+
फिफा विश्वकप २०२६ :

जर्सी बेचेर परिवार चलाएका गिल, जो बने जर्मनीलाई नकआउट गर्दाका नायक

२०८३ असार  १७ गते ५:२९ २०८३ असार १७ गते ५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै टोलीलाई फिफा विश्वकप २०२६ को नकआउट चरणमा ऐतिहासिक जित दिलाएका छन् ।
  • परिवारको उपचार खर्च जुटाउन खेल सामग्री बेच्न बाध्य भएका २६ वर्षीय गिलले उत्कृष्ट प्रदर्शन गर्दै 'प्लेयर अफ द म्याच' अवार्ड जितेका छन् ।
  • अस्पतालमा उपचाररत आफ्ना भतिजा अलेक्जेन्डरलाई सम्झँदै उनले भने, 'अलेक्जेन्डर, यो अवार्ड तिम्रो लागि हो। छिट्टै निको होऊ। तिम्रो गडफादर टाढाबाट पनि तिम्रो साथमा छ ।'

१७ असार, काठमाडौं । केही वर्षअघि परिवारको खर्च धान्न आफ्नै जर्सी र फुटबल सामग्री बेच्न बाध्य भएका पाराग्वेका गोलरक्षक ओरलान्डो गिल अहिले फिफा विश्वकप २०२६ का नायक बनेका छन् ।

जर्मनीविरुद्ध राउन्ड अफ ३२ को खेलमा ६ फिट ६ इन्च अग्ला गिलले पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै पाराग्वेलाई विश्वकप इतिहासकै दोस्रो नकआउट जित दिलाए । उत्कृष्ट प्रदर्शनपछि उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड पनि जिते ।

२६ वर्षीय गिलले जनवरी २०२५ सम्म सिनियर क्लब फुटबलमा जम्मा तीन खेल मात्रै खेलेका थिए । तर अहिले उनी विश्वकपकै उत्कृष्ट गोलरक्षकमध्ये एकका रूपमा चिनिएका छन् ।

गिलले पाराग्वेका क्लब १३ दे जुनियोर र सीएस सान लोरेन्जोको युवा टोलीबाट खेल्दै सन् २०१९ मा यू–२० दक्षिण अमेरिकी च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनले सन् २०२० मा सिनियर टोलीबाट डेब्यु गरे पनि त्यसपछि लामो समय अवसर पाएनन् ।

सन् २०२२ मा उनकी पत्नी मेलिसा अवालोस गर्भवती भइन् । बच्चा समयअघि जन्मिने अवस्था आएपछि पत्नीको जटिल शल्यक्रिया गर्नुपर्‍यो भने नवजात छोरा लाउटारोलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्‍यो ।

त्यो कठिन समयमा परिवारको उपचार खर्च जुटाउन गिलले आफ्ना खेल सामग्री, जुत्ता र पाराग्वे यू–२० टोलीको सम्झनास्वरूप राखेको जर्सीसमेत बेच्नुपरेको थियो । उनकी पत्नीले पछि सामाजिक सञ्जालमार्फत ‘हामीसँग केही थिएन, ओरलान्डोले परिवारका लागि सबै कुरा बेचिदिए’ भन्दै त्यस समयको पीडा सुनाएकी थिइन् ।

छोराको जन्म भएको करिब एक वर्षपछि अर्जेन्टिनी शीर्ष डिभिजन क्लब सान लोरेन्जोले उनलाई ऋण सम्झौतामा अनुबन्ध गर्‍यो । सन् २०२४ मा रिजर्भ टोलीबाट खेलेका गिल सन् २०२५ मा पहिलो रोजाइका गोलरक्षक बने र त्यही प्रदर्शनका आधारमा पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोको नजरमा परे ।

मार्च र जुनमा राष्ट्रिय टोलीमा बोलाइएका गिलले सेप्टेम्बरमा पेरुविरुद्ध विश्वकप छनोटको अन्तिम खेलबाट सिनियर अन्तर्राष्ट्रिय डेब्यू गरे । त्यसपछि पाँच मैत्रीपूर्ण खेल खेलेर उनले विश्वकपअघि पहिलो रोजाइको गोलरक्षकको स्थान सुरक्षित बनाए ।

विश्वकपको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भए पनि त्यसयता गिलले तीन खेलमा अतिरिक्त समयसहित केवल एक गोल मात्र खाएका छन् । उनले विपक्षीका १७ अन टार्गेट प्रहारमध्ये १६ वटा बचाएका छन् ।

जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गर्दै पाराग्वेलाई अगाडि पुर्‍याएका गिलले ‘प्लेयर अफ द म्याच’ अवार्ड आफ्ना परिवारलाई समर्पण गरेका छन् ।

विशेषगरी अस्पतालमा उपचाररत आफ्ना भतिजा अलेक्जेन्डरलाई सम्झँदै उनले भने, ‘अलेक्जेन्डर, यो अवार्ड तिम्रो लागि हो। छिट्टै निको होऊ। तिम्रो गडफादर टाढाबाट पनि तिम्रो साथमा छ ।’

परिवार बचाउन आफ्ना सबै सम्झनाहरू बेच्न बाध्य भएका गिल अहिले भने विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा पाराग्वेको आशा बनेर चम्किरहेका छन् ।

-बीबीसीबाट

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय