबाट फेरि औषधि आफैंले किन्नू भनेका छन् । पैसा कहाँबाट ल्याउने, थाहा छैन ।’

भोजपुर घर भएका काजी राई पनि असोज २९ गते कोरोना संक्रमित भएर वीर अस्पतालस्थित आइसोलेसनमा छन् । आइसोलेसन सेन्टरको भुइँतलामा उनकी बुहारी लिना भेटिइन् ।

सात वर्षअघि भोजपुरबाट काठमाडौं आएका राई पेन्टिङको काम गर्छन् । ३९ वर्षीय राईको विवाह भएको छैन । उनलाई भाइ र बुहारी कुर्न आउने गर्छन् ।

‘उभिँदाउभिँदै एक्कासी ढल्ने समस्या भएपछि टाउकोको अप्रेसन गर्न आएका थियौं’ लिनाले अनलाइनखबरसँग भनिन् ‘अप्रेसन गरेको तेस्रो दिन कोरोना पोजिटिभ आयो । खल्तीमा पैसा छैन । अब सरकारले पनि हात उठाउने हो भने बिरामीलाई कसरी बचाउने ?’

सरकारले तिर् भने पनि तिर्न सक्ने अवस्था आफूहरूको नभएको लिना बताउँछिन् । उनी भन्छिन् ‘दबाब दिएर पनि के गर्ने हो र ? खर्च ल्याउन सक्ने अवस्था भए पो ल्याउनु । सरकारले भने पनि खर्च गर्न सक्ने अवस्था छैन ।’

अहिले विभिन्न सरकारी अस्पतालको आइसोलेसनमा बसेका बिरामीहरूलाई सरकारी निर्णयसँगै आवश्यक पर्ने औषधि र अन्य खर्च आफैँ व्यहोर्न सरकारी अस्पतालले उर्दी जारी गरिसकेका छन् ।

धनगढी स्थायी घर भई हाल भक्तपुर बस्ने राजेश सिंह आफ्ना भाइ दुर्घटनामा परेपछि उपचार गराउन जाँदा कोरोना संक्रमण पुष्टि भयो । त्रिवि शिक्षण अस्पतालको आइसोलेसन बाहिर भाइको उपचार कुरेर बसेका सिंहले सोमबार बेलुका अस्पतालका सबै कोरोना संक्रमितलाई अब सरकारले संक्रमितको उपचार नगर्ने भएकाले खर्चको जोहो गर्न उर्दी जारी गरिसकेको छ ।

कात्तिक २ गते सरकारको कोरोना संक्रमितको नियमित अपडेटको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अब अग्रपङ्तिमा खटिएका र केही अन्यबाहेक अरूले कोरोनाको उपचार आफैँ गर्नुपर्ने बताएका थिए ।

नेपालको संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षा र स्वास्थ्य सम्बन्धी हक एवं सर्वाेच्च अदालतको आदेश विपरीतसमेत हुने गरी सरकारले गरेको निर्णयको सर्वत्र विरोध भइरहेको छ । निम्न आर्थिक अवस्था भएका बिरामीहरू अस्पतालको शय्याबाटै पैसा जुटाउनुपर्ने मानसिक दबावमा पर्न थालेका छन् । तर, सरकारी निर्णयबमोजिम अस्पतालहरूले भने कोरोना भाइरस संक्रमितहरूसँग पैसा माग्न थालिसकेको छ ।

त्रिवि शिक्षण अस्पतालले पनि सरकारी निर्णय अनुसार कोरोना संक्रमितलाई पाँच दिनको उपचार खर्च जम्मा गर्न लगाउने निर्णय भएको बताएको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले सोमबार अनलाइनखबरसँगको कुराकानीमा अस्पताल प्रशासनको बैठकले ५ दिनको उपचार खर्च जम्मा गर्न लगाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

सो निर्णयअनुसार सामान्य लक्षण भएकाहरूले हरेक दिन ३५ सय, मध्यम लक्षण भएकाहरूले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले प्रतिदिन १५ हजारको दरमा पैसा जम्मा गर्नुपर्ने निर्णय अस्पताल प्रशासनले गरेको उनले बताएका छन् । यो पैसामा खानाको शुल्क जोडिएको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment