Comments Add Comment

युरोपा लिग : आर्सनल, टोटनहम र लेस्टर विजयी

२१ कात्तिक, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगमा इंग्लिस क्लबहरु आर्सनल टोटनहम र लेस्टर सिटीले जित हात पारेका छन् । समूह बी अन्तर्गत खेलमा आर्सनलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै स्वीडिस क्लब मोल्डेलाई ४-१ ले पराजित गर्‍यो ।

खेलको २२औं मिनेटमा मार्टिन एलिङ्गसनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए । तर मोल्डेका क्रिस्टोफर हुएगनले पहिलो हाफको अन्तिम समयमा आत्मघाती गोल गरेपछि बर्सनलले खेल बराबरी गर्‍यो । ६२औं मिनेटमा मोल्डेकै शेरिफ सिन्यानले पनि आत्मघाती गोल गरेपछि आर्सनलले २-१ को अग्रता बनायो । ७०औं मिनेटमा निकोलस पेपे र ८८औं मिनेटमा जोसेफ विल्लकले गोल गरेपछि आर्सनलले समूह चरणमा लगातार तेस्रो जित हात पारेको हो ।

३ खेलबाट अपराजित रहँदै ९ अंक जोडेको आर्सनल समूह बीको शीर्ष स्थानमा छ । पराजित मोल्डे ६ अंकसहित दोस्रो स्थानमा यथावत छ । यसै समूहको अर्को खेलमा डुनडेकलाई ४-३ ले पराजित गर्दै र्यापिड वियनले पनि पहिलो ३ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।

केलेची इहनाचोले दुई गोल गरेपछि समूह जी अन्तर्गत खेलमा लेस्टर सिटीले ब्रागालाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा इहनाचोले २१औं र ४८औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए । यस्तै डेनिस प्रएटले ६७औं र जेम्स म्याडिसनले ७८औं मिनेटमा गोल गरेपछि लेस्टरले सहज जित हात पारेको हो ।

लगातार तेस्रो जितपछि ९ अंक जोडेको लेस्टर समूह जी को शीर्ष स्थानमा छ । पराजित ब्रागा ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा एइके एथेन्सले जोयालाई ४-१ ले पराजित गर्दै समूहमा पहिलो ३ अंक जोडेको छ ।

अर्को इंग्लिस क्लब टोटनहमले समूह जे मा दोस्रो जित हात पार्ने क्रममा लुडोगोरेट्स राजगार्डलाई ३-१ ले हरायो । टोटनहमका लागि ह्यारी केनले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३३औं मिनेटमा लुकास मौउराले अग्रता दोब्बर पारे । ५०औं मिनेटमा लुडोगोरेट्सका क्लाउडिउ केसेरुले गोल गर्दै गोल अन्तर कम पारेका थिए ।

तर ६२औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गरेपछि टोटनहमले सहजै खेल जितेको हो । दोस्रो जितपछि ३ खेलबाट ६ अंक जोडेको टोटनहम गोल अन्तरका आधारमा समूह जेको शीर्ष स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको लुडोगोरेट्स अंकविहीन छ ।

यसै समूहको अर्को खेलमा एलएएसकेले रोएल एन्तवर्पलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । एलएएसके र रोएल दुवै टिमको समान ६ अंक छ । गोल अन्तरका आधारमा रोएल दोस्रो र एलएएसके तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment