+

थाइराइड कम हुने रोगका लक्षणहरू

२०७७ कात्तिक  ६ गते १३:३४ २०७७ कात्तिक ६ गते १३:३४
Shares
थाइराइड कम हुने रोगका लक्षणहरू

थाइराइड एक प्रकारको अन्तश्रावी हार्मोन हो । यस हार्माेनको उत्पादन थाइराइड ग्रन्थीले गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको अग्र एवं तल्लो भागमा रहेको रूद्रघण्टीभन्दा केही तल रहेको हुन्छ । यस ग्रन्थीले ट्राइआयडोथाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४) र थाइरोक्याल्सिटोनिन नामक हार्माेनको उत्पादन गर्छ । यी तीन हार्माेनहरूमध्ये ट्राइआयडो थाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४)लाई चलनचल्तीमा थाइराइड हार्माेन भनिन्छ ।

यी दुई हार्मोनहरूमध्ये उत्पादन हुँदा ९०% टी४ र १०% टी३ भए पनि क्रियात्मक रूपले टी३ सक्रिय हार्माेन हो । यी हार्माेनहरूले मुख्यतः कोषको न्युलियसमा गई धेरै प्रकारका जिनहरूलाई उत्प्रेरित गरी धेरै प्रकारका संरचनात्मक एवं क्रियात्मक प्रोटिन एवं इञ्जायमहरू बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । यसर्थ थाइराइड व्यापक कार्यक्षेत्र भएको हार्माेन हो । यसले शरीरका विभिन्न मेटाबोलिक क्रियाहरूलाई नियन्त्रण गर्नेगर्छ ।

के हो थाइराइड कम हुने रोग ?

शरीरमा विभिन्न किसिमका उपापचयी क्रियाहरूको नियन्त्रण देखि जिनहरूको प्रकटीकरणलाई प्रत्यक्ष एवं परोक्ष प्रभाव पार्ने थाइराइड हार्मोन अत्यन्त महत्वपूर्ण रसायन हो । विशेषगरी थाइराइड हार्मोनले शरीरको उपापचयी क्रियालाई नियन्त्रण गर्दछ । यसो हुँदा शरीरको आधारभूत उपापचयी दर पनि प्रभावित हुन्छ । यसका अलावा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लोको उपपाचनमा पनि थाइराइड ग्रन्थीले असर पु¥याउँदछ । शरीरको वृद्धि, विकास र तौल नियन्त्रणमा पनि थाइराइड हार्मोनले भूमिका खेल्छ । मष्तिस्क एवं स्नायुतन्तु विकसित हुन पनि थाइराइड हार्माेन चाहिन्छ ।

डा. हेमराज कोइराला

कोषहरूले ग्लुकोज ग्रहण गर्ने क्षमतालाई पनि थाइराइड हार्माेनले प्रभावित गर्छ । यसैगरी पाचन अवशोषण र मल निष्काशनदेखि मूत्र निर्माणमा पनि थाइराइड हार्माेनको सहायता पर्छ । मुटुको गति, संकुचनशीलता, नशाहरूको कडकता, रक्तचाप एवं हृदयको चालको ताललाई नियन्त्रण गर्न पनि पर्याप्त थाइराइड हार्मोन चाहिन्छ भने श्वासन दर अक्सिजन सन्तृप्ति दर र रक्तसञ्चारलाई पनि यो हार्मोनले प्रभावित गर्छ ।

यसैगरी शरीरको वृद्धि विकास, मष्तिस्कको वृद्धि विकास, यौन चाहना र क्षमता, मासिक धर्मको समस्या आउन नदिन पनि यो हार्मोनको आवश्यकता पर्छ । शरीरमा थाइराइड हार्माेन युक्त मात्राले यसको उपरोक्त सम्पूर्ण कार्यहरू जारी राख्छ भने अति या अल्पमात्राले सबै क्रियाकलाप गडबड गराउँछ । थाइराइड बढेर शरीरमा यस हार्माेनको अतिमात्रा भएको स्थितिलाई हामी हाइपर थाइराइडिजम भन्दछौं भने थाइराइड घटेर अल्पमात्रा भएको स्थितिलाई हाइपोथाइराइडिजम भन्दछौं ।

हाइपोथाइराइडिजमका लक्षणहरूः

१. तौल बढ्नेः

हाइपोथाइराइडिजम हुँदा अप्रत्यासित रूपले तौल बढ्ने गर्छ । यसो हुनुको केही कारणहरू छन् । पहिलो कारण हो थाइराइडको कमीले गर्दा व्यक्तिको आधारभूत उपापचयी दर (बेसिक मेटाबोलिक रेट) कम हुँदा जीवन धान्नका लागि कम ऊर्जाको आवश्यकता भएर बोसो पग्लने क्रिया नै कम हुन्छ । हाइपोथाइराइडिजम हुँदा तौल बढ्नुको अर्को कारण यो रोग लाग्दा ज्यादा थकाइ लाग्ने, अल्छी लाग्ने र जिउ दुख्ने हुँदा रोगीको शारीरिक सक्रियता पनि घट्ने हुँदा तौल बढ्छ । यसका अलावा हाइपोथाइराइडिजमका रोगीको मांशपेशी, कलेजो र बोसे तन्तुलाई धेरै ऊर्जा सञ्चयका लागि सूचित गरिन्छ भने धेरै खान र कम ऊर्जा खर्च गर्न पनि शरीरलाई सूचित गरिन्छ । फलतः बोसो लाग्ने र तौल बढ्ने क्रिया हुन्छ ।

२. थकाइ लाग्नेः

थकाइ लाग्नु हाइपोथाइराइडिजमको आधारभूत लक्षण हो । यसो हुनुको मुख्य कारण थाइराइड हार्मोनको कमीले गर्दा शरीर ऊर्जा एवं मेटाबोलिजममा आएको ढिलासुस्तीले गर्दा हो । शरीर ऊर्जा एवं स्फूर्तिका लागि युक्त मात्रामा थाइराइडको उत्सर्जन हुनु जरूरी हुन्छ । तर हाइपोथाइराइडिजमको स्थितिमा हार्माेनको कमीले ऊर्जा उत्पादनमा कमी आउँछ र थकाइ लागि रहन्छ ।

३. चिसोको अनुभूतिः

हाइपोथाइराइडिजमले हाम्रो बेसल मेटाबोलिक रेट नै कम गरिदिन्छ । यसो हुँदा हाम्रो शरीरले उत्पादन गर्ने ऊर्जामा कमी आउँछ र ठन्डी लागेको अनुभव हुन्छ । यसका अलावा थाइराइड कम हुँदा शारीरिक ताप उत्पादन गर्न चाहिने खैरो बोसे तन्तु (ब्राउन एडीपोज टिस्यु) सक्रिय हुन नसक्ने हुँदा ताप कम उत्पादन भई चिसो लागिरहन्छ ।

४. कमजोरीः

थाइराइड हार्माेनको कमी हुँदा शरीरमा उपापचयी क्रियाकलाप रोकिएर अपचयी क्रियाकलाप बढ्छ । अपचयी क्रियाकलाप बढ्दा शरीरका मांशपेशीहरूको क्षय हुन्छ र कमजोरी महसुस हुन्छ ।

५. जिउ दुख्नेः

हाइपोथाइडिजम हुँदा शरीरमा अपचयी क्रियाकलाप बढ्ने हुँदा मंशपेशी एवं कोमल संयोजक तन्तुहरूको क्षय हुने भएकाले जिउ दुख्ने, पोल्ने, कामै नगर्दा पनि हातगोडा बाउँडिने गर्छ ।

६. कपाल खस्नेः

कपाल बनाउने स्टिम कोषहरूको वृद्धि विकास एवं स्वास्थ्यका लागि थाइराइड हार्माेन अतिआवश्यक तत्व हो । हाइपोथाइराइडिजम हुँदा थाइराइड हार्माेनको कमीले स्टिम कोषहरूको वृद्धि एवं विकास भएर कोष बन्ने क्रिया अवरूद्ध हुन जान्छ । यसर्थ पर्याप्त कपाल बन्न पाउँदैन र कपाल पातलिँदै जाने र झर्ने गर्छ ।

७. छाला सुख्खा हुने र चिलाउनेः

छालाका कोषहरू पनि चाँडो चाँडै पुनर्जनन् कोषहरूमा पर्छन् र यी कोषहरूको पुनर्जनन्मा थाइराइड हार्माेनको सूचनात्मक सम्प्रेषणको महत्वपूर्ण भूमिका हुन्छ । हाइपोथाइराइडिजम हुँदा छालाका कोषहरूलाई पुनर्जननको पर्याप्त सूचना सम्प्रेषण हुन नसक्दा छाला सुख्खा हुने र काचुली बदलिरहन्छ ।

८. उदासीनताः

थाइराइड हार्माेन स्नायु कोषहरूको वृद्धि, विकास एवं सुरू क्रियाका लागि अतिआवश्यक हार्माेन हो । थाइराइड हार्माेनको कमी हुँदा स्नायुकोषहरूले कार्य गर्न नसक्ने हुँदा डर, चिन्ता भय एवं उदासीनताका लक्षणहरू देखिन्छन । निरासा बढ्नुको अर्को कारण थाइराइड कमी हुँदा शारीरिक ऊर्जा कम हुने हुँदा यसले नैराश्यता पैदा गर्छ ।

 ९. मानसिक सुस्तीः

हाइपोथाइराइडिजम हुँदा एकाग्रता, ध्यान, लय, अभिमुखता, स्मृति, भावुकता, स्वप्न, निन्द्रा र बोली जस्ता मस्तिष्कका विशिष्ट क्रियाकलापहरूमा ढिला सुस्ती देखापर्छ । थाइराइड घट्दा किन यसो हुन्छ भन्ने कुरा त्यत्ति धेरै स्पष्ट हुन नसके पनि स्नायुकोषहरूको उत्कृष्ट क्रियाकलापका लागि चाहिने थाइराइड हार्माेनको युक्तमात्रामा पूर्ति हुन नसक्दा यसो भएको हो भन्ने अनुमान लगाइएको छ । यसैगरी थाइराइड कम भएकाहरूलाई स–साना गणित गणना गर्न एवं चाँडो जुक्ति लगाउनमा पनि कठिनाइ हुन सक्छ ।

१०. रक्त चिल्लो (कोलेस्टेरोल) को गडबडीः

पूर्णरूपले प्रकट नभइसकेको र प्रकट भइसकेको दुवै हाइपोथाइराइडिजममा  रक्त बोसोको मात्रा गडबड हुन्छ । रक्त बोसोको संश्लेषण, उपापचय एवं स्थानान्तरण आदिको लागि थाइराइड हार्माेनको आवश्यकता पर्दछ । तर थाइराइडको कमी हुँदा यो नियन्त्रण गुम्ने हुँदा रक्त चिल्लोको गडबडी जस्तोः कुल रक्त कोलेस्टेरोलको मात्रा बढ्ने, निम्न घनत्वको लिपोप्रोटिन बढ्ने, उच्च घनत्वको लिपोप्रोटिनको मात्रा घट्ने, अपोलिपोप्रोटिनको बीको मात्रा बढ्ने र टाइग्लिसराइडको मात्रा पनि बढ्ने जस्ता लक्षणहरू देखिन्छन ।

११. अनियमित एवं उच्चश्रावी मासिक धर्मः

नियमित मासिक धर्म हुनका लागि थाइराइड हार्माेनको जरूरत पर्छ । थाइराइड कम हुँदा ओभेरियन फोलिकलहरूको वृद्धि बद्र्धन एवं विकासमा नै सुस्तता हुने भएकाले यसो हुने गर्छ ।

१२. अनुहार फुल्ने, हातगोडा सुन्निनेः

जटील किसिमको हाइपोथाइराइडिजमको स्थितिमा देखा पर्ने शरीर सोथलाई मिक्सएडीमा भनिन्छ । मिक्सएडीमा हुँदा ओठ, मुख, आँखीभौं, जिब्रो, हातगोडा अझ भन्नुपर्दा छाला भएको क्षेत्र सुन्निने गर्छ । हाइपोथाइराइजिमको भएर सुन्निएको ठाउँमा औंला गाड्दा डाम बस्दैन । यसो हुनुको मुख्य कारण थाइराइडको कमीले छालामा म्युकोपोलिस्याकेरोइडको सञ्चय हुनु र म्युकोपोलिस्याकेरोइडले पानी आकर्षित गरी सुन्निनु हो । मिक्सएडीमाको समस्या कहिलेकाहीँ अत्यन्त खतरनाक भई मान्छे अचेत पनि हुन सक्छ जसलाई मिक्सएडिमा क्राइसिस भनिन्छ।

१३. स्वर खासिनेः

हाइपोथाइराइडिजमको स्थितिमा व्यक्तिको स्वर प्रकृतिमा बदलाव आउँछ र स्वर खासिन्छ । स्वर किन खासिन्छ भनेर कुनै विशेष कारण पत्ता नलागे पनि वैज्ञानिकहरू स्वर यन्त्रका मांशपेशी र स्नायुहरू थाइराइड हार्माेनको कमीको अवस्थामा चुसस्ततापूर्वक क्रियाशील हुन नसक्ने हुँदा स्वर खादिन्छ भन्छन् ।

१४. कब्जियतः

कब्जियत भएका सबै मान्छेलाई हाइपोथाइराइडिजम नहुन सक्छ तर हाइपोथाइराइडिजमका अन्य लक्षणहरूसँगै कब्जियत पनि छ भने योचाहिँ हाइपोथाइराइडिजमकै कारणले हो । हाइपोथाइराइडिजम हुँदा आन्द्राहरूको चाल पनि सुस्त हुने हुँदा कब्जियत देखापर्छ ।

१५. हृदयगति घट्नेः

थाइराइड हार्माेनले मुटुको संकुचनशीलता, नशाहरूको कडकता, रक्तचाप एवं हृदयको ताललाई नियन्त्रण गर्छ । थाइराइड हार्माेनको कमी हुँदा यी सबै क्रियाकलापमा सुस्तता आउँछ र त्यसमा पनि हृदय गति घट्छ ।

१६. गलगाड आउनेः

हाइपोथाइराइडिजम हुँदा थाइराइड स्टिमुलेटिङ्ग हार्माेनको रक्तस्तर बढ्छ । थाइराइड स्टिमुलेटिङ्ग हार्माेनले थाइराइड ग्रन्थीलाई उत्तेजित गरी धेरै थाइराइड हार्माेन उत्पादन गर्न थाइराइड कोषहरूको वृद्धि गर्ने गर्छ । यो क्रिया लामो समयसम्म भइरहेमा गलगाड आउँदछ ।

१७. बाँझोपनः

हाइपोथाइराइडिजमको समस्या लामो समयसम्म रहिरहेमा वा समस्या जटिल हुँदै गएमा बाझोपनको समस्या देखा पर्छ ।

१८. जोर्नीहरू जाम हुने, दुख्ने र सुन्निनेः

थाइराइड भएकाहरूको जोर्नीहरू दुख्ने पोल्ने सुन्निने र जाम हुने पनि गर्छ ।

लेखक भरतपुर– १ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

 

थाइराइड
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय