Comments Add Comment

संकटपछि झन् शक्तिशाली बनेको कतार

२६ पुस, काठमाडौं । साढे तीन वर्षपछि सोमबार (भोलि) साउदी अरेबियाको साउदी एयरलाइन्स कतारको दोहामा अवतरण हुँदैछ । यससँगै कतारमा खाडी क्षेत्रका चार मुलुकले लगाएको प्रतिबन्ध विधिवतरुपमा अन्त्य हुनेछ ।

यद्यपि यसको छनक एकसाता अघि साउदी अरेबियाको प्राचीन सहर अल–उलामा भएको गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) को बैठकले दिएको थियो । त्यो बैठकमा खाडी क्षेत्रका मुलुकले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । जसका लागि खाडी मुलुकबीच ‘एकजुट र स्थिरता’ सम्झौता भएको थियो ।

सन् २०१७ मा साउदी अरेबिया, यूएई, बहराइन र इजिप्टले कतारसँगको हवाई, स्थल र समुद्री बाटोमा नाकाबन्दी लगाउने निर्णय गरेका थिए । त्यसयता ती मुलुकले निरन्तर कतारमाथि प्रतिबन्ध लगाउँदै आएका थिए । गत साता भएको सम्झौतापछि भने उनीहरुले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् ।

गत साता भएको यो सम्झौतापछि खाडी मुलुकले अब छिट्टै कतारसँगको सम्बन्ध पहिलाकै अवस्थामा फर्किने बताएका छन् ।

किन लगाइएको थियो कतारमाथि प्रतिबन्ध ?

उक्त चार मुलुकले कतारलाई आतंकवादको समर्थन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । ३० लाखभन्दा कम आवादी रहेको यो मलुकलाई उनीहरुले मुख्यगरी आतंकवादको समर्थन छाड्नुपर्ने, इरानसँग आवश्यकताभन्दा धेरै सम्बन्ध विस्तार गर्न नहुने र दोहास्थित अलजाजिराको न्युज च्यानलमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए ।

त्यति मात्र होइन, नकाबन्दी हटाउन यी चार मुलुकले समग्रमा १३ ओटा शर्त राखेका थिए । यद्यपि तेल तथा ग्यासको धनी मुलुकले भने उनीहरुले माग अस्वीकार ग¥यो । कतारले न अलजाजिरामाथि रोक लगायो, न इरानसँगको सम्बन्ध घटायो । खाडी मुलुकका १३ मध्ये कतारले एउटा शर्त पनि पूरा गरेन ।

कतारमाथि प्रतिबन्ध लगाइनुको एक कारण इस्लामिक संगठन या इख्वान उल–मुस्लिमिन हो । यो संगठनलाई इजिप्ट र साउदी अरेबियाले चरमपन्थी संगठन बताउँदै आएका छन् । तर, कतार, प्यालेस्टाइन र टर्कीले भने यसलाई केवल एक कट्टर इस्लामिक संस्था भएको बताउँदै आएका छन् ।

कतारले गाजा, लिबिया र अन्य स्थानहरुमा राजनीतिक इस्लामवादी आन्दोलनको सहयोग गर्दै आएको छ । विशेषगरी खाडी मुलुकले चरमपन्थी मानेका पारम्पारिक इस्लामिक संगठनको आन्दोलनमा कतारले सहयोग गर्ने गरेको छ । यो पनि कतारमाथि खाडीका अन्य मुलुकले प्रतिबन्ध लगाउनुको कारण हो ।

कतारले इरानसँगको सम्बन्ध बलियो नबनाउने दबाब खाडी क्षेत्रका मुलुकबाट खेप्दै आएको थियो । जसलाई कतारले आफ्नो विदेश नीतिमा बाह्य हस्तक्षेपको रुपमा मान्दै आएको थियो । यद्यपि जीसीसीको सदस्य भएको कारण कतार इरानसँगको सम्बन्ध थप अघि नबढाउन बाध्य पनि हुन सक्थ्यो । त्यसैले इरानसँगको सम्बन्ध विस्तार कतारमाथि प्रतिबन्ध लाग्नुको अर्को कारण बन्न पुग्यो ।

त्यसो त कतारमाथि चार खाडी मुलुकले अचानक प्रतिबन्ध भने लगाएका होइनन् । सन् २०१४ मा नै यी चारै मुलुकले केही महिनाको लागि कतारबाट आफ्ना राजदूत फिर्ता बोलाएका थिए । त्यसबेलादेखि नै यी मुलुकबीच केही खटपट आएको संकेत पाइएको थियो ।

मित्रराष्ट्रको साथ

नाकाबन्दीपछि समस्यामा परेको कतारलाई उसका मित्रराष्ट्रहरुले ठूलो सहयोग गरे । नाकाबन्दीको साढे तीन वर्षको अवधिमा कतारलाई सबैभन्दा धेरै सहयोग गर्ने मुलुक टर्की हो । नाकाबन्दीभन्दा पहिला नै कतारको टर्कीप्रतिको झुकाव देखिएको थियो ।

सन् २०१६ मा नै कतारले टर्कीलाई अस्थायीरुपमा एक सैन्य क्याम्प स्थापनाको लागि अनुमति दिएको थियो । कतारको यो कदमको कारण कतारसँग साउदी अरेबिया र यूएई रिसाएका थिए । यी मुलुकले कतारको यो कदमविरुद्ध कडा प्रतिक्रिया पनि दिएका थिए । यो कदमबाट कतारले मुलुक सानो भए पनि आफ्नो मित्रराष्ट्र ठूलो र शक्तिशाली रहेको सन्देश दिएको थियो ।

यसै विषयलाई त्यसको एक वर्षपछि चार मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्दै आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए । नाकाबन्दी खोल्न कतारमाथि राखिएको शर्तमा टर्कीको सैन्य क्याम्प तत्काल बन्द गर्नुपर्ने पनि सामेल थियो ।

कतारले कसरी गर्यो नाकाबन्दीको सामना ?

कतारका अधिकारीहरु विश्व समुदायले सोचेको भन्दै निकै राम्रो तरिकाले कतारले यो संकटको सामना गरेको बताउँछन् । नाकाबन्दी सुरु भएको तीन महिनापछि कतारले सात अर्ब ४० करोड डलरको डिप–वाटर हमाद बन्दरगाह सञ्चालनमा ल्यायो । जसले तेस्रो मुलुकबाट ठूला कार्गो जहाजहरु ल्याउन सहज भयो । सबैभन्दा महत्वपूर्ण पक्ष कतारले आफ्ना नागरिकलाई कुनै पनि कुराको अभाव हुन दिएन । नाकाबन्दीभन्दा अघि खाडी क्षेत्रका उक्त चार मुलुकमा निकै निर्भर रहेको कतारले नाकाबन्दीको कारण आफ्ना नागरिकहरुमा भावनात्मक असर परे पनि प्रत्यक्षरुपमा कुनै पनि भौतिक अभाव भने सिर्जना हुन दिएन ।

कतारको ६० प्रतिशत आयात हुने मुलुकले प्रतिबन्ध लगाएसँगै कतारलाई मुलुकमा खाद्य संकट आउन नदिनु ठूलो चुनौतीको रुपमा थियो । यो अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले निकै छोटो समयमा टर्की र इरानको बाटो हुँदै वैकल्पिक व्यवस्था मिलायो । त्यसका साथै कतारले आफ्नो आन्तरिक उत्पादनमा पनि उल्लेख्य वृद्धि ग¥यो । यहाँसम्म कि कतारले मुलुकमा दुग्ध उत्पादनको अभाव हुन नदिन हजारौं गाई आयात गर्ने निर्णय गरेको हो ।

त्यस्तै कतारले पछिल्लो समय थप आर्थिक सुधारको लागि मध्यपूर्वभन्दा बाहिरका मुलुकसँग आफ्नो आर्थिक सम्बन्ध विस्तार गरिरहेको  छ । विशेषगरी कतारले पछिल्लो समय अमेरिका, जर्मनीलगायतका मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गरेको छ । साथै कतारले मुलुकमा वैदेशिक लगानी भित्र्याउन पनि विभिन्न योजनाहरु ल्याइरहेको छ ।

नाकाबन्दी गरिए पनि कतारले अर्थतन्त्रलाई संकुचन हुन भने दिएन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार सन् २०१७ मा १.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको कतारले २०१८ मा २.४ र २०१९ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिदर हात पारेको थियो ।

जित कसको भयो ?

खाडी मुलुकहरुको कतारमाथिको प्रतिबन्ध फुकुवा गर्नुलाई धेरैले कतारको जित भएको बताएका छन् । खाडी मुलुकले कृत्रिम संकट खडा गर्दै कतारमाथि दबाब दिने प्रयास गरे पनि कतारलाई झुकाउन भने उनीहरुले सकेनन् । यद्यपि हिसाबमा भने यो नाकाबन्दी दुवै पक्षको लागि नोक्सानदायक रहन पुग्यो ।

कतारले यो नाकाबन्दीलाई भने आफ्नो क्षमतावृद्धिको अवसरको रुपमा लियो । साउदी अरेबिया र यूएईलाई आफूहरुले लगाएको नाकाबन्दीको कारण कतार एक क्षेत्रीय शक्ति बनेर उदाउँछ भन्ने आभाष थिएन । नाकाबन्दी लगाउनुभन्दा पहिला कतारसँग केवल फाइटर विमान थियो । अहिले कतारसँग भएको विमानको संख्या २५० को हाराहारीमा पुगेको छ । त्यसका साथै कतारले उल्लेख्य संख्यामा ड्रोन खरिद गरेको छ  । नाकाबन्दीको समयमा कतारले अमेरिकादेखि टर्की, इजरायल, इरान, फ्रान्स, बेल्जियम र सम्भव भएका मुलुकबाट हतियार खरिद गरेको थियो ।

साउदी र यूएईका बैंकहरुले मिलेर कतारको मुद्रा कमजोर पार्ने प्रयास गरेका थिए । तर, त्यो सम्भव भएन । अलजाजिराका ३० पत्रकारहरुको अकाउन्ट पनि ह्याक गरिएको थियो, यसले पनि केही बिगार्न भने सकेन । नाकाबन्दी लगाउँदै कतारलाई दबाब दिएर त्यहाँको सरकारलाई कठपुतली बनाउने प्रयास साउदीको थियो । तर, अहिले कतार पहिलाको भन्दा पनि धेरै शक्तिशाली बनेर उदाएको छ ।

खाडी मुलुक किन प्रतिबन्ध हटाउन तयार भए ?

पछिल्लो केही महिनामा कुबेती र अमेरिकी मध्यस्तकर्ताहरुले खाडी क्षेत्रको गतिरोध अन्त्य गर्नका लागि प्रयास गरेका थिए । त्यसो त कुबेत लामो समयदेखि दुई पक्षलाई मिलाउन प्रयासरत थियो । कुबेतको लामो समयको प्रयास र त्यसमा अमेरिकाले दिएको साथको कारण कतारमाथिको प्रतिबन्ध हटेको हो । त्यसका साथै अमेरिकामा सत्ता परिवर्तन हुन गइरहेको अवस्थामा आगामी प्रशासनको मध्यपूर्वको नीति परिवर्तन हुने सम्भावना देखिएको छ । यस्तोमा साउदीसँग अमेरिकाको सम्बन्ध बिग्रिँदै कतारसँग लामो समयसम्म पनि सम्झौता नहुने सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले पनि यसमा बढी चासो दिएको हो ।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment