Comments Add Comment

भारतमा कसरी हुँदैछ कोरोना खोपको तयारी

१९ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा अहिलेसम्म एक करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो महामारी नियन्त्रणको लागि अहिले विश्वका धेरै मुलुकहरुमा कोरोना खोप कार्यक्रम सुरु पनि भइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महामारी नियन्त्रणको लागि ‘दबाइ भि, कडाइ भि’ नारा अघि सारेका छन् । यसले पनि भारत अबको केही समयमा नै कोरोना खोप कार्यक्रम ल्याउने दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ ।

भारतले कहिले देला कोरोना खोपलाई अनुमति ?

धेरै मुलुकले कोरोना खोपलाई अनुमति दिँदै खोप कार्यक्रम सुरु गरिसकेका छन् । तर, अहिलेसम्म भारतले भने कुनै पनि कोरोना खोपलाई अनुमति दिएको छैन । यद्यपि उसले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँगको सहयोगमा विकास गरेको कोरोना खोप र घरेलु कम्पनी भारत बायोटेकले निर्माण गरेको कोरोना खोपलाई अनुमति दिने अन्तिम तयारी गरेको छ । भारतका खोप विज्ञहरुले यी दुई खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गरिसकेका छन् । यद्यपि भारत बायोटक कम्पनीले विकास गरेको खोपको अन्तिम चरणको परीक्षण सकिएको छैन ।

साथै अन्य केही कम्पनीहरुले पनि आफ्नो खोपलाई अनुमति दिन आवेदन दिएका छन् । तर, उक्त खोपहरुको विषयमा भने थप अध्ययन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोना खोपले पनि भारतमा अनुमतिको लागि आवेदन दिएको थियो । तर, भारतीय अधिकारीहरुले भने फाइजरको खोपबारे पर्याप्त जानकारीहरु पाउन नसकिएको बताउँदै आएका छन् ।

भारतमा रुसी कम्पनीले विकास गरेको खोपको पनि परीक्षण चलिरहेको छ ।

खोप कार्यक्रमको तयारी

भारतमा अहिले कोरोना खोप कार्यक्रम सुरु गर्नुपूर्व गरिने पूर्वाभ्यास -ड्राइ रन) चलिरहेको छ । भारतको केन्द्र सरकारले सबै प्रान्तहरुलाई कोरोना खोप कार्यक्रम सुरु गर्न तयार अवस्थामा रहन निर्देशन दिइसकेको छ । त्यसको लागि प्रत्येक प्रान्तको राजधानीमा कम्तीमा तीन स्थानमा ड्राई रन गरिनेछ । ड्राइ रनको क्रममा मानिसहरुलाई वास्तविक नभई डमी खोप दिइनेछ । यसले मानिसहरुलाई खोपप्रतिको विश्वास बढाउन र खोप आएसँगै तत्काल खोप कार्यक्रम अघि बढाउन सहज हुने जानकारहरुले बताएका छन् ।

भारतले अहिले मुलुकभरका ९६ हजार खोप दिने मानिसहरुलाई खोप दिने तालिम दिइनेछ ।

कसरी वितरण हुनेछ खोप ?

भारतले पहिलो चरणमा जोखिमपूर्ण समुहमा रहेका र फ्रन्टलाइनमा रहेर काम गर्ने ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ । जसमा स्वास्थ्यकर्मीहरु एक करोड छन् । त्यस्तै फ्रन्टलाइनमा काम गर्ने मानिसहरुको संख्या दुई करोड छ । त्यस्तै ५० वर्षभन्दा बढी उमेर भएका र पहिला नै अर्को कुनै दीर्घरोगको समस्या रहेका २७ करोड मानिसले पहिलो चरणमा कोरोना खोप पाउने योजना भारतले बनाएको छ ।

एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा अन्य मानिसहरुले भने कोरोना खोपको लागि अर्को चरणको प्रतीक्षा गर्नुपर्नेछ । भारतले पहिलो चरणको खोप कार्यक्रम आठ महिनामा सकाइसक्ने बताएको छ । तर, भारतमा समग्रमा एक वर्षमा पाँच करोड ५० लाख मानिसलाई खोप लगाउने गरेको छ । यस्तोमा भारतले राखेको लक्ष्य पूरा हुनेमा भने जानकारहरुले भने आशंका व्यक्त गरेका छन् ।

खोप उत्पादन

भारत विश्वको सबैभन्दा ठूलो खोप निर्माता मुलुकमध्येको एक हो । अक्सफोर्डको खोप निर्माणको अनुमति पाएको भारतको सेरम इन्स्टिच्युटले प्रतिमहिना पाँचदेखि ६ करोड डोज खोप उत्पादन गर्दै आएको छ । फेब्रुअरीसम्ममा कम्पनीको खोप उत्पादन प्रतिमहिना १० करोड पुग्न सक्ने बताएको छ । सेरम इन्स्टिच्युटले सरकारको लक्ष्यअनुसारको खोप तयार पार्नमा कम्पनी तयार रहेको बताएको छ । सेरम इन्स्टिच्युटले भारतका लागि मात्र नभई कम विकसित मुलुकहरुका लागि पनि खोप निर्माण गरिने बताएको छ ।

सेरमले अक्सफोर्डको खोपको भाउ दुई डोजको तीन डलरमा सरकारलाई र ६ देखि ८ डलरमा निजी बजारमा बिक्री गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment