Comments Add Comment

भीम रावलको स्पष्टीकरण :  ‘साइबर सेना’ ले कुप्रचार गरे

२४ पुस, काठमाडौं । संसद विघटनसँगै दुई खेमामा विभाजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताहरु आरोप-प्रत्यारोपमा व्यस्त छन् । उनीहरुले आरोप-प्रत्यारोपका क्रममा नेताहरुले राजनीतिक शिष्टतासमेत बिर्सन थालेका छन् ।

यसवीचमा नेताका भनाइबारे ‘फेक न्युज’ हरु समेत आएका छन्् र, त्यही न्युजलाई प्रयोग गरेर नेताहरुको आलोचना भइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री र सरकारको आलोचना गर्दै आएका र हाल प्रचण्ड-माधव समूहमा लागेका भीम रावल त्यस्तै फेक न्युजको शिकार भए । रावलले बोल्नै नबोलेको विषयमा समाचार बनेको मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा र राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले राष्ट्रियसभामा प्रश्न उठाएपछि रावलले सार्वजनिकरुपमै स्पष्टीकरण दिनु परेको छ ।

पहिलो आरोप : महिलाको किड्नी राखेका कारण केपी ओलीको दिमाग बिगि्रयो भीम रावलले भन्यो ।

आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओली आइतबार सार्वजनिक मञ्चबाटै रावलमाथि खनिए । ओली समूहका नेता-कार्यकर्ताले सामाजिक सञ्जालहरुमा रावलको चर्को आलोचना गरे । बिहीबार त यो विषय राष्ट्रिय सभामै उठ्यो । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले राष्ट्रिय सभाको बैठकमै यही विषयलाई लिएर नेता रावलमाथि प्रश्न उठाएकी थिइन् ।

रावलको खण्डन : तथ्यहीन कु-प्रचारको सहारा नलिनुस्

शुक्रबार काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्ने क्रममा रावलले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

यसबारे आफूले खण्डन गर्नुका साथै गलत समाचार लेख्नेले समेत माफी मागिसकेको उनले बताए । ‘तर, देशको प्रधानमन्त्री एउटा कथित कार्यकर्ता भेलामा गएर भन्नुहुन्छ, घरमा गएर श्रीमती कसरी भेट्ने होला, जनताको बीचमा, महिलाहरुका बीचमा कसरी जाने होला, लाज लाग्नुपर्ने हो’ नेता रावलले भने, ‘म यहीँबाट भन्न चाहन्छु, यस्तो झूठा बोल्ने केपी ओलीजीले लाज मान्नुपर्ने हो ।’

राष्ट्रियसभामै आफूमाथि प्रश्न उठेको भन्दै रावलले त्यसको पनि जवाफ दिन भ्याए । ‘राष्ट्रपति कार्यालयमा सल्लाहकार बस्नुभएकी एकजना राष्ट्रिय सभाकी माननीय भनौं भने मान्न लायक छैन, उहाँले हिजो (बिहीबार) मात्रै भाषण गर्नुभएछ, एकजना उपप्रधामन्त्री भइसक्या मान्छेले यसो भनेछ भनेर । यस्ता तथ्यहीन कुप्रचारको सहारा बाँचेका ओलीजीले एक वर्षसम्म सिंहदरबारको कुर्सीमा नबसेर देशको फजिती गरेको हुनाले आजको संकट आएको हो ।’

दोस्रो आरोप : सुदूरपश्चिम कमिटीको ३० लाख हिनामिना

नेकपा दुई समूहमा विभाजित भएपछि नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता रावललाई आर्थिक हिनामिना गरेको भन्दै कारबाही गर्न पार्टी केन्ऽलाई सिफारिस गरेको छ । रावलले पार्टी कमिटीको खातामा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ । यसमा शीर्षनेताहरु नै बोलेका छन् ।

रावलको जवाफ : बानी भएकाहरुले भनेका हुन् ।

शुक्रबारको कार्यक्रममा रावलले आफूमाथि लागेको आर्थिक हिनामिनाको आरोप पनि खण्डन गरे । ‘हाम्रो सुदूरपश्चिम प्रदेश कमिटीको खाता सञ्चालन कार्यालय सञ्चालन पार्टीको सचिवले गर्नुहुन्छ । यति कुरा त केपी शर्मा ओली र उहाँका कथित साइबर सेनालाई थाहा हुनुपर्ने हो’ नेता रावलले भने, ‘त्यो खातालाई हाम्रा कामरेडहरुले आवश्यकताअनुसार सञ्चालन गर्नुभएको छ ।’

उनले थपे, ‘केन्द्रीय कार्यालयमा हेरौं, केपी शर्मा ओलीजीले ल यति करोड रहेछ, निर्वाचन आयोग र अदालतमा निर्णय नहुँदासम्म चलाउँदैनौं भनेर पेश गर्नु भएको छ ?’

प्रदेशको कमिटीको खातामा ३० लाख रहेको स्वीकार गर्दै रावलले त्यसलाई सुरक्षित राख्न सचिव र कार्यालय सचिवले खाता व्यवस्थित गर्दा आफूमाथि गलत आरोप लागेको बताए । उनले भने, ‘खाता व्यवस्थित गर्दा पैसा लुटियो, अपचलन भयो रे ! यो अपचलन गर्न बानी परेकाहरुको दिमागको कुरा हो ।’

आफूलगायतका नेताहरुविरुद्ध घृणा फैलाउन ओली समूहले ‘साइबर सेना’ मार्फत कुप्रचार गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment