+
+

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !

डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७७ मंसिर २६ गते १५:१८

अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका उच्च क्यालोरीयुक्त, प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु नै सामान्य भाषामा भन्दा जङ्कफुड हो । नपकाई पनि खान मिल्नेगरी तयार गरिएको खानेकुरालाई चलनचल्तीको भाषामा मृत खाना वा जङ्कफुड भनेर भन्ने गरिन्छ । यी खानेकुराहरूको सेवन गर्दै गएपछि मान्छेलाई जाड, रक्सी वा चुरोटको लत बसे जसरी लत बस्छ र लामो समयसम्म सेवन गर्दै गएपश्चात् अनेकौं स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छ।

स्वास्थ्यमा असर

१. तौल बढ्ने

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको मोटोपनको मुख्य कारणको रूपमा जङ्कफुडलाई लिइएको छ । कम पौष्टिक मूल्य, असन्तुलित पोषक तत्व, उच्च क्यालोरी, बारबार प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य वस्तुको समेत मिलावट गरिएको हुँदा यी खानेकुराको सेवनले तौल बढ्ने, भुँडीलाग्ने र मोटाउने समस्या जन्मिन्छ । जङ्कफुडलाई लामो समयसम्म पनि संरक्षित गरेर राख्न सकिने र स्वादमा अत्यन्तै स्वादिलो बनाइएको हुँदा र सजिलै एवं सस्तो मूल्यमा पाइने भएकाले यसको धेरैले यसलाई मन पराउँछन् र अन्ततोगत्वा जङ्कफुडको कौतुहलमा फस्छन् । कम पौष्टिक मूल्य एवं असन्तुलित पोषक तत्व भएको तर अतिउच्च मात्रामा नुन, चिनी र चिल्लो हालिएको हुँदा, खाली क्यालोरीका कारणले जङ्कफुड खाँदा तौल ह्वातै बढ्छ । यसको अलावा जङ्कफुडको सेवनले मेटमबोलिक क्रियालाई समेत सुस्त बनाइदिने हुँदा तौल बढ्छ । यसैगरी जङ्कफुडमा मिसाइएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हार्मोनहरूको बीचमा तालमेल बिगारिदिने हुँदा धेरै भोक लाग्ने र असन्तुष्टि बढिरहन्छ फलतः तौल बढ्ने र मोटाउने भइरहन्छ ।

२. मुटु रोग 

जङ्कफुडको सेवनले मुटु तथा रक्तनलीको रोग लाग्छ भन्ने तथ्य धेरैलाई थाहा भइसकेको छ । जङ्कफुड खाएर मुटुरोग लाग्नुको मुख्यकारण जङ्कफुडमा प्रशस्त मात्रामा नुन र चिल्लो हालिनु, खाद्य रेशा नहुनु, भिटामिन र एन्टिअक्सिडेण्ट कम हुनु वा नहुनु, अन्य अखाद्य वस्तुहरूको पनि मिलावट गरिनु आदि पर्छन् ।

उच्च मात्रामा भएको कार्बोहाइड्रेटस अथवा चिनी छिटोछिटो पचेर पाचनपश्चात् ग्लुकोज बन्छ र रक्तग्लुकोज बढाउँछ । यसैगरी उच्च मात्रामा भएको चिल्लोले रक्तकोलेस्टेरोलको मात्रा बढाउँछ भने उच्च मात्रामा नुन वा सोडियमले प्रयोग गर्नाले रक्तचाप बढ्छ । यसैगरी खानेकुरामा खाद्य रेशा, भिटामिन र एन्टिअक्सिडेन्ट नहुँदा पनि रक्तनली सुन्निने र साघुरिने गर्छ । यो क्रिया मुटुका रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भनेर भन्छौं । जङ्कफुडमा उच्च मात्रामा हालिएको नुन, चिनी र चिल्लोले तौल बढाउने, रक्त कोलेस्टेरोलको मात्रा बढाउने, रक्तनलीहरूको इफ्लामेसन गराउने, खाएपश्चात तनाव चिन्ता भय र उदासिनता बढ्ने, मधुमेह र उच्च रक्तचाप गराउने जस्ता मुटुरोगका जोखिम कारक तत्वहरूलाई बढाउने हुँदा मुटुरोगको खतरालाई बढाउँछ ।

३.मधुमेह

जङ्कफुड दीर्घकालीन रूपमा सेवन गर्नेहरूलाई मधुमेहको जोखिम पनि बढी हुन्छ । यसो हुनुको मुख्यकारण जङ्कफुडलाई प्रशोधन गर्दागर्दा त्यसलाई सजिलै पच्न सक्ने बनाइएको हुन्छ र यी खानेकुरा खाएपश्चात् तत्काल पच्ने र रक्तग्लुकोज ह्वात्तै बढाउने गर्छ तर रक्तग्लुकोज बढ्ने बित्तिकै हाम्रो प्यान्क्रियाजले पनि इन्सुलिन स्राव गरी बढेको रक्त ग्लुकोजलाई नियन्त्रणमा लिइहाल्छ तर बारबार रक्तग्लुकोज ह्वात्त-ह्वात्त बढिरहेमा इन्सुलिन प्रतिरोधकता विकसित भई टाइप-२ मधुमेहको समस्या देखा पर्छ । यसका अलावा जंङ्कफुडमा कुनै पनि प्रकारको रेशा र चोकरहरू राखिएको  हुँदैन जसका कारणले पनि मधुमेहको खतरा बढ्छ।

४. चायापोतो र डन्डिफोर आउने

जङ्कफुडमा उच्चमात्रामा प्रशोधित कार्बोहाइड्रेट्स हुने भएकाले चायापोतो र डण्डीफोर जस्ता सौन्दर्यात्मक समस्याहरू पनि हुने गर्छ । त्यसमा पनि उच्च ग्लाइसेमिक इन्डेक्स भएका जङ्कफुडहरू जस्तै चकलेट, मिठाई, लड्डु, सनपापडी आदिको सेवनले तुरून्तै रक्तग्लुकोज र रक्तइन्सुलिन बढाइदिने जसका कारणले एन्ड्रोजेन श्राव र तेल उत्पादन भई चाया, पोतो र डण्डिफोरको समस्या जन्माउछ । यसैगरी उच्च मात्रामा जङ्कफुडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्छ । एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।

५.क्यान्सर

जङ्कफुडको सेवनले तौल बढ्छ र तौल बढ्नु क्यानसरको जोखिम कारक तत्व हो । यसैगरी जङ्कफुडको सेवनले शरीरमा इन्फ्लामेसनलाई बढाइदिने हुँदा क्यानसरको जोखिम बढ्छ । विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाए अनुरूप जङ्कफुडको सेवनले ठूलो आन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यान्सर, फोक्सोको क्यान्सर, मुख, नाक, जिब्रो, घाँटी, स्वरयन्त्र, आमाशयको क्यान्सर हुने तथ्य दर्शाएको छ । यसैगरी डिम्बाशय र पाठेघरको क्यान्सरसँग पनि जङ्कफुड जोडिएको छ । यसैगरी हामीले खाने तारेभुटेको खानेकुराहरू, सेकुवा, भुटुवा, तरूवा, हटडग, बन, डोनट कार्बोनेटेड–सफ्ट–ड्रिङ्क आदिको कारणले पनि क्यानसर लाग्न सक्छ ।

६. नैराश्यता

जङ्कफुड सेवन नैराश्यताबीच गहिरो सम्बन्ध । स्वस्थकर प्राकृतिक खानेकुराहरूलाई राम्रो मुड फ्रेसनरका रूपमा लिइन्छ जबकि जङ्कफुडलाई मानसिक उत्तेजकको रूपमा बुझिने गरिएको छ । खानेकुरालाई जङ्क बनाउँदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुँदा यिनका प्राकृतिक गुण धर्म नष्ट साथै भोजनलाई स्वादिष्ट बनाउनका लागि पर्याप्त मात्रामा नुन, चिनी, चिल्लो, कृतिम रङ्ग, अजिनोमोटो जस्ता रसायनहरू हालिएको हुन्छ । खानालाई यति धेरै रसायनहरू हालेर खाँदा त्यस्ता खानेकुरा खाने लत बस्छ । यसैगरी यी खानेकुरा खाएपश्चात हाम्रो मस्तिष्क लगातार उत्तेजित भइरहने हँुदा तनाव, चिन्ता, भयहुँदै बिस्तारै मान्छे नैराश्यताको शिकार हुन पुग्छ । यसो हुनुको वास्तविक कारण चाहिँ, रक्तग्लुकोजको निरन्तर घटबढ, न्युरोट्रान्समिटरहरूको अनियन्त्रण र जङ्कफुडमा भएका हानिकारक तत्वहरूले शरीरका विभिन्न भागमा गर्ने ईन्फ्लामेसन आदिलाई मानिएको छ ।

७. छाला चाउरी पर्ने

जङ्कफुडको रूपमा उच्चमात्रामा नुन, चिनी र चिल्लो हालिएको खानेकुराहरू खाँदा शरीरमा चिनी र प्रोटिनबीच प्रतिक्रिया भएर एड्भान्स ग्लाइकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्छ । यो एड्भान्स ग्लाइकेसन एण्ड प्रोडक्टहरूले छालाको कोल्याजन र इलास्टिनलाई क्षति पु¥याउने हुँदा छाला चाउरी पर्ने र चाँडै बुढो देखिने हुन्छ । कोल्याजन र इलास्टिनले छालाको तान, वर्ण, चमकआदि बरकरार राख्न मद्यत गर्छ ।

८.असामयिक बुढ्यौली

जङ्कफुडको सेवनले असामयिक बुढ्यौलीलाई पनि निम्त्याउने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाइसकेका छन् । जङ्कफुडमा उच्च मात्रामा हालिए कानुन, चिनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सीमावर्ती ढकनलाई छोट्याउने गर्छ । टेलोमेयरको मुख्य काम भनेको क्रमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसँग प्रतिक्रिया गर्न नदिएर जीनहरूको रक्षा गर्नु हो । यदि टेलोमेयर छोटिँदै गयो भने हाम्रो कोषहरू बुढो हुँदै जाने र असामयिक बुढ्यौली सुरू हुने गर्छ ।

९. शक्तिहीनता

जङ्कफुडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ती आएपनि कालान्तरमा शक्तिहीनता देखापरेको छ । यसो हुनुको मुख्य कारण जङ्कफुडको सेवनपश्चात रक्तग्लुकोज र इन्सुलिनको मात्रा ह्वात्त बढ्ने र तुरून्तै कम भई हाल्ने हुन्छ । यसरी पटक पटक रक्तग्लुकोज बढ्ने र कम हुने गर्दा ऊर्जाहीनताको अनुभव हुन्छ ।

१०. कलेजोमा बोसो जम्ने

जङ्कफुडमा हालिएको प्रशोधित कार्बोहाईड्रेटसको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टीलिवर भन्ने समस्यालाई जन्म दिन्छ । प्रशोधित कार्बोहाईड्रेटस त्यसमा पनि उच्च फ्रुक्टोज भएका खानेकुराहरू जस्तै चिनी, कर्न–सिरप, राईस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रूक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ फलतः कलेजोमा बोसो लाग्छ ।

११. मृगौलालाई क्षति

लामो समयसम्म जंङ्कफुडको सेवनले मृगौलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ । यसो हुनुको मुख्यकारण जङ्कफुडमा उच्चमात्रामाहालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायनहरू हुन। उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मृगौलाका सूक्ष्म रक्तनलीहरूलाई क्षति पु¥याउने हुँदा मृगौला क्षतिग्रस्त हुन सक्छ ।

१२.श्वास-प्रश्वासमा समस्या

जङ्कफुडको सेवनले विशेषतः तौल बढाउने काम गर्दछ र धेरै तौल बढ्दै गएमा मोटोपन यानकि ओबेसिटीले सताउँछ । माटोपनका समस्याले ग्रस्त रोगीहरूलाई दम बढ्ने र श्वास फूल्ने समस्याले सताउँछ ।

१३. दाँतर हड्डीमा  असर

जङ्कफुडको सेवनगर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादापिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको इनामेल खुइल्याई दिने गर्छ । दाँतको इनामेल खुइलिइसकेपछि त्यस ठाउँमा ब्याक्टेरियाको संक्रमण भई दाँतमा क्याभिटी बन्ने, किरा लाग्ने जस्ता समस्या देखा पर्छ । यसैगरी जङ्कफुडमा भएको प्रशोधित कार्बोहाइड्रेट्स दाँत, गिजा र मुखमा टाँसिएर ब्याक्टेरियालाई आकर्षित गरेर दाँतलाई संक्रमित बनाउँछन् । यसैगरी लामोसमयसम्म जङ्कफुडको सेवन गर्ने गरे हड्डीको अस्थी घनत्व कम हुने, हड्डी खिइने आदि जस्ता समस्या देखा पर्छन् ।

१४.उच्च रक्तचापः

जङ्कफुडको सेवनगर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउँछ । यसो हुुनुको मुख्य कारण जङ्कफुडमा हालिएको अत्याधिक नुन हो। शरीरमा नुन वा सोडयमको मात्रा चाहिनेभन्दा धेरै भए सोडियमले पिसाबबाट उत्सर्जित भएर जाने पानीलाई समेत पुनः शरीरमा खिचेर रगतको आयतन बढाई रक्तचाप बढाउँछ । यसैगरी जङ्कफुडमा उच्च मात्रामा हालिएको चिल्लोले पनि रक्तचिल्लोको गडबडी गराई नशालाई साँघुर्‍याई दिनेहुँदा रक्तचाप बढाउँछ । यसैगरी जङ्कफुडमा हालिएका धेरै अखाद्य पदार्थहरूले रक्तनलीको भित्रीपत्रको इन्फ्लामेसन गराउने हुँदा यसले पनि रक्तचाप  बढाउन मद्धत गर्छ ।

१५.रगतमा चिल्लोको गडबडी

जङ्कफुडको सेवनले व्यापक रूपमा रक्तचिल्लोको गडबडी गराउँछ । यसो हुनुको मुख्यकारण जङ्कफुडमा उच्चमात्रामा हालिएको चिल्लो हो । उच्च चिल्लोले शरीरमा कोलेस्टेरोल र ट्राइग्लिसिराइडको मात्रा बढ्छ । यसैगरी जङ्कफुडमा हालिने ट्रान्स फ्याटले पनि राम्रो कोलेस्टेरोल एचडीएलको रक्त मात्रा कम गर्ने र नराम्रो कोलेस्टेरोल एलडीएललाई बढाउने काम गर्छ । यसैगरी जङ्कफुडमा हालिएको उच्च चिल्लोले फ्याट्टी लिवर गराउने हुँदा यसले पनि रक्तचिल्लोको गडबडी गराउनमा मद्धत गर्छ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर–१ वागीश्वरी चितवनका मेडिकल डाइरेक्टर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?