Comments Add Comment

उपभोक्ता ठगीका ७ नमुना

वरिष्ठ अधिवक्ता एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ

२२ मंसिर, काठमाडौं । सामान किन्न जाँदा डिजिटल नापतौलबारे प्रश्न गर्नेहरु कमैले मात्र होलान् । डिजिटल भनेपछि त अझ बढी विश्वास गर्छन् उपभोक्ताहरु । कपडा पसलमा हुने मिटरमा शंका गर्नेहरु सायदै होलान् । तर, यस्तै चीजहरुमा बढ्ता उपभोक्ताहरु ठगिने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ ।

आइतबार संसदको विधायन व्यवस्थापन समितिले ‘कहाँ– कहाँ कसरी उपभोक्ता ठगिइरहेका छन् र त्यसलाई कसरी कानुनमा समेट्न सकिन्छ,’ भन्ने विषयमा छलफल गर्न अधिकारकर्मी बानियाँलाई बोलाएको थियो ।

प्रस्तावित स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयकमा उपभोक्ता ठगीका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसमेत रहेका बानियाँले प्रस्तुतीकरण गरे । जसमा उनले उपभोक्ता ठगीका केही नमुना सुनाए ।

१. पेट्रोल पम्पमा ठगी

पेट्रोल पम्पमा कम तेल दिएर ठगी गर्ने गरेको सुनिन्छ । तर, त्यो कसरी ? धैरैलाई थाहा नहुन सक्छ ।

उपभोक्ता अधिकारकर्मी बानियाँका अनुसार गाडीमा कति तेल राखियो भन्ने नाप्ने डिजिटल प्रविधि र एनालग प्रविधि हुन्छ ।

कपडा नाप्ने कुरा मिटरमा जे देखिन्छ त्यही विश्वासमा पर्ने हो । तर, उक्त कपडा नाप्ने मिटर तीन थरी हुने गरेको बानियाँको भनाइ छ

बानियाँ भन्छन्, ‘डिजिटल भनेको रिमोट चलाएर घटी–बढी बनाउन सकिँदो रहेछ । कति घटि कति बढी गराउने भन्ने रिमोटबाटै गर्ने । अनुगमन आयो भन्नेवित्तिकै यसो–उसो गरी ढिलो–ढिलो गर्यो, उतापट्टि दौडिएर गएर रिमोट चलाएर मिलाइहाल्ने ।’

एनालगमा झन् ठगी हुने उनी बताउँछन् । ‘एनालगमा १३ वटा दाँती हुँदो रहेछ । १३ वटा दाँती घुमेपछि एक लिटर तेल झर्ने तर दुईटा, तीनवटा दाँती काटिदिने रहेछ । दुईवटा काँटी नहुँदावित्तिकै फास्ट घुम्ने भयो ।’

त्यसरी दाँती काटेर ठगी गर्न सहयोग पुर्याउने नेपाल सरकारकै जिम्मेवार पदाधिकारहरु रहेको पत्ता लगाएर कारबाहीको दायरामा समेत ल्याइएको उनले जानकारी दिए ।

‘दाँती काट्ने मान्छे डिजीको आग्रहमा ल्याइएको रहेछ । छानबिनपछि डिजी फौजदारी मुद्दामा थुनामै पर्नुभयो । ६÷७ महिना जेल बस्नुभयो । अहिले बिभिन्न कुराले गर्दा उहाँले सफाइ पाउनुभएको अवस्था छ,’ उनले सुनाए ।

२. ६ सय ग्रामलाई एक किलोग्राम बनाएर बिक्री !

अन्यत्र पनि डिजिटल भनेर नापी हुने गरेको तर, त्यो ठगीको सबैभन्दा ठूलो माध्यमका रुपमा देखा परेको बानियाँको भनाइ छ ।

बानियाँ भन्छन्, ‘डिजिटल सुईले जति घटी बनाए पनि हुन्छ । अहिले डिजिटल भनेको सबैभन्दा ठूलो ठगीखाने माध्यम हो । बरु काँटाले राम्रो हुन्थ्यो होला, चुम्बक राखेको छैन भने, झड्याकझुडुक पारेको छैन भने ।’

डिजिटल प्रविधिमा ६ सय ग्रामलाई एक किलोग्राम बनाएर समेत बिक्री वितरण हुने गरेको उनको भनाइ छ । त्यो आइडिया आफूले पनि सिकेको उनले सुनाए ।

उनले भने, ‘तरिका हुन्छ– कति तयार गर्ने ? ६ सय ग्रामलाई नै एक किलो गराउन सकिन्छ । मैले सिकेर आएँ कसरी बनाउन सकिन्छ भनेर । त्यसकारण डिजिटल नापतौलका कारण भ्रममा परियो ।’

३. कपडामा नाप्ने मिटर छोटो ?

कपडा नाप्ने कुरा मिटरमा जे देखिन्छ त्यही विश्वासमा पर्ने हो । तर, उक्त कपडा नाप्ने मिटर तीन थरी हुने गरेको बानियाँको भनाइ छ । ‘कपडा नाप्ने मिटर तीन खालका पाइने रहेछ । एउटा जेनुयन, यति मिटर हो भनेर । अर्को ३/४ सय यताउती गरेको र आधा नै भएको ।’

कपडा पसलमा मिटर नाप्न भनेर अनुगमन टोली नपुग्ने गरेका कारण पनि यो समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘कपडा पसलमा कोही पनि मिटर चेक गर्न आउँदैन भन्ने हुँदो रहेछ । विश्वास गर्ने मिटरलाई, तर मिटर नै बदमास गरिएको भएपछि कसको के लाग्छ ?’ उनी भन्छन्, ‘व्यापारीले किन्दा छानी–छानी किन्ने भयो । यसरी उपभोक्ता कपडा किन्दा मिटरमा ठगिइरहेका छन् ।’

४. ट्रकमा ढलान !

उपत्यकाभित्र चल्ने ट्रकका ढाला साना साना हुने गरेको बानियाको अनुभव छ । केही समय अघि मात्रै ढुङ्गा गिट्टी बालुवा बोक्ने ३७ वटा ट्रकहरुलाई ढाला काटेको भनेर कारबाही भएको सुनाउँदै उनले भने, ‘ढाला हेर्दा ठीक छ, तर कुनैमा काठ हालेको, कसैले ढलान गरेको, कसैले फलामको प्लेट हालेको, कसैले टीनका पत्ताहरु हालेको ।’

उपत्यकाभित्रर राति मात्रै छिर्न पाउँछन् ट्रकहरु । राति सामान ल्याएर झारेर जाँदा ठगी गरेको नदेखिने र उपभोक्ताले ठीकै होला भनेर पैसा तिर्ने गरेको उनले बताए । ट्रकले गर्ने ठगीबारे उपभोक्ता भन्दा प्रतिस्पर्धी व्यावसायीहरु उजुरी लिएर आउने गरेको उनले जानकारी दिए ।

अधिकारकर्मी बानियाँ भन्छन्, ‘उजुरी वा गुनासो पनि उपभोक्ताले दिने होइन, प्रतिस्पर्धी व्यवसायीहरुले दिने हो । उपभोक्ताले त बिल काटिदिएको हुन्छ, पैसा तिर्छ बस्छ, थाहा पनि नहुन सक्छ’

५. तोरीको तेल काण्डमा परिवारै विदेश पलान !

तोरीको तेलको प्याकेटमा हावा भरेर बजारमा पठाएको पाइएपछि सम्बन्धित कम्पनी सञ्चालकका परिवार नै देश छोडेर भाग्नु परेको घटना पनि अधिकारकर्मी बानियाँले सुनाए ।

उक्त परिवार दुई वर्ष विदेश बसेर हाल नेपाल फर्किएको उनले जानकारी दिए ।

भएको के रहेछ तोरीको तेलमा माथि पट्टीको भागमा हावा हालेर टाइट गर्नुपर्ने । तेल लगेर भाँडामा खनाउँदा हावा आयो पुरै तेल आएन । त्यसपछि अधिकारकर्मीहरुको संस्थामा उजुरी पर्यो र अनुगमनमा जाँदा जस्तो उजुरी परेको थियो, त्यस्तै फेला पर्यो ।

‘त्यो बेला मधेश आन्दोलन चलिरहेको अवस्था थियो । हामीले उजुरी हाल्यौं एउटा अनुगमनकारी निकायमा । त्यहाँ आएर फ्याक्ट्रीको तर्फबाट भन्नुभयो– ‘हामीले यो यो पार्टीलाई यति–यति चन्दा दिइसकेका छौं । चन्दा कहाँबाट आउँछ त ? थोडै घरबाट ल्याएर दिन्छौं र !’ इमादार ढङ्गले प्रष्टैसँग भन्नुभयो,’ बानियाँले ठगीका नमुनाहरु सुनाउँदै भने ।

‘गोदाममा जाँदा त्यहिँबाट प्याकिङ गरिरहेको रहेछ, हावा भर्दै तेल बजारमा पठाउँदै । ट्रकको ट्रक लिएर आउने र प्याकिङ गरेर काठमाडौं उपत्यकामा बजारमा पठाउने गरेको पाइयो,’ बानियाले भने ।

अनुगमनमा गए लगत्तै तीन जना कर्मचारी तत्कालै पक्राउ परेको र कर्मचारी समातिएपछि कम्पनी सञ्चालकलाई बिहानतिर प्रमुख जिल्ला अधिकारीले ‘तपाईंहरु आउनुस्’ भनेर बोलाएपछि दिउँसोतिर परिवारका सबै सदस्य प्लेनबाट विदेश गएको बानियाले जानकारी दिए ।

हाल उनीहरु नेपाल फर्किइसकेको तर उनीहरुलाई के कति कारबाही भयो ? भन्ने चाही बानियाले खुलाउन चाहेनन् ।

६. पोस्पेड मोबाइल कार हो…

नेपाल टेलिकमको पोस्पेड मोबाइलमा प्रत्येक महिना निश्चित रकम खर्च गर्नैपर्छ । अन्यथा खर्च गरे सरह ब्यालेन्स काटिन्छ वा ऋण भनेर देखाउँछ । तर, यो ठगीको अनौठो नमुना रहेको र धेरै पहिलेदेखि आवाज उठाए पनि सफलता प्राप्त गर्न नसकेको केस रहेको बानियाँ बताउँछन् ।

बानियाँ भन्छन्, ‘९८५१० बाट सुरु हुने नम्बरमा ५ सयबाट ब्यालेन्स सुरु हुन्छ । प्रत्येक महिना ५०१ बाट ट्याली हुन्छ । ५ सयसम्म त्यतिकै तिर्नुपर्ने के भएको यो ? भन्दा जवाफ पाइयो, ‘अरु चाहिँ ट्याक्सी हो, ९८५१० बाट सुरु हुने चाहिँ कार हो । ट्याक्सी चढ्ने हो भने जिरोबाट सुरु हुन्छ, कार चढ्ने हो भने प्लस हुन्छ नि ।’

आखिर फोन गर्दा पैसा लाग्ने एउटै हो । नम्बर फरक हो । तर, राज्यले यस्तोमा ख्याल नगरी ठगी गरिरहेको बानियाँको भनाइ छ ।

‘मुद्दा दिइयो, यताउती गरियो, धेरै वर्ष भयो । हेर्दा सामान्य भए पनि यो ठूलो विषय हो,’ उनले भने ।

संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय सेवा प्राप्त गर्ने हक हुनेछ भनेको उल्लेख गर्दै उनले भने, ‘गुणस्तरभित्र स्ट्यान्डर्ड पनि पर्छ । त्यसकारण प्रत्येक वस्तुको स्ट्यान्डर्ड तोक्ने काम ऐनमा नै हुनुपर्यो । नभए सरकारले नेपाल राजपत्रमा प्रकाशित गगरेर लागु गर्नुपर्यो ।’

७. सिंहदरबारभित्रै बदमासी

अनमोल मिठान्नले बोसो मिसाएर मासु नखानेलाई पनि मिठाइको रुपमा खुवाएको बताउँछन् अधिकारकर्मी बानियाँ ।

‘उपत्यकाभित्र, प्रधानमन्त्री कार्यालय र संसदमा सबैभन्दा बढी चल्ने अनमोल मिठाई हो । तर, यसले बोसो मिसाएर मासु नखानेलाई मिष्ठान्न खुवाएको उच्च ओहोदाकालाई पनि थाहा थिएन,’ बानियाले भने ।

यो विषय मुख्य सचिव मातहतको केन्द्रीय अनुगमन समिति समक्ष लिएर जाँदा आफूलाई ‘खुस्किस कि क्या हो ?’ भनिएको सुनाउँदै उनले भने, ‘मुख्य सचिवलाई मासु नचल्ने रहेछ । गृहसचिवलाई पनि मासु नचल्ने । उजुरी लिएर गइयो, परीक्षण गर्दा बोसो फेला पर्यो ।’

बानियाँले एक जना सचिवले गरेको दुखेसो पनि सुनाए, ‘एक जना सचिवले भने – म त शाकाहारी मात्रै, मेरो पिता र स्वयम् पाक्य मान्छे मिठाई खाँदा यस्तो हुँदो रहेछ ।’

७. यौनवर्द्धक औषधिको बिक्री रोकिएको कथा

केही वर्ष पहिले यौनवर्द्धक औषधिको खुबै बिक्री हुन्थ्यो । पत्रपत्रिका, रेडियो टिभीमा समेत विज्ञापन आउँथे । तर, यसको वास्तविकताबारे धेरैलाई थाहै थिएन । परिणाममा उपभोक्ता ठगीए ।

‘पत्रिका हेर्यो आधा पेज विज्ञापन । सबै डिपार्टमेन्ट स्टोर मुनि यौनवर्द्धक राखेको छ । के हो यो भनेर अध्ययन गर्यौं,’ बानियाँ भन्छन्, ‘एउटा जेनेटिक औषधि रहेछ । त्यो १५ एमजी खाएपछि मान्छे यौनका लागि निश्क्रिय रहेछ भने पनि सक्रिय बनाउँदो रहेछ । तर, एकपटक र त्यो पनि १५ एमजीभन्दा बढी मान्छेलाई खुवाउन नहुनेमा कम्पनीहरुले धेरै गुणा बढी चक्कीमा मिसाएर दिँदो रहेछ ।’

यो तथ्य थाहा भएपछि प्रहरीको सहयोगमा त्यस्ता औषधि बिक्री गर्ने १७ वटालाई एकै दिनमा अपरेशन गरेर तह लगाइएको बानियाँले सुनाए ।

यौनवर्द्धक औषधि खाँदा भएको साइड इफेक्टबारे एक जना पीडितको कथा पनि उनले सुनाए, ‘मेरो अफिसमा एक जना मान्छे आउने र ठूलो ठूलो स्वरमा कराउने गर्नुहुँदो रहेछ तर, मलाई भेट्नुभएन । शुक्रबारको दिन थियो मलाई भेट्नु भयो र ठूलोठूलो स्वरले कराउँदै ढोका लगाएर भन्नुभयो– ‘म ठूलो स्वरले किन कराएको थाहा छ ? वास्तवमा उपभोक्ताअधिकारकर्मी हो कि होइन परीक्षण गर्छु भन्नुभयो । उहाँले आफ्नो पीडा पोख्नुभयो– म सानो स्वरले कराएँ भने मेरो जिउ काप्छ । जिब्रो लरबराउँछ । साथीसंगीको कारणले गर्दा यौनवर्द्धक औषधि प्रयोग गरेको र अहिले यस्तो बनायो । उहाँलाई साइड इफेक्ट गरेछ । भिएग्रा औषधि सक्रिय बनाउन प्रयोग गर्यो । बढी प्रयोग गर्दा जिउ काप्ने लगायतका समस्या देखिएको रहेछ । १७ वटा भिएग्रा प्रयोग गर्नुभएको रहेछ ।

महिलाहरुको छाती (ब्रेस्ट) सानो ठूलो बनाउने औषधिको पनि बिगबिगी थियो । बानियाले यसबारे एउटा घटना नै सुनाए, ‘एक जना महिलाले अपरेशनका क्रममा बिक्रेतालाई, ‘ए भाइ मेरो श्रीमानले छोड्न आँटिसक्यो, ब्रेस्ट सानो भयो भन्छ’ भन्नुभयो । कपाल पालेको केटो रहेछ, ‘यो जेल लगाउनुस् भनेर दिए । महिलाले भएन भन्दा हुन्छ–हुन्छ मात्रै भनिरह्यो । त्यसपछि उसलाई समातेर केरकार गरेपछि कहाँबाट ल्याएको भन्यो, ती पनि पक्राउ परे ।’

अहिले यौनवर्द्धक औषधिको बिक्री रोकिएको बताउँदै उनले भने, ‘अहिले गर्व लाग्छ, पत्रिकामा, टिभीमा यस्ताको विज्ञापन अहिले देखिँदैन । ती मान्छेहरु तीन महिना जति जेल बसे छुटे । स्रोतमै हानेपछि त्यो हरायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment