Comments Add Comment

दसैंको मुख्य सुरक्षा चुनौती : हेट क्राइम र चोरी

प्रहरी भन्छ : दसैंको मुखमा तलब पाएनौं भन्दै उजुरी आए

८ कात्तिक, काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको महामारीबीच मनाइँदै गरेको दसैं पर्वमा घृणाजन्य अपराध (हेट क्राइम) र चोरी मुख्य सुरक्षा चुनौती रहेको प्रहरीले विश्लेषण गरेको छ ।

कोरोना भाइरसको संक्रमण दर बढ्दो अवस्थामा रहेका बेला विभिन्न ठाउँबाट गाउँ जाने व्यक्तिलाई घृणाको भावले हेर्ने, कुटपिट र बहिस्कार गर्नेसम्मका घटना हुनसक्ने प्रहरीले विश्लेषण गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख दीपककुमार थापा भन्छन्, ‘कसैलाई यसको कोभिड–१९ पोजेटिभ छ भनेर हेयको दृष्टिले हेर्ने कार्य गरिनसक्छन्, यसतर्फ प्रहरी सजग छ ।’ उनका अनुसार दसैंको समयमा टिका लगाउन जाँदा पनि सामाजिक वैमनश्यता फैलाउन किसिमका गतिविधि पनि हुनसक्छन् ।

योसँगै दसैंमा चोरीसमेत बढी हुनसक्ने प्रहरीको विश्लेषण छ । लकडाउनपछि आमनागरिक बेरोजगार भएपछि लुटपाट र चोरी बढेको छ । चाडवाडको समयमा यसले थप बढावा पाउन सक्ने अधिकृतहरु बताउँछन् ।

‘निको भएर फर्किसकेका व्यक्तिलाई पनि घरै संक्रमित छ भनेर हेला गरिनसक्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापा नागरिकलाई सुझाव दिँदै भन्छन्, ‘कुनै पनि बाहनामा एक अर्काबीचको भाइचारा खल्बलिन नदिनु होला । अन्यथा, प्रहरीले कानुन कार्यान्वयन गर्ने कार्यमा कुनै मोलाहिजा गर्दैन ।’

योसँगै दसैंमा चोरीसमेत बढी हुनसक्ने प्रहरीको विश्लेषण छ । लकडाउनपछि आमनागरिक बेरोजगार भएपछि लुटपाट र चोरी बढेको छ । चाडवाडको समयमा यसले थप बढावा पाउन सक्ने अधिकृतहरु बताउँछन् ।

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीका अनुसार दसैं मनाउन आमनागरिक विभिन्न जिल्ला जाने हुँदा चोरी र लुटपाटको घटना बढ्न सक्छन् । त्यसलाई लक्षित गरेर शान्त क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको उनी बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार ११ चैतमा गरिएको लकडाउनपछि मात्रै चोरी सम्बन्धी एक हजार १०२ वटा उजुरी प्राप्त भएका छन् । यो प्रहरी कन्ट्रोल १०० मा काठमाडौं, भक्तपुर र ललितपुरबाट दर्ता भएको उजुरी हो ।

आर्थिक विवादले जघन्य अपराध नित्याउने खतरा

काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ज्ञवालीका अनुसार दसैंको सुरुवाती दिनमा प्रहरीमा तलब नपाएको भन्दै गुनासो गर्ने क्रम पनि देखिएको छ । साथै, लेनदेन सम्बन्धी विवादका उजुरी पनि आएका छन् ।

‘लामो समयदेखि पैसा लिनुपर्ने विषय दसैंको समयमा प्रहरीसम्म आएका छन्’, उनी भन्छन् ।

अपराध महाशाखाका एसएसपी थापा भने दसैंका समयमा रकम फिर्ता गर्छु भन्ने तर, दिन नसक्दा अप्रिय घटना भएका उदाहरण पनि छन् । त्यसलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

‘लामो समयदेखि पैसा फिर्ता नदिने अनि दसैंको समयमा दिने वाचा गरेर पनि फिर्ता नदिएपछि झैझगडा हुनसक्छ’, थापा भन्छन्, ‘यस्ता घटनाले जघन्य अपराधकै रुप पनि लिनसक्छन् ।’ उनका अनुसार दसैंमा समेत पैसा फिर्ता नआएपछि मादक पदार्थ सेवन गरेर आवेश प्रेरित हत्याका घटना समेत हुनसक्छन् ।

दसैँका बेला बेला सिकारु व्यक्तिले पनि सवारीसाधन चलाउने र सडक खाली छ भनेर तीब्र गतिमा हाँक्ने हुँदा दुर्घटना बढ्न सक्ने प्रहरीको आँकलन छ ।

विज्ञहरुका अनुसार प्रहरी कर्मचारीको संख्या पनि सडकमा कम हुने हुँदा आवेशमा प्रहरीमाथि नै दुर्व्यवहार गर्ने र कपडा च्यातिदिने जस्ता घटना पनि विगतमा भएका छन् । ‘प्रहरीको कडाइबाट आजित भएका व्यक्तिले थोरै संख्यामा सुरक्षाकर्मी देख्दा उल्टै जाइलाग्न सक्छन्’, एक प्रहरी अधिकृत भन्छन्, ‘यसतर्फ सुरक्षाकर्मीहरु पनि सचेत रहनुपर्छ ।’

हालको सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरीले जतिसक्दा धेरै बर्दीका प्रहरी परिचालन गर्नुपर्ने अधिकृतहरुको भनाइ छ । साथै, गस्ती र पेट्रोलिङलाई बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै ७ हजार ५५० जना जनशक्ति परिचालित छन् । साथै, ५४ स्थानमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ राखिएको छ ।

देशभर ४८ हजार ८ सय ३० जना प्रहरी परिचालित छन् भने २ सय ६४ वटा यात्रु सहायता कक्ष राखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार आवश्यकता अनुसार विभिन्न चेकप्वाइन्टमा कुकुर र ड्रोन पनि परिचालन गरिएको छ ।

सवारी दुर्घटनाको जोखिम

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका अनुसार दसैंको समयमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम हुनसक्छ । साथै, दसैंको समय भनेर हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा अप्रिय घटना हुनसक्छ ।

यही बेला सिकारु व्यक्तिले पनि सवारीसाधन चलाउने र सडक खाली छ भनेर तीब्र गतिमा हाँक्ने हुँदा दुर्घटना बढ्न सक्ने विश्लेषण गरिएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भन्छन्, ‘त्यसलाई लक्षित गरेर दिनमा चार पटकभन्दा बढी सरप्राइज चेकिङ गरिरहेका छौं ।’ ढकालका अनुसार चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गरिएको छ ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारीसाधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच गरिँदै आएको छ ।

ढकालका अनुसार नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था छ ।

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारिक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने पनि जनाएको छ । एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९ सय जनशक्ति परिचालन भइरहेको छ ।

चाडपर्वको समयमा अतिरिक्त थप १ सय ५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको ढकाल बताउँछन् ।

लामो दूरीका भाडाका सवारीसाधनमा दुई जना चालक अनिवार्य रुपमा भए/नभएको प्रविधिबाट निगरानी गरिएको ढकाल बताउँछन् ।

मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतिमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि सीसी टिभीमार्फत समेत निगरानी भइरहेको ढकाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment