Comments Add Comment
हाइकिङ-२ :

तारेभीर : पारिलो घाम ताप्दै काठमाडौंको दृष्यपान

एलिना लामा

काठमाडौंको घनावस्तीमा गुम्सिरहँदा तपाईलाई लाग्छ, उपत्यका कंक्रिटको जंगल हो । यहाँ अब खाली जमिन नै बाँकी छैन । तर, काठमाडौंबाट २-३ घण्टा मात्र पैदलयात्रा गर्नुभयो भने फरक माहोलमा रम्न पुग्नुहुनेछ ।

हामी कुरा गर्दैछौं, काठमाडौंको उत्तरी भेगमा पर्ने डाँडा तारेभीरको । शिवपुरी राष्ट्रिय निकुञ्जकै एक भाग हो तारेभीर । त्यहाँबाट स्पष्ट देखिन्छ, काठमाडौंका दुई स्वरुप । एउटा घना बस्तीले घेरिएको गञ्जागोल काठमाडौं, अर्को कृषि कर्ममा व्यस्त रमणीय काठमाडौं ।

नामजस्तै कहालीलाग्दो भीरकै कारण यो स्थान चर्चित छ । तर नडराउनुस्, तपाईंले त्यो भीर भने चढ्नु पर्दैन । त्यसको फेदीमा पुगी तामाङ बस्तीमा पाइने स्थानीय परिकारमा रमाउन सकिन्छ । साथै पुरै काठमाडौंको दृष्यपान गर्न सकिन्छ । छोटो घुमघाममा जाने यात्रुका लागि यो हाइकिङ रुट अविश्वमरणीय बन्न सक्छ ।

गोकर्णेश्वर नगरपालिकामा बस्ने धु्रव डङ्गोल समय मिल्यो कि तारेभीरको उकालो उक्लिन पुगिहाल्छन् ।

उनी भन्छन्, ‘यहाँबाट काठमाडौं नियाल्दा बेग्लै आनन्द आउँछ ।’

कसरी जाने ?

तारेभीरको यात्राका लागि तपाईले गोकर्णस्थित निजामति शहीद स्मृति पार्कलाई तल्लो स्टेसन बनाउनुपर्छ । लामो यात्रा गर्न चाहनेका लागि शिवपुरी हुँदै तारेभीर जान सक्ने विकल्प पनि छ ।

अन्य दुई रुट पनि छन् । बुढानिलकण्ठस्थित देउवाचोकबाट पनि  तारेभीरको उकालो लाग्न सकिन्छ । साथै, गोकर्णस्थित निजामति शहीद स्मृति पार्क नपुग्दै गोकर्णेश्वर महादेव मन्दिरबाट सुन्ताखान गाउँ हुँदै उकालो लाग्दा पनि हुन्छ । तथापि यी दुई रुटमा भने केही अलमल हुन सक्छ । त्यसकारण छोटो र सहज यात्राका लागि निजामति शहीद स्मृति पार्कबाट हाइकिङ सुरु गर्न सकिन्छ ।

गोकर्णबाट अधिकतम् साढे दुई घण्टा जाँदा र फर्कंदा डेढ घण्टा यो रुटलाई छुट्याउनु होस् । तारेभीरमा कति समय बिताउने, त्यो भने तपाईको अनुकुलतामा भर पर्छ । बुढानीलकण्ठबाट उकालो चढ्दै गर्दा नागीगुम्बा पुगेर तारेभीर र्झन सकेत सकिन्छ । तर, अहिले गुम्बाहरु बन्द छन् । त्यसकारण तारेभीरसम्मको मात्र गन्तब्य बनाएर यात्रा थाल्नुहोस् ।

शहीद पार्कमै पार्किङ

सार्वजनिक सवारीबाट गोकर्ण पुग्ने हो भने पुरानो बसपार्कबाट गोकर्ण जाने बस चढ्नुहोस् । गोकर्ण बसपार्क ओर्लेपछि निजामती शहीद स्मृति पार्क जान उकालो सिँढी चढ्नुपर्छ । सिँढी उक्लेर दायाँतर्फ लाग्नुभयो भने गोकर्णेश्वर महादेव मन्दिर पुगिन्छ । मन्दिरतर्फबाट सुन्ताखान हुँदै तारेभीर जान सकिन्छ ।

बायाँतर्फ लाग्नुभयो भने पार्कको गेटमा पुग्न सकिन्छ । यहाँ सवारी साधनसमेत लैजान सकिन्छ । आफ्नो सवारी हुनेले पार्कको गेट आसपास वा पार्कको पार्किङमा सवारी राख्न सक्नु हुन्छ । पार्कको मूखमै खाजा पसल छन् । पैदल यात्रा गर्नुअगाडि केही खाएर उकालो लाग्ने मुडमा हुनुहुन्छ भने यस रुटमा त्यो सुविधा उपलब्ध छ ।

अर्कोतर्फ बुढानीलकण्ठस्थित देउवाचोक, चपली हाइट रिसोर्टबाट यात्रा सुरु गरी सिमल डाँडा हुँदै पनि यात्रा गर्न सकिन्छ । यो रुटका लागि भने पुरानो बसपार्कबाट बुढानीलकण्ठ जाने सवारीसाधन चढ्नुपर्छ । पुरानो बसपार्कबाट सुन्ताखान बसपार्कसम्म सार्वजनिक बस चढेर जान सकिन्छ । त्यहाँबाट एक घण्टा उकालो चढेर समेत तारेभीर पुगिन्छ ।

आवश्यक तयारी

यो रुटमा जाँदा पिउने पानी आफुसँगै बोक्नुहोस् । तारेभीर गन्तब्य बनाएपछि सो स्थानमा तामाङ वस्ती पुगिन्छ । त्यसैले गन्तब्यमा खानाको चिन्ता भने हुने छैन । तर, यात्रा अवधिभर तलतल मेटाउन केही फलफूल बोक्न सक्नुहुन्छ ।

तारेभीर पुगिसकेपछि भने स्थानीयले न्यायो आतिथ्यसहित खानाको व्यवस्थापन गरिदिन्छन् । लोकल भालेको झोलसँग ढिँडोको स्वादमा रमाउने कि ? या भुटेको मकै चपाउने ?

सिजनमा पुग्नुभयो भने पिँडालु उसिनेर पनि स्थानीयले तपाईंलाई स्वागत गर्छन् । तारेभीरमा करिब २५० घर-परिवार बस्छन् । त्यसमध्ये तामाङ जातीको बाहुल्य छ । आफ्नो इच्छाअनुसारको परिकार अर्डर गरी निश्चित सेवाशूल्क तिरेर खाना खान सकिन्छ । त्यहाँ पुगेर व्यवस्थित रेष्टुराँ भने नखोज्नु होला ।

तारेभीर उक्लदैं गर्दा जब बस्ती शुरु हुन्छ, एकप्रकारको गन्ध नाकमा ठोकिन आइपुग्छ । मदिरा पिउनेहरुका लागि भने यो हरहर बास्ना हो । तारेभीरको विशेषता लोकल रक्सी पनि हो । तारेभीरमा बढी फल्ने अन्न कोदो, मकै र फापर हुन् । कोदो, गहुँजस्ता अन्नबाट तयार पारिएको रक्सी किन्नकै लागि हाइकिङ जानेहरु समेत यहाँ भेटिन्छन् ।

बाँदर लड्ने भीर

तारेभीरको यात्रामा मूख्य आकर्षण तारेभीर नै हो । स्थानीयहरु यसलाई बाँदर पनि लड्ने भीरका रुपमा चित्रित गर्छन् । यो भिर निकै डरलाग्दो छ । भीरको काखमा ठूल्ठूला चट्टानको बीचमै छ बस्ती । पछिल्लो समय मोटरबाटो समेत खनिएका हुनाले निजी सवारी साधन लगेरै पनि तारेभीर पुग्न सकिन्छ ।

तारेभीर चढ्न भने सकिँदैन् । यसको फेदीमा रहेको वस्तीबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिन्छ । त्रिभुवन विमानस्थल त आँखै अगाडि पर्छ । विमानस्थलमा जहाजहरुको उडान अवतरणदेखि शहरका ठूल्ठूला संरचना अवलोकन गर्दै रमाउन सकिन्छ ।

तारेभीर चढ्दै गर्दा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा रोमाञ्चक बनाउने छ । बीच-बीचबाट देखिने शहर र प्रकृतिको मज्जा लिँदै यो रुटमा यात्रा गर्न सकिन्छ ।

हिँउदको पारिलो घाम

यतिबेला तारेभीर यात्राको मज्जा मौसमी अनुकुलता पनि हो । तारेभीर यस्तो गन्तब्य हो, जहाँ गर्मी महिनामा जंगलबाट आउने शीतल हावामा रमाउन सकिन्छ भने जाडो महिनामा पारिलो घाम लाग्छ ।

परिवार, साथीभाई वा एक्लै पनि यात्रामा जान सकिने स्थान हो तारेभिर । तपाइर्ं. कामकाजी हुनुहुन्छ र बिहान भरमा यात्रा सकेर कार्यालय पुग्नु छ भने पनि यो गन्तब्य रोज्न सक्नुहुन्छ ।

टिप्स

  • न्यायो कपडा र स्पोट्र्स जुत्ता लगाउनुहोस्
  • तारेभीरबाट नागिगुम्बातर्फ भने नलाग्नुहोस्, किनकी गुम्बाहरु बन्द छन्
  • बिहान ८ बजेपछि यात्रा सुरु गर्दा अधिक चिसोबाट पनि बच्न सकिन्छ
  • यात्रा शुरु गर्नु अगाडि तातो चिया वा हल्का नास्ता लिँदा राम्रो
  • सवारी साधन नलगी सार्वजनिक सवारीमा जाने हो भने एउटा रुटबाट चढेर अर्को रुटबाट र्झन सकिन्छ
  • अलिकति पैसा बोक्नुहोस्, बाटोमा लोकल साग, काउली फेला पर्‍यो भने किन नकिन्ने ?

    यो पनि पढ्नुहोस हाइकिङ : विहंगम दृश्यावलोकनका लागि चन्द्रागिरि
    यो पनि पढ्नुहोस काठमाडौं वरिपरिका हाइकिङ रुट : भद्रगोल व्यवस्थापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment