Comments Add Comment

रिलायन्स सुगर मिल सञ्चालनको तयारी, किसानलाई चलानी वितरण शुरु

१ पुस, वीरगञ्ज । बाराको मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले किसानलाई चलानी वितरण शुरु गरेको छ । शुक्रबारबाट उद्योग सञ्चालनमा ल्याउने तयारी गर्दै उद्योगले चलानी वितरण शुरु गरेको हो ।

किसानसँगको सहमतिमा उद्योग सञ्चालनमा ल्याउन चलान वितरण गरिएको उद्योगका सञ्चालक पूर्व सभासद राजकुमार अग्रवालले जानकारी दिए । ‘ यसअघि नै ६५ हजार क्विन्टल उखु खरिद गर्न चलानी पठाइसकेका छौं, ६० हजार क्विन्टलको चलानी दोस्रो लटमा आज पठाएका छौं’ अग्रवालले भने ‘७÷८ हजार क्विन्टल उखु आयो भने क्रसिङ शुरु गर्छौं ।’

शुक्रबारबाट उद्योगले क्रसिङ शुरु गर्ने गरी तयारी सुरु गरिएको जानकारी उनले दिए । उद्योगले बारा, पर्सा र रौतहटका उद्योगको उखु संकलन गरेर क्रसिङ गर्दै आएको छ । सिजनमा ५० लाख क्वीन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता रिलायन्स सुगर उद्योगको छ । तर वर्षेनी २० देखि २२ लाख क्वीन्टल मात्रै उखु आउने गरेको उद्योगका सञ्चालक अग्रवाल बताउँछन् ।

चिनी उद्योगीका कारण मात्रै नभएर सरकारको नीतिका कारण पनि उखु खेतिमा किसानको आकर्षण घटेको उनको दावी छ ।

२० प्रतिशत लागत वृद्धि भएको किसानको दावी

सर्लाही, महोत्तरी, रौतहटका चिनी उद्योगहरुले पनि डुंगा पूजा गरेर चलानी वितरण शुरु गरेका छन् । खेतमा उखु तयारी अवस्थामा रहेकोले पुरानै दरमा उखु उद्योगलाई दिने तयारी थालिएको हो ।

तर नयाँ मूल्य कायम भएपछि बढेको रकम भुक्तानी गर्नुपर्ने, उखु उद्योगमा पुर्‍याएको २० दिनभित्र १५ दिनको भुक्तानी दिनुपर्ने अडान किसानको छ । यसबीचमा कृषि मन्त्रालयले प्रति क्वीन्टल उखुको मूल्य ५ सय ४४ रुपैयाँ उद्योग मन्त्रालयमा सिफारिस गरेको जानकारीमा आएको र त्यो मूल्यलाई अस्वीकार गर्ने किसान अगुवाको भनाइ छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम हुनुपर्ने बताउँछन् ।

‘५२ रुपैयाँ प्रतिकिलो चिनी हुँदा कायम गरिएको उखुको मुल्य नै कायम छ । यसवर्ष मात्रै उखु उत्पादन लागत २० प्रतिशत वृद्धि भएको छ’ मैनालीले भने ‘सरकारले ५ सय ४४ रुपैयाँ प्रतिक्विन्टल कायम गर्ने चर्चा छ । ६ सय १७ रुपैयाँ पाउनुपर्ने अडान हाम्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment