Comments Add Comment

युयुत्सु आरडी शर्मा : घुमन्ते हिमाली कवि !

सन् १९९८ को समय । अंग्रेजीका प्राध्यापक युयुत्सु आरडी शर्माले त्रिचन्द्र क्याम्पस पढाएको डेढ दशक भइसकेको थियो । विश्वविद्यालयको ह्रासोन्मुख अवस्थाले दिक्क भएका शर्माले पढाउने काम सधैंका लागि छाड्ने निधो गरे । फुर्सदिलो भएपछि उनलाई कारगारबाट छुटेझैं भयो ।

‘हिमाली कवि’को परिचय बनाएका युयुत्सु आरडी शर्मा पञ्जाबमा जन्मिएका हुन् । त्रिचन्द्रको जागिर  छाडेपछि उनी नेपालका नघुमेका गन्तव्यहरू घुम्न निस्किए । पोखरा, घान्द्रुक र अन्नपूर्ण आधार शिविर आसपास  पुगेर कविता लेख्न थाले ।

प्राध्यापन कर्ममै रहेका बेला पनि अंग्रेजीमा कविता लेख्ने युयुत्सुको कलम अन्नपूर्ण क्षेत्र गएपछि रफ्तारमा दौडियो । आज ‘हिमाली कवि’ भनेर विश्वले चिन्ने कविताहरू उनले त्यसै समय लेखेका हुन् । हिमालका कविता बोकेर उनले संसार डुल्न थालेको दुई दशक भइसकेको छ ।

हिमाञ्चल प्रदेशका पिता र पञ्जावी आमाबाट सन् १९६० जनवरी ५ मा पञ्जाब नकोदरमा शर्माको जन्म भएको हो । पिता जोगी–साधुको संगत गर्थे । मावली हजुरबुबा धीरुराम शर्माको घरमा उनी हुर्किए । धीरुराम नामी पण्डित थिए । उनैसँगको समीपमा रहेर युयुत्सको बाल्यकाल बित्यो ।

बाल्यकालमाथि कुरा गर्दा उत्साही हुने युयुत्सु सुनाउँछन्, ‘हजुरबुबा अंग्रेजी र दर्शनशास्त्रमा अब्बल हुनुहन्थ्यो । उहाँकै प्रेरणामा अंग्रेजी भाषा र साहित्यप्रति मोह बस्यो ।’

युयुत्सुले विद्यालय शिक्षा पञ्जाबको नाकाडोरमै पुरा गरे । मातृभाषा पञ्जाबी भएपनि विद्यालय हिन्दी र अंग्रेजी पढ्नुपर्यो । त्यही माहोलमा उनले तीनवटा भाषा बोल्न सिके । स्कुलपछि विश्वविद्यालय पढ्न राजस्थान गए । त्यहाँ अंग्रेजी साहित्यमा एमफिलसम्म अध्ययन गरेपछि युयुत्सुले पञ्जाबमै क्याम्पस पढाउने जागिर पाए ।

एकदिन एमफिलको थेसिस बुझाउन जाँदा युयुत्सुको भेट नेपालका गुणनिधि शर्मासँग भयो । कुराकानीको क्रममा गुणनिधिले ‘नेपालमा पढाउने प्राध्यापकको माग छ जाऊँ है !’ भनेछन् । नयाँ ठाउँ घुम्न मन पराउने युयुत्सुलाई यो अफरले लोभ्यायो ।

युयुत्सु खुलाउँछन्- केही वर्ष पढाउन आएको मान्छे काठमाडौंमै जरा गाड्न पुगें । अब त मेरो सारा जीवन यहीँ जोडिएको छ

केही महिनापछि उनै गुणनिधिले काठमाडौंबाट १४ सय रुपैयाँ तलब दिने र भोजपुर क्याम्पसमा पढाउने आशयको चिठी युयुत्सुलाई पठाए । नेपाल आएको प्रसंगबारे उनी सुनाउँछन्, ‘पञ्जाबमै मेरो जागिर थियो । तर साथीहरूले नेपाल गएर घुमेर आउँदा केही नयाँ कुरा थाहा हुन्छ भनेपछि मात्रै नेपाल जाने अठोट गरें ।’

नेपाल जान्छु भने पनि युयुत्सुलाई कुन बाटो नेपाल पुगिन्छ केही भेउ थिएन । सोध्दैखोज्दै उनी दिल्ली पुगे । त्यहाँबाट नेपाल जाने गाडी सोधे । तर पत्ता लागेन । कुनै सज्जनले गोरखपुर जाऊ त्यहाँबाट नेपालगञ्ज पुगिन्छ भनेपछि उनी गोरखपुर हान्निए । त्यहाँबाट नेपालगञ्ज तिरको रेल समाते ।

युयुत्सु सुनाउँछन्, ‘अन्धाधुन्ध हिँडेको थिएँ । रेलमा नेपालकै एकजना लावती थरका युवकसँग भेट भयो । अनि म उनकै पछि लागेँ ।’

कर्मथलो काठमाडौं

रेलमा भेटिएका लावती थरका युवकको पछि लागेर २०३७ सालमा युयुत्सु काठमाडौं आइपुगे । पहिलो दिन घट्टेकुलोस्थित तीनै नवपरिचितको घरमा बास बसे । भोलिपल्ट सोध्दैखोज्दै त्रिभुवन विश्वविद्यालाय पुगे ।

विश्वविद्यालय पुगेपछि युयुत्सुलाई भोजपुर पठाउने कुरा भएछ । हेमन्त रानाले छेउमा बसेर युयुत्सुको कुरा सुनिरहेका छन् । रानालाई युयुत्सुले अंग्रेजी बोलेको निकै मन परेछ । उनी सुनाउँछन्, ‘हेमन्त रानाले मेरो अंग्रेजी सुनेर सैनिक स्कुलमा पढाउने अफर गरे । तलब पनि आकर्षक लागेपछि म रानाकै पिछा गरेर भीमफेदी हान्निएँ ।’

अन्ततः युयुत्सुले सैनिस स्कुल भीमफेदीमा पढाउने भए । फर्पिङसम्म गाडीमा गएपछि उनी ट्रक चढे । पञ्जाव र राजस्थानजस्तो विशाल सहरमा हुर्केका उनलाई भीमफेदीको ट्रकले उडाएको धुलोले विरक्त बनायो । तर भीमफेदी सैनिक स्कुलमा पुगेपछि उनलाई सेनाका मान्छे जिप लिएर लिन आए । स्वागत गरे ।

स्कुलले बस्ने क्वाटर दिएको थियो । तर युयुत्सु गाउँतिरै घुम्थे । त्यहाँका जनताको घर–आँगनमा बस्थे । भीमफेदी आउँदासम्म एक शब्द नेपाली नजान्ने उनले त्यहीँ नेपाली भाषा सिक्न थाले । आज उनी भीमफेदीका अक्षर लेख्न नजान्ने गाउँलेले आफूलाई नेपाली भाषा सिकाएकोमा अनुगृहीत छन् ।

शर्मा खुलाउँछन्,  ‘झसङ्ग भनेको के हो भनेर सोध्थें । गाउँलले आगोलाई छोएर झसंग भएको हाउभाउ गरेपछि मात्र त्यसको अर्थ बुझ्थेँ । आज जेजति नेपाली जानेको छु त्यो भीमफेदीका जनताले सिकाएका हुन् ।’

युयुत्सुले दुई वर्ष सैनिक विद्यालय पढाएपछि विद्यालय भक्तपुर सल्लाघारीमा सर्यो । त्यहाँ एक वर्ष पढाएपछि उनी काठमाडौंका क्याम्पसमा पढाउन थाले । केही समयपछि त्रिचन्द्र क्याम्पस आबद्ध भए । जागिर करार सम्झौताको थियो । बचेको समय साहित्यको अनुवाद गर्थे ।

काठमाडौं आएको पाँच वर्षमै युयुत्सुका धेरै नेपाली साथी बनिसकेका थिए । प्राध्यापकको रुपमा सबैले आदर गर्ने भएकाले  उनले नेपाली साहित्यकारहरू चिन्न थाले । काठमाडौंका कवि गोष्ठीमा जान थाले ।

त्रिचन्द्र पढाउँदा अच्युत वाग्ले, पत्रकार नारायण वाग्ले युयुत्सुका विद्यार्थी थिए । सहकर्मी प्राध्यापकहरूसँग पनि उनको हिमचिम बढ्दै गयो । युयुत्सु खुलाउँछन्, ‘केही वर्ष पढाउन आएको मान्छे काठमाडौंमै जरा गाड्न पुगें । अब त मेरो सारा जीवन यहीँ जोडिएको छ ।’

त्रिचन्द्रमै पढाउँदा काठमाडौं कुपण्डोलकी सृजना भण्डारीसँग उनको विवाह भयो । अहिले युयुत्सु एक छोरा, छोरी र श्रीमतिसँगै कोटेश्वर नरेफाँटको घरमा बस्छन् । कुनै महिनाको आधा समय युरोपको गल्ली चहार्ने युयुत्सु आधा महिना काठमाडौंकै गल्लीमा भेटिन्छन् । आज काठमाडौंकै शैलेन्द्र साकार, विमल निभा तथा नयाँ पुस्ताका अमर आकाशसम्म उनको मित्रता झाँगिएको छ ।

कविताका साधक

पञ्जाबमा रहँदा नै युयुत्सुलाई कविताको लत बसेको थियो । स्कुलमा छँदै अंग्रेजी साहित्यका महत्त्वपूर्ण रचना पढिसकेका थिए उनले । राजस्थानमा विश्वविद्यायल पढ्दा उनको कविता लेख्ने क्रम बढ्यो ।

काठमाडौंका क्याम्पसमा अध्यापन गर्दा पनि युयुत्सु अंग्रेजीमै कविता लेख्थे । तर व्यस्तताले उनको कवि परिचय लुकेको थियो । त्रिचन्द्रको जागिर छाडेपछि उनले सबै तनमन कवितालाई दिए ।

युयुत्सु सुनाउँछन्, ‘मभित्र कविताको ज्वार रहेछ भन्ने कुरा धेरैपछि मात्र थाहा पाएँ । त्यस दिनदेखि समर्पित भएर कविता लेखिरहेको छु ।’

अन्नपूर्ण क्षेत्र घुम्दा उनकोे कवि हृदय सम्पूर्णतः द्रवीत भयो । सबै उर्जाका साथ अन्नपूर्ण क्षेत्रको कविता लेखेर पुस्तकको रुप दिए । युयुत्सुले लेखेका नेपाली जनजीवन र हिमाली सौन्दर्यको कविता अमेरिकी तथा युरोपका पाठकले रुचाए । उनलाई एकपछि अर्को कविता सुनाउने निम्ता आउन थाल्यो । त्यो क्रम आजसम्म निरन्तर छ । पछिल्लो दुई दशकमा तीन दर्जन बढी देश घुमिसकेका छन् । जहाँ जान्छन्, नेपाली सभ्यता र सौन्दर्यको कविता सुनाउँछन् ।

अहिलेसम्म युयुत्सुका दश थान अंग्रेजी कवितासंग्रह प्रकाशित भइसकेको छ । एक नेपाली कवितासंग्रह र एकदर्जन अनुवाद पुस्तक प्रकाशित गरेका उनी अब आत्संस्मरण लेख्ने तयारीमा छन् । साहित्य यात्राकै क्रममा  दिल्लीमा प्रकाशन गृह ‘निराला’ खोलेका छन् । नेपाली साहित्यकारका पुस्तक पनि उनकै पहलमा निरालाबाट छापिएको छ ।

सन् २००० आसपास युयुत्सुले ललितपुर कुपण्डोलमा ‘ह्वाइट लोटस बुक सप’ खोलेका छन् । नेपालमा रहँदा आफ्नो पसलमै कवि गोष्ठी गर्छन् । नेपाली साहित्यकारसँग गफिन्छन् ।

‘तपाईं कवि बन्न चाहनुहुन्छ भने आफ्नो घरमा आगो लाएर हिँड्नुस्’ भन्ने उद्गारले नै युयुत्सुलाई यायावर बनाएको हो

नेपालमा बसेको कवि युरोप अमेरिकामा लोकप्रिय भएको देखेर धेरै मानिस युयुत्सुलाई आश्चर्यभावले हेर्छन् । तर त्यसभित्र कुनै भित्री कुरा नलुकेको उनी बताउँछन् । भन्छन्,  ‘मेरो मूल्यांकलन गर्ने समीक्षक अमेरिका, ब्रिटेन र यूरोपमा छन् । उनीहरूले मेरो कविताको भाव मन पराएर गर्दा म चिनिएको हुँ ।’

आफ्ना हिमाली सौन्दर्य र स्तुतिका कविता सुनेर पश्चिमेली पाठक मुग्ध भएको उनी बताउँछन् । अहिले युरोपेली समाजले नेपाली कविलाई बोलाउँदा युयुत्सु छुट्दैनन् । तर त्यहाँ गएर आफ्नोमात्र होइन अन्य नेपाली कविको कविता पनि सुनाएका छन् उनले । सयौं नेपाली कविता अनुवाद गरेर ‘प्रतीक’ प्रत्रिकामा प्रकाशन गरेका छन् । युरोपमा उनको ‘अन्नपूर्ण पोयम्स’ पाँच संस्करण बिकिसकेको छ । पछि उनले न्यूयोर्क सहरमाथि कवितासंग्रह निकाले ।

एकदिन भीमफेदीमै छँदा साथी रामानन्द राठीले तपाईं त महाभारतको ‘युयुत्सु’जस्तो भनेपछि उनले आफ्नो साहित्यिक नाम युयुत्सु राखे । ‘युयुत्सु आरडी शर्मा’ बन्नुअघि उनको नाम रामदास शर्मा मात्रै थियो । कविताले उनको परिचय नै बदलिदियो ।

एकला चलो रे !

कवि रविन्द्रनाथ टैगोरले ‘एकला चलो रे’ कवितामा भनेझैं युयुत्सु आफूलाई अनन्त यात्राको एक्लो यात्री मान्छन् । भन्छन्, ‘म कहिल्यै नपुगेको ठाउँमा एक्लै पुगेर त्यहाँका मानिसहरूलाई साथी बनाएको छु ।’

हुन पनि दक्षिण अमेरिकाको निकारागुवासम्म उनको पाइला पुगिसकेको छ । त्यहाँका विश्वप्रसिद्ध कवि अर्नेस्टो कार्डानेल (हाल दिवंगत) सँग मित्रता जोडिएको छ । तर, आफ्नो यात्राको उर्जा भने उनले सन्त कविरको एउटा भनाइलाई मान्दै आएका छन् ।

‘तपाईं कवि बन्न चाहनुहुन्छ भने आफ्नो घरमा आगो लाएर हिँड्नुस्’ भन्ने उद्गारले नै युयुत्सुलाई यायावर बनाएको हो । त्यही भनाइको प्रेरणाा उनको पाइलाले गोलार्द्ध विचरण गरिरहेको छ । आफूसँग पैसा नहुँदा पनि यात्रा गर्न नडराएको बताउने उनी भन्छन्, ‘कविरको भनाइको सार कवि भएपछि लोभ, मोह र बन्धनमा नफसी आफ्नो बाटो खोज्न निर्भीक भएर हिँड्नुपर्छ भन्ने हो । मैले त्यही अपनाएँ ।’

अहिले युयुत्सुले सबै समय साहित्यलाई दिएका छन् । पश्चिमेली समाजले साहित्य पनि प्रोफेसनल भएको रुचाउने थाहा पाएपछि उनले आफूलाई त्यो बाटोमा मोडे । अहिले जुन देश गएपनि उनले कविता सुनाएको पारिश्रमिक पाउँछन् । आउने–जाने हवाइ टिकटको स्पोन्सर पाउँछन् ।

विश्व साहित्यलाई नजिकबाट चिनेपछि नेपाली कविता परम्परालाई अत्यन्त बलियो भएको उनले पत्तो पाए । तर नेपाली साहित्यको समग्र अवस्था देखेर भने उनी दिक्क मान्छन् । भन्छन्, ‘वेद, पुराण र महाकाव्य लेख्ने परम्पराले नेपाली कविता समृद्ध छ । तर साहित्यका आधुनिक विधामा भने हामी अत्यन्त कमजोर छौं ।’

आधुनिक साहित्यका उपन्यास, कथा, निबन्धजस्ता गद्य विधा अत्यन्त कमजोर रहेको उनको निचोड छ । मनमा जे लाग्यो त्यो लेखेर आधुनिक साहित्य नहुने बुझिसकेका युयुत्सु नयाँ पुस्तालाई विश्व साहित्यको सम्पूर्ण वाद–सिद्धान्त र शैली पढ्न सुझाउँछन् ।

कोरोना महामारीले युयुत्सुको पाइला जन्जिरसरह बाँधिएको छ । तर, उनी आत्तिएका छैनन् ।

पछिल्लो एक वर्ष काठमाडौंमा घरभित्रै बसेर सृजनाकर्ममा होमिएका छन् । यसबीचमा चिनियाँ कविताको नेपाली अनुवाद प्रकाशन गरेका छन् । भर्चुअलरुपमा युरोप–अमेरिकाका कविगोष्ठीमा सहभागी भएर घरखर्च जुटाइरहेको उनी बताउँछन् ।

(तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment