+
+

‘बैंकिङ क्षेत्रमा कोरोनाले पारेको असर छोपेर छोपिँदैन’

रोयल आचार्य रोयल आचार्य
२०७७ कात्तिक २१ गते २०:४५

२१ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देशव्यापी लकडाउन गरेपछिका दिनमा आर्थिक गतिविधिहरु सुस्ताए । लकडाउन खुलेपछि पनि आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन सकेको छैन । व्यापार–व्यवसाय रोकिँदाको प्रत्यक्ष असर बैंकहरुमा पर्ने नै भयो ।

अघिल्लो वर्षसम्म लगानी योग्य रकम (तरलता) अभावको सामना गरेका बैंकहरुमा कोभिड पछि २ खर्बभन्दा धेरै रकम थुप्रियो । साउन यता विस्तारै लगानी बढ्दै गएपनि पहिलेको अवस्थामा पुग्न कति समय लाग्ने हो, अनिश्चित छ ।

बैंकहरुको पछिल्लो वित्तीय विवरणले नाफामा असर परेको देखाउँछ । बैंकिङ विज्ञ सुमन शर्मा बैंकिङ क्षेत्रमा परेको कोभिडको बाहिर देखिन बाँकी नै रहेको बताउँछन् । केन्द्रीय बैंकले दिएका केही सुविधाका कारण अहिले धेरै असर नदेखिए पनि कालान्तरमा निकै नराम्रो प्रभाव देखिने उनको विश्लेषण छ ।

प्रस्तुत छ, शर्मासँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

बैंकिङ क्षेत्रमा कोरोना भाइरस महामारीको असर कस्तो देखियो ?

आर्थिक जगतमा निकै गहिरो छ । कोभिड-१९ का कारण मान्छेहरुले नयाँ काम गरौं भन्ने कुरा सोचेका छैनन् । धेरैको ध्यान अहिले कसरी टिक्ने भन्नेमा गएको छ । अर्थात्, साराको ध्यान दालभात तरकारीबाहेक अन्य कुरामा गएको छैन । भएको पैसा बचत गरौं भन्ने सोच सर्वत्र छ ।

यस्तो बेला नयाँ व्यवसाय आउँदैन । नयाँ व्यवसाय थाल्ने सोच बनाइसकेकाहरु पनि हात बाँधेर बस्नुपर्ने अवस्थामा पुगेका छन् । फेरि, कोरोना संक्रमण पनि रोकिएको छैन । यस्तोमा काम नगरौं भन्ने सोचमा छन् ।

कोभिडका कारण परियोजनाहरु सकिन ढिलो हुने, लागत बढ्ने समस्या देखिएका छन् । ब्याज खर्च पनि बढेको छ ।

अरु आर्थिक गतिविधिहरु ठप्प प्राय बन्दा रोजगारीको अवसर गुमेको छ । यद्यपि, कोभिडका कारण गैरकानूनी हुण्डी कारोबार घटेर बैंकिङ च्यानलबाट आउने विदेशी मुद्रा बढेको छ । यसबाट अर्थतन्त्रमा राम्रो फाइदा पुगेको छ ।

बैंकले दिएको ऋणको गुणस्तर कस्तो छ भन्ने कुरा बाहिर बसेर देख्न सक्दैनौं । बाहिरबाट हेर्दा राम्रै देखिन्छ । सबै यो वाचलिस्टमा गएर लुकेको हुन्छ । यस्तो बेलामा बैंकले एक्सन लिन पनि मिलेन । तर, कुनै न कुनै दिन त समस्या बाहिर आइहाल्छ ।

समग्रमा, सप्लाइ चेन (आपूर्ति प्रणाली) देखि रोजगारी सिर्जनासम्मका कुरामा असर छ । मान्छेहरुमा लगानी गर्ने हिम्मत घटेको छ । बैंकिङ क्षेत्रमा ब्याज नउठ्ने, ऋण भुक्तानी नहुनेलगायतका समस्याहरु देखिएका छन् ।

आउनु पर्ने रकम नआउँदा व्यवसायीहरुले बैंकको किस्ता बुझाउन सकेका छैनन् । यस्ता ऋणहरुलाई रिसेड्युल गर्ने, रिस्ट्रक्चर गर्ने वा वाच लिस्टमा राख्न सक्ने भनेर केन्द्रीय बैंकले सुविधा दिएको छ । राष्ट्र बैंक आफैंले पनि अहिले निष्क्रिय कर्जा देखाउनु पर्दैन भनिदिएको छ । पर्याप्त प्रोभिजनिङ (नोक्सानी ब्यवस्थापन) नगरी ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्न दिएको छ ।

यसले खराब कर्जा धेरै बढेको देखिएको छैन । बैंकहरुको आम्दानी चाहिँ घटेको देखिएको छ । कर्जाको सेवा शुल्क लगायतबाट कमिसन कम भएको छ । यस्ता आम्दानी घट्दा मूनाफा घटेको छ ।

लामो समय लकडाउन हुँदा बैंकमा थुप्रिएको रकम लगानी कहिलेदेखि बढ्ला ?

लकडाउनमा कर्जा माग भएन । व्यापार–व्यवसाय बन्द रहे । अपवादबाहेक साउन–भदौमै पनि कर्जा लगानी नभएको देखिन्छ । त्यस्तो समयमा लगानी हुन सक्दैन नै ।  कर्जाको माग सुस्ताउनु सामान्य नै हो । परियोजना होस् या अन्य विजनेस, सबैमा लगानी भएन । पहिले स्वीकृत कर्जाहरु बाहेक माग भएन ।

असोजमा आइपुग्दा आधा भन्दा धेरै बैंकले राम्रो कर्जा लगानी गरेका छन्, जुन समय सापेक्ष होइन कि भन्ने लाग्छ । दुई किसिमले कर्जा लगानी हुन्छ– नयाँ घर बनाउन, नयाँ विजनेस गर्न र वर्किङ क्यापिटल (चालु पुँजी) को रुपमा ।

वर्किङ क्यापिटलमा पहिला ८० प्रतिशत ऋण पाइन्थ्यो भने अहिले केन्द्रीय बैंकले ९० प्रतिशत बनाइदिएको छ । धेरैले ७० प्रतिशत ऋणमा ३० प्रतिशत आफ्नो पुँजी लगाएका छन् । बेरोजगारी बढेको, नयाँ विजनेस हुन नसकेको र आयात पनि राम्रो हुन नसकेको बेला पनि कर्जा राम्रै बढ्न थालेको छ ।

अहिले ब्यालेन्स अफ पेमेन्ट बढेको, व्यापार घाटा घटेको र रेमिट्यान्स भने बढेको देखिन्छ । व्यालेन्स अफ पेमेन्ट बढ्नुमा रेमिट्यान्सकोमात्रै होइन आयात घट्नुको पनि भूमिका छ । आयात कम हुदा त कर्जा लगानी पनि घट्नुपर्ने हो ।

जहाँसम्म कर्जाको माग कहिलेदेखि बढ्छ भन्ने प्रश्न छ, हामीले बुझ्नु पर्ने केही कुराहरु छन् । सामान आयात गर्ने उद्योगहरुले म्यानुफ्याक्चरिङ गरेर बिक्री गर्छन् । सिमेन्ट उद्योगहरुले निर्माणका लागि उत्पादन गर्छन् । कर्पोरेट सेक्टरले आफ्ना लोकल उत्पादनहरु बिक्री गर्छन् । यी कामहरु लकडाउनमा रोकिए ।

निर्माणाधीन हाइड्रोपावरमा लगानी बढ्न सक्ने भयो । तर, होटल–पर्यटन क्षेत्रमा लगानी भइहाल्ने स्थिति छैन । यसको अर्थ कर्जाको माग ठूलो मात्रामा बढिहाल्ने अवस्था देखिदैन । कम्तीमा पनि ६ महिना लाग्ला । अबको ३ महिनामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आएपनि ठूलो लगानीका लागि मानसिक रुपमा तयार हुन अर्को ३ महिना लाग्छ ।

अहिले बैंकहरुको ऋण लगानी चाहिँ खासगरी कुन क्षेत्रमा भएको हो ?

कुन क्षेत्रमा धेरै भयो भनेर देखाउने तथ्यांक छैन । यो बेला कर्जाको माग हुने भनेको परियोजनामा मात्रै हो । रोक्न नमिल्ने परियोजनाका लागि ऋण लगानी हुन्छ, तर अन्य क्षेत्रमा पनि कर्जा लगानी भएको छ ।

वर्किङ क्यापिटल ८० प्रतिशतलाई बढाएर ९० प्रतिशत पुर्‍याइएको छ । मान्छेहरुले सामान त बेचेका छन, तर उधारोमा । ब्याज तिर्नु पर्‍यो, ब्यापार पनि चलाउनु पर्‍यो । त्यसका लागि ऋणको माग हुन सक्छ ।

विगतका वर्षहरुमा दशैं–तिहार पछि बैंकहरुले लगानी योग्य रकम (तरलता) अभावको सामना गर्थे । यो वर्ष दशैं–तिहार पछिको अवस्था के होला ?

अहिले सबैको सीसीडी रेसियो ७०/७२/७४ सम्म छ । कोहLको ८० प्रतिशतसम्म पुगेपनि तल झरेको छ । तरलताको कुनै समस्या छैन । रेमिट्यान्स पनि राम्रै आएकाले बचत थुप्रिएको छ । उपभोगमा हुने खर्च घटेको छ । अन्त खर्च हुने गरेको पैसा पनि बैंकमैमा थुप्रिएको छ ।

विगतमा दशैंतिहार पछि टाइट हुनुको कारण सरकारले पनि खर्च गर्न सक्ने अवस्था हुँदैनथ्यो । अहिले कर्जाको माग कम छ र निक्षेप थुप्रिएको छ । भनौं, बैंकिङ क्षेत्र स्वस्थ छ । तुरुन्तै विजनेस बढिहाल्ने सम्भावना कम देखिएका कारण तरलतामा समस्या देखिदैन । ६ महिनासम्म त तरलता टाइट हुँदैन । भ्याक्सिन आइहाले पनि एकै पटक ह्वात्तै लगानी नबढ्ला ।

बैंकिङ क्षेत्रमा कोभिडको असर कति समय रहला ?

यसको असर लामो समय रहन्छ । कोभिड आएको ८ महिना भइसक्यो । यो अवधीमा बैंकको ऋण लिएका केही प्रतिशत विजनेस डुबिसकेका हुनसक्छन् । डुबिसकेकाहरु अब रिभाइभ हुन गाह्रो छ । तर उनीहरु बैंकको खराब कर्जामा नदेखिने भए ।

बैंकले दिएको ऋणको गुणस्तर कस्तो छ भन्ने कुरा बाहिर बसेर देख्न सक्दैनौं । बाहिरबाट हेर्दा राम्रै देखिन्छ । सबै यो वाचलिस्टमा गएर लुकेको हुन्छ । यस्तो बेलामा बैंकले एक्सन लिन पनि मिलेन । तर, कुनै न कुनै दिन त समस्या बाहिर आइहाल्छ । त्यसैले यसको असर कोभिड सकिए पछि पनि देखिन सक्छ ।

भनेपछि बैंकिङ क्षेत्रमा अहिले बाहिर देखिएको भन्दा निकै ठूलो असर छ ?

पक्कै पनि । कतिपय बैंकले थोरै नाफा घटाए वा थोरै नाफा बढाए भन्ने छ । साच्चिकै असर त भित्र थाहा छ । एक करोड ऋण डुबिसक्दा शतप्रतिशत प्रोभिजनिङ गर्नु पर्ने हो, तर वाच लिस्टमा राखेर ५ प्रतिशतमात्रै प्रोभिजनमा राखिदिए हुने भएको छ ।

बैंकले लगानी गरेको सयवटा विजनेसमध्ये १० वटा डुबिसकेको होला । एक करोडका दरले १० करोड डुब्यो । यसको ५ प्रतिशत भनेको ५० लाखमात्रै प्रोभिजनिङ गरे पुग्यो । डुबेको त १० करोड नै हो नि । बाँकी ९० वटालाई पनि डुब्न भने दिनु भएन ।

नेपालको बैंकिङ क्षेत्रको अहिलेका खास चुनौती के–के देख्नुहुन्छ ?

खास समस्या भनेको व्यवसाय ठप्प हुनु हो । यति व्यवसाय गर्छौं भनेर बनाएको प्लान असफल हुने भएपछि बैंकलाई चुनौती हुने भयो । कुनै बैंकको एकदमै धेरै कर्जा लगानी हुन्छ ।

कर्जाको जति प्रोभिजन गर्नु पर्ने हो त्यति नगर्नु अर्को समस्या हो । यसले असारको समस्या छोपियो, अब असोज मसान्तमा पनि छोपिन्छ । दोस्रो त्रैमासमा पनि वास्तविक अवस्था छोपिन सक्छ । अघि मैले १० करोडको उदाहरण दिएँ । त्यो समस्या अहिले छोपियो, तर पछि देखिन्छ । यो समस्या ठूलो छ ।

बैंकले गरेका लगानीहरु उठ्ने सम्भावना कम छ । हिजो कन्फिडेन्सका साथ गरेको लगानी यसरी खतरामा परेको छ ।

समस्या न्युनीकरणका लागि केन्द्रीय बैंक र बैंकहरु स्वयंले के गर्नुपर्छ ?

अहिले देखिएको समस्या कोभिड अन्त्य नभई समाधान भइहाल्ने देखिदैन । तर मूख्य कुरा अहिलेका समस्या पछिका लागि थुपार्ने होइन अहिले नै समाधान गर्ने कोशिस गर्नुपर्छ । जस्तो– १०० वटा विजनेसमा १० वटा बिग्रेको छ भने ती को–को हुन् पहिचान गरेर रिभाइभ गर्न सकिने उपाया के–के छ भनेर हेर्नुपर्‍यो ।

डुबेकै हो भने प्रोभिजन गर्नुपर्‍यो । अहिले प्रोभिजन नगरी बोनस र नगद लाभांश बाँडेर हुन्छ जस्तो मलाई लाग्दैन । अर्को कुरा, डिजिटल कारोबार गराउन यतिबेलै ध्यान दिनु पर्छ । यो धेरै राम्रो अवसर हो ।

डिजिटल कारोबार बढाउने काम कमर्सियल बैंक मात्र होइन । यसमा केन्द्रीय बैंकको पनि भूमिका हुनुपर्‍यो, वित्तीय साक्षरतfका ठूला ठूला कुरा गरेर मात्र हुदैन ।

पछिल्लो समय डिजिटल कारोबार बढेको पनि छ । यसलाई अझ व्यापक र पारदर्शी पनि बनाउनुपर्‍यो । करयोग्य रकम कति हो, थाहा पाए सरकारलाई पनि फाइदा हुन्छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?