Comments Add Comment

कसले माग्यो प्रधानमन्त्रीको राजीनामा ?

१९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उदघाट्न गर्दै भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मनमुटाव भएपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा सो अभिव्यक्ति दिएका हुन् । पार्टीका नेता र कार्यकर्ता होइन, डाक्टर, नर्स र सरकारी कर्मचारी सहभागी कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, ‘तपाईंहरू नै भन्नुस्, के मैले अहिले राजीनामा दिन मिल्छ ?’

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन’ प्रश्नको जवाफ आफैं दिए ।

 

मन्त्रिपरिषद पुनर्गठन, कर्णाली प्रदेशका मूख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव, राजदूत नियुक्तिलगायतका विषयले पछिल्लो समय ओली र प्रचण्डबीच दुरी बढेको देखिन्छ । १५ कात्तिकमा भएको भेट र त्यसपछिका टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले ‘अब सँगै जान सकिँदैन, सल्लाहमै पार्टी फुटाऔं’ भनेर प्रस्ताव गरेको अर्का अध्यक्ष प्रचण्डले पार्टी सचिवालयका बहुमत सदस्यलाई ब्रिफिङ गरेका थिए ।

तर नेकपाभित्र जतिसुकै अन्तरविरोधको स्वर सुनिए पनि राजीनामाको विषय भने सुनिएको थिएन । प्रधानमन्त्रीको राजीनाबारे बहसै नभएका बेला एक गैरराजनीतिक कार्यक्रममा प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति किन आयो त ? अकस्मात आएको यो अभिव्यक्तिले पार्टीभित्र मात्रै होइन बाहिर पनि तरंग ल्याएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामाको विषय किन उठाए ? कसले मागिरहेको छ उनको राजीनामा ? प्रधानमन्त्रीले यसबारे प्रष्ट शब्दमा भनेका छैनन् ।

तर पार्टीकै अर्का अध्यक्षतिर संकेत गरेको भने बुझ्न सकिन्छ । प्रचण्डले अर्का अध्यक्षबाट ‘सल्लाहमै पार्टी फुटाऔं’ भन्ने प्रस्ताव आएको सार्वजनिक गरेलगत्तै ओली निकट नेताहरुले प्रचण्डले ओलीको राजीनामा मागेको बताउन थालेका थिए ।

ओली निकट मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव राख्ने तयारी प्रचण्ड र माधव समूहले गरेको दाबी गरेका छन् ।

तर प्रचण्ड निकट नेताहरू भने ओली निकट नेताहरुको उक्त दावीलाई अस्वीकार गर्छन् । प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले अहिले प्रधानमन्त्रीको राजीनामा नमागिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘यसभन्दा पहिला उनलाई दुईमध्ये एक पद छोड्न भनिएको हो, तर अहिले चाहिँँ भदौको अन्तिम साता भएको सहमतिको कार्यान्वयन भएन, त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनिएको मात्र हो ।’

पार्टीका अरु विषय ओझेलमा पार्न राजीनामाको विषय ल्याएको हुनसक्ने उनको टिप्पणी छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल भने दुई अध्यक्षबीचको पछिल्लो विवादमा मौन छन् । तर उनी निकट नेताहरूले भने अहिलेको सरकार पाँचै वर्ष टिक्ने अभिव्यक्ति दिएका छन् ।

विवादको श्रृङ्खला

तत्कालीन एमाले र माओवादीबीच चुनावी गठबन्धन र पार्टी एकताको सहमति गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको लिखित सहमति नै भएको थियो । सुरुमा गोप्य राखिएको त्यो सहमतिबारे प्रचण्डले बेलाबेला बोल्दै पनि आएका छन् ।

तर ४ मंसिर २०७६ मा आफू पार्टीमा कार्यकारी अध्यक्ष हुने र पाँच वर्ष सरकार चलाउन ओलीलाई दिने सहमति गरे । सहमतिअनुसार कार्यकारी भूमिका नपाएको उनको गुनासो थियो, तर सार्वजनिक रुपमा प्रधामन्त्रीको राजीनामा मागेनन् ।

८ वैशाखमा प्रधानमन्त्रीकै जोडबलमा पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याएपछि प्रचण्ड झस्किए । त्यतिबेला नौ सदस्यीय सचिवालयका बहुमत नेताहरू ओलीको विपक्षमा देखिए ।

१० असारबाट स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट भारतले आफूलाई पदबाट हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरू लागेको अभिव्यक्ति दिएपछि फेरि पार्टीमा राजीनामाको बहस चर्कियो । प्रचण्ड र माधव नेपाल पक्षका अधिकांश नेताहरूले ओलीको राजीनामा माग गरे । अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने प्रचण्ड–नेपाल पक्षको माग र राजीनामा नदिने ओलीको अडानका कारण पार्टीको बैठक नै प्रभावित भयो ।

ओली र प्रचण्डको निरन्तर भेटवार्ता र कार्यदलको प्रस्तावपछि २६ भदौमा स्थायी कमिटी बैठक सकियो, जसले ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगायो । प्रचण्डलाई पार्टीमा कार्यकारी अध्यक्षको भूमिका दिने निर्णय भएको थियो ।

तर महिना दिन कट्दा नकट्दै यो सहमति धर्मरायो, जब कर्णालीमा ओलीनिकट यमलाल कँडेलको अगुवाइमा पूर्व माओवादी खेमाबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पेश भयो । यसबारे दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयन हुन नपाउँदै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनगर्ठन गरेपछि फेरि ओली र प्रचण्डको दुरी बढ्यो ।

यद्यपि प्रचण्ड–माधव नेपाल समूहले राजीनामाको विषय कम्तीमा सार्वजनिक रुपमा उठेको छैन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै राजीनामा दिन्नँ भन्नुले नेकपा नेतृत्वमा अविश्वास एकदमै बढ्दै गएको देखाउँछ ।

विपक्षीलाई मनोवैज्ञानिक दवाव दिने रणनीति: प्राध्यापक कृष्ण पोखरेल

वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा प्रधानमन्त्रीजीले समाजवादी पार्टी फुटाउन नभई आफ्नै पार्टीका लागि ल्याउनु भएको थियो । आफ्नो पक्षमा बहुमत नपुगेपछि उहाँले त्यो समाजवादी पार्टीका लागि ल्याएको हो भन्नुभयो ।

प्रधानमन्त्रीजी अरुको मनको कुरा पनि आफैंले सोचेर/परिकल्पना गरेर ‘मुभ’ गर्ने मान्छे हुनुहुन्छ । तिमीहरूले ‘एक्सन’ लियो भने दश वटा एक्सन लिन्छु भनेपछि कर्णालीको विवाद रोकियो । अर्कोपक्षलाई मनोवैज्ञानिक दवाव दिन प्रधानमन्त्रीले म राजीनामा दिन्न भन्नुभएको हो ।

साँच्चै पार्टीभित्र राजीनामाको कुरा चलिरहेको पनि हुनसक्छ । यसभन्दा अगाडि पनि प्रचण्डले तपाई हट्नुस् भनेको कुरा आएको थियो । ओलीजीले सबै नेताको नाडी छाम्नुभएको छ । जसले हान्यो उसले जान्यो भन्ने बुझ्नुभएको छ । त्यही भएर सुरूमै म राजीनामा दिन्न है भनेको हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment