Comments Add Comment

भारतमा फैलिएको अज्ञात रोगबारे अनुसन्धान हुँदै

Photo Credit : EPA

२३ मंसिर, काठमाडौं । भारतले आन्ध्र प्रदेशमा केही दिनयता फैलिएको पहिचान नखुलेको रोगबारे अध्ययनका लागि विशेषज्ञको टोली पठाएको छ । आन्ध्र प्रदेशमा फैलिएको उक्त पहिचान नखुलेको रोगको कारण एकजनाको मृत्यु भइसकेको छ भने पाँच सयभन्दा धेरै मानिसहरु बिरामी परेका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का सांसदले प्रारम्भिक रगत परीक्षणको क्रममा अत्यधिक मात्रामा लिड र निकेल पाइएको बताएका छन् । उनीहरुलाई वाकवाकी लाग्नेदेखि बेहोसहुनेसम्मका लक्षण्हरु देखिएको डाक्टरहरुले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लडिरहेको आन्ध्र प्रदेशमा यो अर्को समस्या देखिएको हो । आन्ध्रप्रदेश सबैभन्दा धेरै प्रभावित भारतीय राज्यमध्येको एक हो ।

आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्रीनिवासले अस्पतालमा भर्ना भएका पहिचान नखुलेको रोग लागेका सबै मानिसहरुको कोरोना परीक्षण नेगेटिभ आएको बताए । त्यसैले नयाँ रोगको सम्बन्ध कोरोना भाइरससँग भने नदेखिएको उनको भनाइ छ । श्रीनिवासका अनुसार यो रोग कुनै संक्रामक रोगजस्तो पनि देखिएको छैन । श्रीनिवासले जल प्रदूषण तथा वायु प्रदूषण यो रोगको कारण नभएको बताए । उनले यो रोग रहस्यमयी रहेको र प्रयोगशालाको परीक्षणबाट मात्र यो रोगको विषयमा थप कुराहरु खुल्ने बताए ।

भाजपाका सांसद् जीभीएल नरसिंहा राओले भने प्रारम्भिक रगत परीक्षणमा बिरामीहरुको नमुनामा लिड, निकेल र अन्य हेभी मेटल पाइएको बताएका थिए । अधिकारीहरुका अनुसार अहिलेसम्म तीन सयभन्दा धेरै बिरामी निको भएका छन् भने १९ जनालाई थप उपचारका लागि राज्यको अर्को अस्पतालमा रिफर गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरु पनि यस विषयमा अनुसन्धानको लागि आन्ध्र प्रदेशको भ्रमणको तयारीमा छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment