Comments Add Comment

‘यो दाजुको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायकको निधन

‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् ।

५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका –१६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।

गायक पुरुषोत्तम न्यौपानेले अनलाइनखबरसँग भने–‘उहाँका गीतहरु धेरै छैनन् तर जति छन् लोकप्रिय छन् ।’ रेडियो नेपाल पोखरामा उनका रेकर्ड भएका केही गीतहरु पनि रहेको न्यौपानेले जानकारी दिए । धनबहादुरले पोखरा महानगरपालिको सरकारी जागिरबाट गतवर्ष अवकाश लिएका थिए । उनले संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको गुरु भएर प्रशिक्षण समेत दिएका छन् । उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व सारंगी पाठशाला’ को समेत गठन गरेका थिए । पाठशालामा उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।

सर्जक तथा वाद्यवादक धनबहादुरको निधनले लोक सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए । लोक सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुले उनको निधनमा दुःख ब्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment