+
+

रिपोर्टरको डायरी : बालुवाटार र बबरमहलमा देखिएका ती मलिन अनुहार  

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ पुष ८ गते १०:४८

देख्छु मैले हिजोआज

नामी मान्छेको घर बिग्रिएको

घरको छानोबाट पानी चुहेको

शरीर घाउ खटिराले कुहेको

सन्तानहरु बुद्धिहीन भई तुहेको

ठाडो शिर लाज मानेर नुहेको ।

प्रितम पाण्डेको कविताका यी हरफ यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताको हकमा पनि लागु हुन्छ ।

पाण्डेले कवितामा भनेजस्तै गत निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त नेकपा एउटा नामी घर थियो । तर, अहिले त्यही घर बिग्रिएको छ । ०७५ साल जेठ ३ गते बडो उत्साहका साथ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मंगलबारसम्म आइपुग्दा दुई टुक्रा भएको छ ।

एउटा टुक्रा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालेका छन् भने अर्को टुक्रा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त रुपमा सम्हालेका छन् ।

दुवै समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार फरक–फरक ठाउँमा बस्यो । दुबै समितिले केही औपचारिक निर्णय गरे । आफ्नो निर्णय र बैठक तथा टुक्रा वैध भएको दाबी प्रस्तुत गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठक

ओलीले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समितिको बैठक राखेका थिए । बैठकपछि एक जना केन्द्रीय सदस्यलाई ‘कत्तिको उत्साही हुनुहुन्छ ? भनेर सोधियो । उनको जवाफ थियो– तपाईंहरु बुझिहाल्नुहुन्छ नि यो बाध्यातात्मक परिस्थिति । कस्तो बाध्यात्मक ? भनेर प्रतिप्रश्न गर्नै भ्याइएन आफ्नो बाटो लागिहाले ।

बैठक सकिएपछि नयाँ प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवाली पत्रकारहरुसामु आए । निर्णयहरु सुनाए– केन्द्रीय कमिटी विस्तार, अब ११९९ सदस्यीय । पार्टीको महाधिवेशन २०७८ साल मंसिर २ गते, संसद विघटन नयाँ निर्वाचन घोषणालाई, समर्थन आदि इत्यादि ।

त्यसपछि सन्चारकर्मीले प्रश्न गरे– तपाईं परराष्ट्रमन्त्रीसमेत हुनुहुन्छ, यो नेकपाको विभाजन विदेशीले गरेको भन्ने पनि छ नि ? जस्तै, रअको प्रमुखसँग प्रधानमन्त्रीले भेटिसकेपछि एउटा कुरा भयो, त्यस्तै एमसीसीसँग सम्बन्धित रहेर नेपालको शक्ति सन्तुलनचाहिँ बाह्य हस्तक्षेपका कारणले भै राखेको छ भन्ने पनि छ नि ?

ज्ञवालीले जवाफ दिए, ‘पहिलो कुरा त पार्टी विभाजित भएको छैन । विभाजन नै नभएको हुनाले यसमा कसैको हात देखिरहनु परेन । आफ्नो थैलीको मुख बलियो गरी बाँधौं, अरु कसैलाई दोष नदिऔं । तपाईंले आफ्ना समस्याहरुको समाधान आफैं गर्न सक्नुहुन्न भने अरुलाई दोष दिएर पन्छिन पाइँदैन ।’

तर, यसो भनिरहँदा ज्ञवालीका निधार खुम्चिरहेका थिए ।

पत्रकारहरु प्रश्न गरिरहेका थिए, ‘साढे दुई वर्ष त प्रधानमन्त्रीलाई साथ थियो त, के गर्नुभयो ?

ज्ञवाली ‘हामी छिट्टै के–के ग¥यौं भन्ने कुराको आधिकारिक, डेटामा, ग्राफिक्समा लिएर आउँछौं भनेर पन्छिरहेका थिए ।

एक प्रकारले ज्ञवालीको मात्रै नभएर बैठकमा सहभागी भएर फर्किएकाहरुको शिर नुहेको थियो, उनीहरु निराश देखिन्थे । कोही मिडियासँग बोल्न चाहिरहेका थिएनन् । आफैँ मिडियासामु आउने नेताहरु यसपटक पन्छिरहेका थिए, उनीहरुको अनुहारमा एक खालको पीडा देखिन्थ्यो ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पनि निराशा !

धेरैलाई लाग्न सक्छ ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये ३१५ जना सहभागी भएको प्रचण्ड–माधव नेपाल पक्षको बैठकमा त निकै उत्साह थियो होला । बहुमत छ भनेर उत्साही भएका होलान् ।

तर, कार्की ब्याङ्क्वेट बबरमहलको माहोल पनि बालुवाटार भन्दा फरक थिएन । त्यहाँ पुगेका नेता कार्यकर्ता र पत्रकारले बाहिरै बसेर पनि शीर्ष नेताहरुका भाषण सुन्न पाएका थिए । बालुवाटारमा सरकारी टेलिभिजन नेपाल टेलिभिजनका पत्रकार बाहेकलाई बैठक कक्षको फोटो, भिडियो लिन दिइएको थिएन । कार्की ब्याङक्वेटमा केन्द्रीय समिति बैठक सुरु भयो भनेर केहीले सुरुवातमा लाइभ नै गर्न पाए ।

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी पनि त्यहीँ बसेको थियो बैठक सकेर निस्कँदै गर्दा भीम रावललाई के–के भयो भनेर प्रश्न गर्दा उनी फिस्स हाँस्दै गलेको अनुहार देखाएर तर्किएर हिँडे ।

तर, केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष केपी ओलीलाई कारबाही गर्ने प्रस्ताव उनै रावलले राखे । त्यसपछि बाहिर रहेकाहरु रावल यो समूहको महासचिव रहेछ भनेर अड्कल काटे ।

कार्की ब्याङ्क्वेट परिसरमा कार्यकर्ता पनि पुगेका थिए । कोही उत्साही थिएनन् । निराश देखिन्थे, अबको भविष्य के होला भन्ने चिन्ता उनीहरुका अनुहारमा प्रष्टै देखिन्थ्यो ।

निराश भीडलाई अध्यक्ष प्रचण्डले अझ निराश बनाए । आफूलाई अर्का अध्यक्ष ओलीले गरेको ‘अपमान’को फेहरिस्त सुनाए । भीडलाई भन्दै थिए, ‘संसारमा पीडकहरु कम हुन्छन् । पीडितहरु धेरै हुन्छन् । हामी पीडित हौं ।’

तथापि, उनले आफूहरुको समूह नै वैध पार्टी भएको दाबी गरे । यस्तै दाबी वालुवाटारमा केपी ओलीले पनि गरेका थिए । ओलीको तर्क थियो– अध्यक्ष र महासचिवविनाको पनि बैठक हुन्छ ? यता प्रचण्ड भन्दै थिए दुई तिहाइ बहुमत केन्द्रीय सदस्यहरु यहाँ छौं एक तिहाइको बैठक कसरी वैध हुन्छ ?

त्यहीँ नयाँ केन्द्रीय सदस्यहरु थपेर केपी ओलीले केन्द्रीय समितिमा सदस्यहरुको संख्या ११९९ बनाइदिए । त्यसबाट कार्यकर्तामा एक खालको खुसीयाली छाउँछ भन्ने उनलाई लागेको थियो होला तर, केही घण्टापछि नै ओलीले नयाँ केन्द्रीय सदस्य भनेकाहरुले अस्वीकार गरेका समाचार आउन थाले । यसले बालुवाटार मात्रै नभएर ओलीकै गृहजिल्ला झापाकै कार्यकर्ता खुसी रहेनछन् भन्ने देखायो ।

यता कार्की ब्याङ्क्वेटको बैठक सकिएपछि नारायणकाजी श्रेष्ठले निर्णयहरुबारे पत्रकारलाई जानकारी गराए । उनले पनि अब यसरी नै जाने भन्ने प्रष्ट भन्न सकेनन् ।

प्रितम पाण्डेको कवितामा भनिएजस्तै नामी घर बिग्रिएपछि बसेको वालुवाटार र कार्की ब्याङ्क्वेटमा दुबै पक्षले जितेको अभिनय गरे ।

शीर्ष नेताले चर्का भाषण गरे । नेता कार्यक्रतालाई उत्साही बनाउन भरमग्दुर प्रयास गरे । तर नेता र कार्यकर्ता भने निकै निराश थिए, उनीहरुमा कुनै उत्साह थिएन ।

नेकपारुपी घरको छानो चुहेको मात्रै होइन, भत्किएर दुई टुक्रै भयो । शरीर घाउ खटिराले कुहेर उपचार नलाग्नेतिर गयो । दुई तिहाइको दम्भरुपी नेकपाको ठाडो शिर लाज मानेर नुह्यो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?