Comments Add Comment

मौलाकालिका मन्दिरबाट देवघाट नियाल्दा (फोटो फिचर)

१० मंसिर, काठमाडौं । गर्मीयामको प्रचण्ड उष्णतालाई चिरेर शितलताको आभाष दिलाउने मौलाकालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण चुचुरो हो ।

गैंडाकोट, नारायणगढ, भरतपुर आदि उष्ण क्षेत्रमा पुगेका पर्यटकहरू चिसो बतास र हरिया जंगली क्षेत्रको आस्वादन गर्दै उत्तरतर्फ लाग्दा मौलाकालिकाको मनोरम क्षेत्रमा पुग्न सक्छन् ।

दक्षिणतिर देवघाटधामको सुन्दर एवं पवित्र बस्ती, उत्तरतर्फ १२ महिना नै टिलिक्क टल्किने हिमालको स्पर्शले यो क्षेत्रको महत्व झनै थपेको छ । २ हजार मिटरको उकालो बाटो पैदल हिँडेर थुम्कोमा पुगेपछि चिसो हावाले स्वागत गर्छिन् मौलाकालिकाले ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपरासी बर्दघाट सुस्तापूर्व गैंडाकोटबाट उत्तरतर्फ ४ किलोमिटरको दुरीमा रहेको मौलाकालिका पर्याप्त सम्भावना बोकेको एउटा ऐतिहासिक एवं धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र हो । यो मन्दिर पुग्नको लागि १ हजार ८ सय ८२ खुड्किला चढेर पनि जान सकिन्छ ।

बस्तीबाट टाढा भए पनि कोरोना महामारीका कारण यो मन्दिर समेत प्रभावित हुन पुग्यो । कोरोनाका कारण सबै मन्दिर बन्द भएकाले आधिकारिक रुपमा यो मन्दिर पनि लकडाउनपछि बन्द नै रह्यो ।

तर भाकल राखेर आउने दर्शनार्थीहरूलाई भने विशेष सुरक्षा सावधानी अपनाएर दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।

ऐतिहासिक तथ्यलाई आधार मान्दा मणिमुकुन्द सेनले विक्रमको १६ औं शताब्दीमा यो मन्दिर निर्माण गरेको देखिन्छ । स्थानीय किंवदन्ती अनुसार वि.सं. १५८५ देखि १६१५ को बीचमा यो मन्दिरको निर्माण भएको देखिन्छ । सोही समयदेखि यो मन्दिरमा नियमित पूजा हुन थाल्यो ।

मौला कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सापकोटाका अनुसार २०३२ सालमा मन्दिर स्थापना गरी २०३७ सालदेखि यो क्षेत्रको दीर्घकालीन योजनावद्ध विकास सुरु भयो भन्ने मान्यता राखिन्छ ।

यो मन्दिरबाट १४ किलोमिटरको दुरीमा एउटा भग्नावशेष भेटिएको सापकोटा बताउँछन् । यद्यपि त्यहाँ व्यवस्थित अध्ययन अनुसन्धानको काम भने हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment