Comments Add Comment

माउन्टेन गाइडलाई पनि सरकारले लाइसेन्स दिने

३ पुस, काठमाडौं । सरकारले अब माउन्टेन गाइडलाई समेत आधिकारिक लाइसेन्स  वितरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले अब लाइसेन्स नलिएका व्यक्तिले हिमाल आरोहणको काम गर्न नपाउने गरी कानूनि संरचना बनाएको हो ।

यससँगै लाइसेन्स वितरणको तयारी गरिएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । ‘कानूनी संरचना तयार भयो’,उनले भनिन्, ‘अब हामी लाइसेन्स वितरण थाल्छौं ।’

नेपालमा पर्वतारोहणमा जाने सबै टोलीले न्यूनतम एक जना माउन्टेन गाइड लैजानैपर्ने प्रावधान रहेको छ । यसअघि सरकारले नेपाल पर्वतारोहण संघबाट सिफारिस भई आएका माउन्टेन गाइडलाई आरोहणमा मान्यता दिने गरेको थियो । अब भने सरकारी लाइसेन्स होल्डरले मात्र यो अवसर पाउने भएका हुन् ।

नेपालमा करिब २ हजारको संख्यामा माउन्टेन गाइड रहेको अनुमान छ । विगतमा पूख्र्यौली पेशाका रुपमा रहेको माउन्टेन गाइड अब भने व्यवसायिक बनेको छ ।

यो प्रावधानपछि अब नेपालमा माउन्टेन गाइडको यकिन संख्या पनि पत्ता लाग्ने छ । नेपालमा अफ सिजन भएका बेला धेरैजसो माउन्टेन गाइडले विदेशमा काम पाउँछन् । त्यसबेला समेत सरकारी लाइसेन्स होल्डरलाई सहज हुने सरकारको विश्वास छ ।

आरोहीले सिधै पाउने

विगतदेखि हिमाल आरोहण गरि अनुभवी माउन्टेन गाइडले आरोहण रेकर्डका आधारमा सिधै लाइसेन्स पाउने भएका छन् । हरेक आरोहण सिजनपछि नेपाल पर्वतारोहण संघले हिमाल पुगेका आरोहीको रेकर्ड राख्ने गर्छ ।

अन्य माउन्टेन गाइडले भने तालीम, कोर्ष पुरा गरेको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । नेपाल पर्वतारोहण संघले उपलब्ध गराउने रेडबुक होल्डर माउन्टेन गाइडले समेत सोही अनुभवको आधारमा सरकारी लाइसेन्स प्राप्त गर्ने भएका छन् ।

अब सरकारी लाइसेन्स नभएका माउन्टेन गाइडले आरोहण टोलीलाई लिएर हिमाल जान पाउने छैनन् । एउटा टोलीमा हुनुपर्ने न्यूनतम संख्या एक हुन्छ ।

तर, ठूलो आरोहण दल छ भने धेरै माउन्टेन गाइड आवश्यक पर्छ । लाइसेन्स बिना हिमाल आरोहणमा जाने सहयोगी भने हाइअल्टिच्यूड पोर्टरको रुपमा मात्र मान्यता पाउने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment