Comments Add Comment

नेपाल संवत् : इतिहासकारले सुल्झाउन नसकेका विवादहरू

पर्याप्त स्रोतको अभावका कारण नेपाली इतिहासका कतिपय पाटाहरु अझै अस्पष्ट र विवादको भूमरीमा रुमलिने गरेको छ । अभिलेख राख्ने तर संवत्को नाम नलेख्ने चलन लिच्छविकालका प्रायः सबै अभिलेखका साझा समस्या हुन्, जसले गर्दा अहिले इतिहासकारको धेरै ऊर्जा संवत्को निर्णयमा नै खर्च हुने गरेको छ । अहिलेसम्म पनि अभिलेखमा लेखिएको ‘संवत्’ले कुन संवत्लाई जनाएको हो ? त्यो भन्न इतिहासकारहरू एक ठाउँमा आउन सकेका छैनन् ।

वि.सं. ९३७ कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि नेपालमा नयाँ संवत् सुरु भएको भन्ने कुरामा अहिले खासै विवाद छैन । मध्यकालमा चर्चित रहेको सुमतितन्त्र नामक ग्रन्थमा नेपाल संवतमा ८०२ जोड्दा शक संवत् आउँछ भनेर उल्लेख गरेको विषय, प्ााटन सुन्धाराको धर्म मल्लको पालामा कलिगत संवत्, विक्रम संवत् र नेपाल संवत्लाई एकै ठाउँमा उल्लेख गरेको विषय आदिले नेपाल संवत्को सुरुवातबारे विवाद गर्नुपर्ने ठाउँ अन्त्य गरेको छ । सो अभिलेखमा कलिगत संवत् ४५०५, विक्रम संवत् १४६१, शक संवत् १३२६ र नेपाल संवत् ५२४ उल्लेख गरिएको छ । यसले विक्रम संवत्को ९३७ वर्षपछि नेपाल संवत् सुरु भएको कुरालाई पुष्टि गरेको छ ।

त्यतिबेला संवत्को नाम नलेख्ने चलनका कारण नेपालका कतिपय संवत्को निर्णय अझै हुन सकेको छैन । जसमा विद्वानहरूका बीच चर्काे बहस र मतभेद समेत छ । त्यस्तै, नखुलेको इतिहासको एउटा अध्याय हो, नेपाल संवत् कसले र के अवसरमा गर्‍यो ?

सामान्यतया आमनेपालीले व्यापारी शंखधर साख्वाले काठमाडौंवासीको ऋण माफ  गरेपछि सुरु गरेको नयाँ संवत् नै नेपाल संवत् हो भन्ने ठान्छन् । तर कतिपय इतिहासकार यसमा सहमत छैनन् । शंखधरले ऋण मुक्त गरेको भन्ने मत स्वीकार गर्ने इतिहासकारहरूले यसलाई शाख्वा संवत् नाम दिएका छन्, कसैले शंखधरकृत संवत् भनेका छन् । कतैकतै त त्यही किंवदन्तीका आधारमा ऋणमुक्ति संवत् र जनसंवत्को रूपमा समेत यसलाई चिनाउने गरेको श्यामसुन्दर राजवंशीले नेपालमा संवत्हरू नामक आलेखमार्फत् प्रकाशमा पारेका छन् ।

स्थिति मल्लको पालामा काभ्रेका शक्तिशाली सामन्त शक्ति सिंहराम बर्द्धनलाई चीनका बादशाहले पठाएको संस्कृत परवाना पत्रमा ‘महाचीनाब्ध’ भनेर एउटा नयाँ संवत्को बारेमा उल्लेख गरिएको छ । तर त्यसको मिति र विवरणको आधारमा त्यो पनि नेपाल संवत्लाई नै जनाउन प्रयोग गरिएको शब्द भन्ने राजवंशीका मत छ ।

त्यस्तै, केशर पुस्तकालयमा भेटिएको संक्षिप्त गोपालराज वंशावलीमा ‘पशुपति भट्टारक संवत्’ भनेर यसको नामाकरण गरिएको कुरा धनवज्र बज्राचार्यको ‘गोपालराज वंशावलीको ऐतिहासिक विवेचना’ मा उल्लेख छ । यसबाट एउटा नेपाल संवत्लाई अनेक नामले चिनिएको देखिन्छ ।

त्यसो त नेपाल संवत्को पहिलो उल्लेख कुन अभिलेखमा गरिएको थियो ? भन्ने कुरामा पनि दुई मत छैन । राजवंशीका अनुसार कसैले पाटनको मंगहिटी -अहिले मंगलबजार)मा रहेको ओम संवत् माता अंकित टुटेधाराको अभिलेखलाई पहिलो मान्छन् भने कसैले लंकावतार ग्रन्थमा उल्लेख गरिएको संवत् २८ नेपाल संवत् नै हो भनेर व्याख्या गर्ने गरिएको छ ।

कसैले त नेपालसंवत्सर भनेर लेखिएको १४८ को अष्टसाहश्रकिालाई समेत नेपाल संवत्को पहिलो स्रोत मान्ने गरेको राजवंशी उल्लेख गर्छन् । यसरी नेपालसंवत्को पहिलो स्रोत कुन हो भन्नेबारेमा पनि मत्यैक्य हुन सकेको छैन ।

नेपाल संवत्को उपयोग भएको हालसम्मको प्राचीन अभिलेखमा संवत् ४० को ‘अष्टसाहसि्रक प्रज्ञापारमिता’ नामक ग्रन्थ हो, जसलाई पाटनको रुद्रवर्ण महाविहारमा सुरक्षित राखिएको छ । यसपछि ‘नेपाल स्रवत् १३५’ अंकित अर्को ग्रन्थ ‘अष्टसहश्रकिाप्रज्ञापारमिता’ हो, जो बेलायतको क्याम्बि्रज युनिवर्सिटीमा रहेको छ । यसैगरी नेपाल स्रवत् १४८ अंकित प्रज्ञापारमिताकै एउटा हस्तलिखित ग्रन्थमा उल्लेख छ । ज्ञानमणि नेपालका अनुसार ‘१४८ देखि नै यस स्रवत्लाई नेपाल स्रवत् भनेर गणना गर्न सुरु गरिएको हो ।’

कसले सुरु गर्‍यो नेपाल संवत् ?

विक्रम संवत्को ९३७ वर्षपछि कात्तिक शुक्ल प्रतिपदाको दिन एउटा नयाँ संवत् सुरु भएको र त्यसको नाम नेपाल संवत् रहन गएको कुरामा इतिहासकारहरूबीच खासै विवाद छैन । मध्यकालदेखि राणा शासनकालसम्म राज्यको कामकाजी भाषाको रूपमा चलेको नेपाल संवत् अहिलेसम्म प्रचलित छ । तर यो संवत् के उपलक्ष्यमा र कसले सुरु गर्‍यो भन्ने कुरा अझै विवादको विषय हो ।

नेपाल संवत् सुरु हुनुभन्दा पहिले झण्डै दुई शताब्दीमा के कस्ता राजनीतिक वा सामाजिक घटनाहरू भए भन्नेबारे अहिलेसम्म कुनै स्रोत पत्ता लाग्न सकेको छैन । केही वंशावलीबाहेक अभिलेखीय प्रमाण नपाइएकोले त्यो कालखण्डलाई इतिहासको अँध्यारो पाटोको रुपमा व्याख्या गरिन्छ ।

नेपाल संवत्बारे नेपाली र विदेशी इतिहासकारहरुबीच फरक तर्क पाइन्छ ।

विदेशी इतिहासकारको मत :

केही विदेशी इतिहासकार राणा शासनकालमा नेपाल आएर नेपाली इतिहास  अध्ययन गरे । यही क्रममा नेपाल संवत्को सुरुवातको विषयमा पनि कर्नेल कर्कपेटि्रक, सिल्भाँ लेभी आदिले नयाँ तर्क प्रस्तुत गरेर गएका छन् ।

सन् १७९३ मा नेपालमा आएका कर्नेल विलियम कर्कपेट्रिकद्वारा लिखित ‘एन एकाउन्ट अफ दि किङडम अफ नेपाल’ मा एउटा संवत्को सुरुवातसम्बन्धी उल्लेख छ । उनले तत्कालीन राजा राघवदेवले तमूल संवत सुरु गरेको उल्लेख गरेका छन् । तर नेपाल संवत्को स्पष्ट नाम उल्लेख नगरेकोले तमूल संवत् र नेपाल संवत्मा समानता छ या छैन भन्ने यकिन छैन ।

कर्कपेटिकको विचारमा ‘नेपाल संवत्’ का प्रवर्तक सिमरौनगढका राजा नान्यदेव हुन् । उनले तयार पारेको आप\mनो वंशावलीमा ‘नेपाल संवत्’ उत्पत्तिको विषयमा यसो लेखेका छन्- सायद नेपाल स्रवत्को प्रचलनसित सिमरौनगढमा राज्य गर्ने कणर्ाटवंशी राजाहरूले नेपाल विजय गरेको उपलक्ष्यमा सम्बन्धित हुन सक्तछ ।

अर्का विदेशी इतिहासकार सिल्भाँ लेभीले आˆनो पुस्तक ‘ली नेपाल’मा सातौं शताब्दीसम्म तिब्बतको अधिनमा रहेको नेपालले स्वतन्त्र भएपछि त्यसैको खुसियालीमा नेपाल संवत् चलाएको दाबी गरेका छन् । तर लेभीले भने जस्तो नेपाल तिब्बतको अधिनमा नरहेको नेपाली इतिहासकारको मत छ । उनीहरुका अनुुसार, सातौं शताब्दीका राजा नरेन्ऽदेव राजनीतिक कारणले यहाँ बस्न नसक्दा तिब्बतमा शरण लिएकोले लेभीको मत स्वतः खण्डित हुन्छ ।

केपी जैसवालको ‘क्रोनोलोजिकल हिस्ट्री’ मा पनि लेभीको मतको खण्डन गरिएको छ । सन् ७०३ देखि ७०५ सम्म तिब्बतसँग नेपालको लडाइँ भएको थियो । सो युद्धमा तिब्बती राजा चिनुसा सिलुङ मारिएको उल्लेख भएकोले पनि लेभीको मतको खण्डन भएको छ ।

नेपाली इतिहासकारहरुमा बाबुराम आचार्य, डी.आर. रेग्मी, धनबज्र बज्राचार्य, हरेराम जोशी आदिले भने नेपाल संवत्को विषयमा फरक मत दिएका छन् ।

आचार्यले नयाँ शासन सुरु भएपछि राघवदेवले नेपाल संवत् सुरु गरेको उल्लेख गरेका छन् । मानदेव तृतीयको शासन सकिएपछि नयाँ वंशको सुरुवात हुँदा संवत् पनि नयाँ सुरु भएको र त्यो नेपाल संवत भएको आचार्यको तर्क छ । तर इतिहासमा कताकतै मानदेव तृतीयलाई राघवदेवका पिताको रुपमा पनि उल्लेख गरिएको छ । यदि यो हो भने आचार्यको मत पनि खण्डन हुन सक्छ ।

वि.सं. ९३७ मा नेपाल संवत् सुरु हुँदा नेपालमा वैश्य ठकुरी वंशका राजा राघवदेवको शासन रहेको धनबज्र बज्राचार्यले ‘मध्यकालको अभिलेख’मा उल्लेख गरेका छन् । यो सवालमा अर्का इतिहासकार डि.आर. रेग्मी र बज्राचार्यको मत समान देखिन्छ । रेग्मी र बज्राचार्यले नेपालमा त्यतिबेला फैलिएको महामारी र खडेरीले गर्दा उब्जनी समेत हुन नसकेपछि तत्कालीन राजा राघवदेवले पशुपतिमा यज्ञ गराएको उल्लेख गरेका छन् । यज्ञ पश्चात महामारी अन्त्य भएको खुसीयालीमा नेपाल संवत् सुरु गरिएको भन्ने तर्क रेग्मी र बज्राचार्यको छ ।

सोही यज्ञसँगै ‘म्हः पूजा’ को समेत सुरुवात भएको उल्लेख गरेका छन् । पशुपतिमा शंख फुकेर बसेको मूर्ति तिनै राजा राघवदेवको हो भन्ने पनि कतिपयको तर्क छ । केही इतिहासकारले शंखधर तिनै राजा राघवदेव हुन् भनेका छन् ।

अर्कोतर्फ भाषा वंशावलीले बालुवा सुन भएपछि काठमाडौंका व्यापारी शंखधरले काठमाडौंवासीको ऋण मुक्त गरेको स्मरणमा नयाँ संवत् सुरु भएको उल्लेख गरेको छ । त्यही तर्कलाई हरेराम जोशीले साथ दिएका छन् ।

वंशावलीका अनुसार भक्तपुरका राजा आनन्ददेवलाई राजज्योतिषले एउटा शुभसाइत तोकेर टेकु दोभानबाट बालुवा उठाउँदा बालुवा सुन हुने भविष्यवाणी गरे । आनन्ददेवले ज्योतिषले भनेको समयमा भरियालाई टेकु दोभानमा बालुवा उठाउन पठाए । दोभानमा पुगेका भरियाहरुलाई काठमाडौंका व्यापारी शंखधरले प्रलोभनमा पारेर त्यही सुनले काठमाडौंवासीको ऋण मुक्त गरेको उल्लेख छ ।

शंखधर शाख्वा काठमाडौंका चुन व्यापारी रहेको र उनैले काठमाडौंवासीलाई ऋणमुक्त गरेर नयाँ संवत् सुरु गरेकोमा हरेराम जोशीको जोड छ ।

इतिहासकार ज्ञानमणि नेपालअनुसार केशर पुस्तकालयमा पाइएको पुराना वंशावलीहरूमा ‘राजा श्री राधवदेव वर्ष ६३ मास ६ ।। श्री पशुपति भट्टारके स्रवत् सरप्रवृति कृताः’ भन्ने वाक्यांश छ । यसको अर्थ हुन्छ- ‘राजा राधवदेवका पालामा पशुपति भगवान्को नाममा स्रवत्सरको प्रचलन गरियो ।’

ज्ञानमणि नेपालअनुसार, यसबाट स्वयं राघवदेवले स्रवत् चलाएको भन्ने बुझिँदैन । यो संवत्को प्रचलन व्यापारी र ज्योतिषको कारणबाट भएको देखिने नेपाल बताउँछन् ।

राघवदेवको पालामा यो स्रवत् चलेको भएतापनि स्रवत् चलाउने शंखघरको सालिक पशुपतिकै दक्षिण ढोका सामुन्नेमा स्थापित छ । नेपाल स्रवत् चलेकै दिन ज्योतिषी शास्त्रमा अयनांशको सिद्धान्त एवं गणना आविष्कार गर्ने ज्योतिषी वन्टेश्वर भारतमा जन्मिएका थिए, जसले २४ वर्षको उमेरमा ‘वन्टेश्वर सिद्धान्त’ प्रतिपादन गरे ।

तिनै वन्टेश्वरले दिएको साइतमा भारतबाट व्यापार गर्न हिडेको व्यापारीले अपार धनसम्पत्ति कमाएर पशुपतिमा खर्च गरेर ज्योतिष वन्टेश्वरकै सम्झनामा उनको जन्मदिन पारेर आˆना नामबाट स्रवत् चलाउन, आˆनो सालिक स्थापना गर्नु र उनले चलाएको स्रवत् व्यापारी वर्गमा प्रचलित हुँदै आउनु ज्यादै सम्भव देखिन्छ ।’

प्रचलनमा रहेका एक दर्जन संवत्

पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिएर निकाल्ने तिथिमिति सहितको पात्रोमा कैयौं संवत्को उल्लेख पाइन्छ । कलिगताब्ध संवत्देखि विभिन्न सम्प्रदायविशेषले मनाउने संवत्लाई समेत त्यसमा उल्लेख गरिएको छ । केही जातीय समुदायका आफ्नै संवत् पनि प्रचलन छ ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालासम्म नेपाल संवत् नै सरकारी कामकाजमा प्रयोग हुन्थ्यो । काठमाडौंका नेवार समुदायले अझै पनि नेपाल संवत्लाई नै मुख्य संवत् मानेर आफ्ना सांस्कृतिक गतिविधि सञ्चालन गर्छन् ।

अहिलेसम्म गन्तीमा रहेको कलिगताब्ध संवत् भगवान् श्रीकृष्णको मृत्युपछि सुरु भएको मानिन्छ । इश्वी संवत् होस् या विक्रम र शक संवत्, ठूला राज्यको विजयको सम्झना या शक्तिशाली राजाको शासन प्रारम्भ भएको सम्झाउन सुरु भएको इतिहास छ ।

नेपालमा सौरमास अनुसार गणना हुने विक्रम संवत्लाई कामकाजको सरकारी संवत् मानेर चन्द्र मास अनुसारको तिथि प्रणालीलाई धार्मिक कामकाज गर्ने गरिएको छ । यही कारणले मंसिर १ गते पनि चान्द्रमास अनुसार कात्तिक नै पर्न आउँछ ।

सोमबारदेखि नेपालकै मौलिक नेपाल संवत्को नयाँ वर्ष सुरु हुँदैछ । लक्ष्मीपूजाको दिनसम्म त्यसअघिका सबै लिनुदिनु पूरा गरेर प्रतिपदादेखि नयाँ खातापाता राख्ने चलन नेपाल संवत्को सुरुवातदेखि नै चलेको विभिन्न साहित्यिक स्रोतमा उल्लेख छ ।

नेपालमा वैशाख १ गते विक्रम संवत्, वैशाख पूणिर्मामा बुद्ध संवत्, शेर्पा, तामाङ र गुरुङ समुदायले मनाउने छुट्टाछुट्टै ल्होसार, मुसलमानहरुको हिजरी संवत्, नेपाल संवत्, किरात यल् संवत्, मगर थारु, आदि जातिले नयाँ वर्ष मान्ने माघे संक्रान्ति, इसाईहरूले नयाँ वर्ष मान्ने जनवरी १ सहितलाई मान्दा झण्डै एक दर्जन नयाँ वर्ष मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment