Comments Add Comment

युरोपमा कोरोनाको दोस्रो लहर : कतै लकडाउन, कतै कर्फ्यु

१३ कात्तिक, नर्वे । युरोपका विभिन्न देशमा भोभिड १९ कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएको छ । पहिलो चरणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणा बढीले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

गत मार्च र अप्रिल महिनामा युरोपका विभिन्न मुलुकमा कोराना तीब्र गतिमा फैलिएको थियो । जून र जुलाई महिनामा भने संक्रमण दरमा भारी गिरावट आएको थियो ।

उक्त गिरावटलाई पहिलो चरण मानेर दोस्रो चरण आउन सक्ने अनुमान गरिएको थियो ।

अगष्टपछि नै संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएर पहिलो चरणको संख्या भन्दा तीन गुणा बढी दैनिक संक्रमितहरु देखा पर्न थालेका छन् । यद्यपि, संक्रमितको संख्या तीब्र गतिमा बढिरहे पनि दोस्रो चरणको मृत्युदर भने पहिलो चरणकोजस्तो उच्च छैन ।

तर, भाइरसको असर भने पहिलो चरणको भन्दा कडा रहेको अनुमान गर्दै त्यसबाट जोगिनका लागि युरोपका कतिपय मुलुकहरुले धमाधम लकडाउन र कर्फ्युसमेत घोषणा गरेका छन् । केही देशहरुले स्वास्थ्य सजगताको मापदण्डलाई कडाइपूर्व लागू गरेका छन् ।

युरोपमा संक्रमण दर उच्च रहेका देशहरु ईटाली, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, पोर्चुगल, स्वीडेन डेनमार्क, नर्वेलगायतका देशहरुमा पहिलो चरणभन्दा दोस्रो चरण भाइरस संक्रमण दर उच्च दरले वृद्धि भइरहेको देखिन्छ ।

नर्वेमा दोस्रो चरणको प्रभाव देखिन थालेको छ । यहाँ अहिलेसम्म १९ हजारमा संक्रमण पुष्टि भएको छ भने २८० जनाको मृत्यु भएको छ । यहाँको सरकारले अक्टोबर २९ तारिखबाट लागु हुने गरी सबै सार्वजनिकस्थलमा मास्कको प्रयोग अनिवार्य गरेको छ । निजि घर, पार्कमा ५ जनाभन्दा बढी भेटघाट निषेध गरेको छ ।

इटालीमा तीन गुणा बढी संक्रमण, तर मृत्युदर कम

इटालीमा पहिलो चरणको संक्रमणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणाले बढी फैलिएको छ । इटालीमा पहिलो चरणको संक्रमणको समयमा २१ मार्चका दिन ६ हजार ५ सय संक्रमित भेटिएका थिए ।

तर, अक्टुवर २८ मा सबैभन्दा बढी २४ हजार संक्रमित भेटिएका छन् । हाल दैनिक संक्रमित उक्त संख्याकै आसपासमा भेटिरहेका छन् । मृत्युदर भने पहिलेको भन्दा घटेको देखिन्छ ।

गत मार्च २७ मा इटालीमा ९२१ जनाको मृत्यु भएको थियो भने २४ अक्टोबरमा १५१ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ५ लाख ९० हजार संक्रमित छन् भने ३७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा फेरि लकडाउन

युरोपेली युनियनको अध्यक्षता गरिरहेको जर्मनीले लकडाउन गर्ने घोषणा गरेको एकघण्टा नबित्दै अर्को शक्ति मुलुक फ्रान्सका रास्ट्रपति इम्यानुएल म्याक्रोनले शुक्रबारदेखि फ्रान्समा पनि पुन लकडाउन गर्ने घोषणा गरेका छन् ।

उनले कुन–कुन क्षेत्र प्रभावित हुनेछन् भन्नेबारे खुलाएका छैनन् । तर, नर्सरी स्कुलहरु बन्द नहुने संकेत गरेका छन् । त्यस्तै काममा जानुपर्ने वा अशक्तलाई सहयोग गर्ने अवस्थाको आवाज–जावत नरोक्ने म्याक्रोनले बताएका छन् ।

जर्मनीमा नोभेम्बर २ बाट लकडाउन

जर्मनीमा आउँदो नोभेम्बर २ बाट लागु हुने गरी एक महिना लामो लकडाउन शुरु हुने भएको छ । यो लकडाउनले उग्रदरमा बढिरहेको कोरोना संक्रमणलाई लगाम लगाउने बिश्वास ब्यक्त गरिएको छ ।

यस अवधिमा रेस्टुराँ, बार पूर्णरुपमा टेक अवे सेवामा सञ्चालन गर्नु पर्ने छ । ठूला भनिएका सबै ईभेन्ट बन्द रहनेछन् । अनावश्यक आवत–जावत प्रतिबन्धित रहनेछन् । इमर्जेन्सी बाहेक होटेलमा रात्रिकालीन ग्राहक निषेध गरिएको छ । घरबाट काम गर्न मिल्ने सबै काम रिमोट सेवामा परिणत गर्नुपर्नेछ ।

दुई घरका १० जना भन्दा धेरै मानिसको जमघट प्रतिबन्ध गरिएको छ । नाट्यघर, सिनेमा हल पूर्णरुपमा बन्द रहनेछन् । स्विमिङ्ग पुल, जिम, साउना बाथ आदि बन्द रहनेछन् । स्पोर्टस इभेन्टमा सीमित व्यक्तिहरुको मात्र सहभागिता ।

किन्डरगार्डेन र स्कुल सञ्चालन हुनेछन् । पसलभित्र एक ग्राहक बराबर १० मिटर स्वायर दुरीका साथ सञ्चालन रहनुपर्ने छ । नर्सिंग होम पूर्णरुपमा सञ्चालित हुनेछन् ।

बेल्जियममा रातमा कफर्यु, बेरोजगारलाई भत्ता

युरोपमा संक्रमणदर उच्च रहेको देशमध्ये बेल्जियम पनि एक हो । करिब १ करोड १५ लाख जनसंख्या रहेको बेल्जियममा अहिलेसम्म ३ लाख ६८ हजारमा संक्रमण पुष्टि भएको छ भने ११ हजार १ सय ७० जनाको मृत्यु भएको छ ।

बेल्जियममा गत अप्रिल १५ मा सबैभन्दा बढी २४५४ मा संक्रमण पुष्टि भएको थियो भने अक्टोबर २४ मा सबैभन्दा बढी १७ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । मृत्युदर भने बेल्जियममा पनि घटदो क्रममा छ । गत अप्रिल ९ मा ३ सय २१ जनाको मत्यु भएको थियो भने अक्टोबर २४ मा ७० जनाको मृत्यु भएको छ ।

बेल्जियममा करिब २ हप्ताअघि आंशिक लकडाउन शुरु गरिएको छ । बेल्जियममा राति १० बजेदेखि बिहान ६ बजेसम्म कफर्यु जारी गरिएको छ । रेष्टुन्ट, बार लगायत सर्भिस सेन्टर पूर्णरुपमा बन्द रहेका छन् । तीनजना भन्दा बढी मानिसलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ । साँझ ८ बजे पछि मदिरा विक्रीवितरणमा रोक लगाइएको छ ।

कोरोना माहामारीका कारण बन्द भएका कम्पनीका कामदारलाई सरकारले ७० प्रतिशत बेरोजगार भत्ता उपलब्ध गराएको छ ।

स्पेनमा पनि कफर्यु

युरोपमा संक्रमण दर उच्च रहेको देशमध्ये स्पेन पनि एक हो । स्पेनमा गत मार्च २५ मा सबैभन्दा बढी १० हजार ८ सयको संख्यामा संक्रमण भेटिएको थियो भने २२ अक्टोबरमा दोब्बर बढी २० हजार ९ सयको संख्यामा संक्रमण पुष्टि भएको थियो । अप्रिलमा सबैभन्दा बढी १ हजार बढीको मृत्यु भएको थियो भने अक्टोबरमा २३१ जनाको मृत्यु भएको थियो ।

स्पेनमा मे सम्मका लागि लकडाउन गरिएको छ । सार्वजनिक गतिविधिमा पनि सरकारले कडाइ गरेको छ । एक परिवारले अर्को परिवारमा भेटघामा कडाइ गरिएको छ । रातको समयमा कफर्यु लगाइएको छ । रातको ११ बजेपछि कामबाहेक हिँड्न रोक लगाइएको छ । बिनाकाम हिँडेको पाइएमा ६ सय युरो जरिवाना तोकिएको छ ।

पोर्चुगलमा पाँचभन्दा बढी भेला हुन नपाउने

पोर्चुगलमा पनि कोरोना संक्रमणको दर बढ्दो छ । पोर्चुगलमा संक्रमितको संख्या १ लाख २४ हजार रहेको छ । मृतकको संख्या २३७१ रहेको छ । गत अप्रिलमा मृतकको संख्या सबैभन्दा बढी १ हजार ५ सय १६ थियो भने अक्टोरबमा बढेर सबैभन्दा बढी ३ हजार ६ सय उनान्असी थियो । त्यस्तै गत अप्रिल ३ मा सबैभन्दा बढी ३७ जनाको मृत्युभएको थियो भने अक्टोबर २३ मा ३१ जनाको मृत्यु भएको छ ।

यहाँको सरकारले विपत्तिको स्थितिमा सतर्कताको बढाउन कडाइ गरेको छ । मध्यरातमा पाँचभन्दा बढी भेला हुन निषेध गरिएको छ । विवाह वा पार्टीमा अधिकतम ५० जना सहभागीमा सीमित गरिएको छ । नियमहरू नमान्नेलाई कानुनी व्यक्तिलाई १० हजार युरोसम्म जरिवाना तोकिएको छ । सबै नागरिकहरुलाई सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

डेनमार्कमा मास्क अनिवार्य

डेनमार्कमा पनि संक्रमण दर उच्च रहेको छ । डेनमार्कमा संक्रमितको संख्या ४२ हजार छ भने ७ सय ९ जनाको मृत्यु भएको छ । गत अप्रिलमा सबैभन्दा बढी ३९० संक्रमित भेटिएका थिए भने अक्टोबर २६ मा १ हजार बढी भेटिएका छन् ।

त्यस्तै डेनमार्कमा पनि मृत्युदर पनि घटदो क्रममा छ । गत अप्रिल ४ मा २२ जनाको मृत्यु भएको थियो भने अक्टोबर २६ मा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ । डेनमार्कमा अक्टोबर २९ देखि लागु हुने गरी कडाइ गरेको छ । सार्वजनिकस्थलमा १० जनाभन्दा बढीलाई भेला हुन निषेध गरिएको छ । साथै, १० बजेपछि मदिरा किन्न निषेध गरिएको छ । १० बजेपछि सामान किन्न जाँदा परिवारको एक सदस्यभन्दा बढी जान नपाउने नियम लगाइएको छ ।

होटल, बार, रेष्टुरेन्टलगायतका सर्भिस क्षेत्रमा १० जनाभन्दा बढीलाई निषेध गरिएको छ । १० बजेपछि व्यवसाय गर्न सरकारको निर्देशन छ ।

सार्वजनिक स्थानमा र कार्यालयमा मास्क अनिवार्य गरिएको छ । सरकारले जारी गरेको नियम उलङ्घन गरेको पाइएमा २५ हजार डेनिस क्रोनरसम्मको जरिवाना तोकिएको छ ।

नेदरल्याण्डमा सेमी लकडाउन

नेदरल्याण्डमा पनि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख १९ हजार पुगेको छ । पहिलो चरणको भाइरस संक्रमण हुँदा नेदरल्याण्डमा सबैभन्दा बढी गत अप्रिलमा १ हजार २ सय ३५ संक्रमित थिए भने अक्टोरबर २७ मा महिनामा संक्रमणदर बढेर १० हजार ३ सय पुगेको छ ।

मृतकको संख्या संख्या नेदरल्याण्डमा पनि घट्दो क्रममा छ । गत अप्रिल ७ मा २ हजार ३ सय ४१ जनाको मृत्यु भएको थियो भने अक्टोर २१ मा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको थियो ।

केही हप्तादेखि नेदरल्यान्ड्समा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरि पनि सेमी लकडाउन गर्ने भएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ । चार हप्ताका लागि होटल, क्याफे र रेस्तुरेन्टको टेवल बन्द गर्नुपर्ने, तर टेक अवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम छ साथै साझ १० बजेदेखि लागु हुने र त्यसपछि पनि संक्रमण नियन्त्रण नभए पूरै लकडाउन गर्न सकिने यहाँको सरकारले जनाएको छ ।

भाइरस नियन्त्रणमा सबैको दायित्व रहेको भन्दै बाहिर चार जनाभन्दा बढीको समूहमा नहिँड्न, सामाजिक दुरी कायम गर्न र माक्सको प्रयोग गर्न आग्रह गर्दै ३० जनाभन्दा बढीको सहभागितामा कुनै कार्यक्रम नगर्न भनिएको छ ।

पसलहरु ८ बजेपछि अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको विक्रीवितरण ८ बजेपछि गर्न नपाइनेसमेत नयाँ नियममा उल्लेख गरिएको छ । यो नयाँ नियम चार हप्ताका लागि लागु हुने र परिस्थितिअनुसार नियम परिवर्तन गर्न सकिनेसमेत जानकारी गराइएको छ ।

पोल्याण्डमा ७० बर्षमाथिका नागरिकलाई बाहिर निस्कन रोक

पोल्याण्डमा पनि कोरोना संक्रमणको दर उच्च देखिएको छ । अहिलेसम्मको संक्रमितको संख्या २ लाख ८० हजार रहेको छ भने मृतकको संख्या ४ हजार ८ सय छ ।

पोल्याण्डमा अक्टोबर २९ मा सबैभन्दा बढी १८ हजार ८ सय संक्रमित भेटिएका थिए । यहाँ पहिलो चरणको कोरोना लहरले खासै प्रभाव पारेको थिएन । दोस्रो चरणको कोरोना संक्रमणले पोल्याण्डको अवस्था भयावहित रहेको यहाँ बस्ने नेपालीहरु बताउँछन् ।

पोल्याण्ड सरकारले कोरोना बढेसँगै आफ्ना नागरिकको सुरक्षाको लागि नयाँ नियमहरु लागु गरेको छ । तिब्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण गर्न पोलिश सरकारले अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म विभिन्न क्रियाकलापमा प्रतिबन्धको घोषणा गरेको छ । स्विमिङ पुल, जिमखानाहरु बन्द गरिएको छ भने रेस्टुरेन्टमा ग्राहकले टेक वे सेवा मात्र लिन सक्नेछन् ।

पोल्याण्डको सरकारले ५ जना भन्दा भन्दा बढी मानिस भेटघाट गर्न प्रतिबन्ध लगाएको छ । साथै ७० बर्ष माथिका मानिसहरु अनिवार्य बाहेक घरबाहिर निस्कन प्रतिबन्ध रहेको छ । सार्वजनिक यातायातमा ५० प्रतिशतमात्र सिटमा यात्रु राख्न पाइने छ ।

त्यस्तै गरी ३ निम्नमाध्यमिक विद्यालयमा अनलाइन माध्यमबाट पढाइ हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म १६ बर्ष मुनिका बालबालिका अभिभावकको निगरानीमा मात्र आवत–जावत गर्न सक्नेछन् ।

स्वीटजरल्याण्डमा रातको समयमा रेष्टुरेन्ट बन्द

कोरोना भाइरसको दोस्रो लहर बढ्न थालेपछि स्वीस सरकारले २८ अक्टोबरदेखि नयाँ नियमहरु सार्बजनिक गरेको छ । स्वीस सरकारले अनिश्चित समयसम्म डिस्को थेक, डान्स क्लब, डान्स स्टुडियोहरु बन्द गरेको छ । रेस्टुरेन्ट बारहरु रातको ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहनेछन् ।

रेस्टुरेन्टमा एक टेबलमा बढीमा ४ जना मात्र बस्न पाइनेछ । यदि एउटै परिवार हो भने बढी पनि बस्न पाइनेछ । ५० जनाभन्दा बढिको सार्बजनिक कार्यक्रमहरु निषेध गरिएको छ । जस अन्तर्गत बिबाह, चर्चका कार्यक्रम, दाहसंस्कार लगायत पर्नेछन् ।

विभिन्न खेलकुद र कल्चरल कार्यक्रमहरु बढीमा १५ जनामा सीमित गरिएको छ । उच्च माध्यामिक तहको पढाइ अनलाइनमार्फत मात्र गर्न पाइने भनिएको छ । स्वीटजरल्याण्डभरि मानिसको धेरै भिडभाड हुने ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको छ भने बाटोमा दुरी कायम गर्न नसकिने स्थानमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment