Comments Add Comment

खुला उद्यान बनाउने योजना अलपत्र

फाइल तस्वीर

२५ माघ, काठमाडौं । वन्यजन्तुको खुला उद्यान बनाउने सरकारी योजनाहरु अलपत्र परेका छन् । भक्तपुरको सूर्यविनायक र तनहुँको भानुमा बनाउने भनिएका यस्ता प्राकृतिक चिडियाखाना अहिलेसम्म अलमलमा छ ।

सन् २०११ मा राष्ट्रिय प्रकृति संरक्षण कोषले जाउलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसवर्ष भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखाना (ओपन जु)का रुपमा विकास गर्ने गरि अध्ययन नै भयो । सम्भाब्य देखिएको निष्कर्ष निकालेको एक दशकसम्म सो योजना अलपत्र छ ।

सूर्यविनायकमा बन्ने खुला चिडियाखानाको लागि कार्यालय भवन बनेको ४ वर्ष बित्यो । चिडियाखाना रहने क्षेत्रमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।

२०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले यो चिडियाखाना बनाउने निर्णय गरेको थियो । २०७३ असार ९ गते तत्कालीन प्रधानमन्त्री केपी ओली आयोजनाको शिलान्यास गरेका थिए । २ वर्षभित्र काम सकेर चिडियाखना सञ्चालन गर्ने भनिएपनि आधारभूत काम पनि सकिएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सकिएको छैन । विभागका प्रवक्ता हरिभद्र आचार्य डीपीआर तयार भइसकेपछि मात्र २४५ हेक्टर वन क्षेत्रमा चिडियचाखानाको भित्री संरचनाको तयारी सुरु हुने बताउँछन् ।

चिडियाखाना बनाउने योजना छिटो अघि बढाउन स्थानीयले पनि माग गरिरहेका छन्’, उनी भन्छन्, ‘तर, वन्यजन्तु रहने ब्लकहरुको निर्धारण डीपीआरअनुसार नै हुने भएकाले बाँकी काम अघि बढ्न सकेको छैन ।’

सूर्यविनायकका ७ वटा सामुदायिक वनले चिडियाखाना राख्न सहमति दिएका छन् । १४.२ हेक्टर वन क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र पनि बनाउने योजना छ ।

जाउलाखेलबाट सार्ने–नसार्ने अन्योल

जाउलाखेलको चिडियाखाना जम्मा करिब ६ हेक्टर क्षेत्रफलमा छ । सूर्यविनायकमा खुला चिडियाखाना बनेपछि यताको वन्यजन्तु उता सार्ने कि जाउलाखेलमै चिडियाखाना चलाइरहने भन्नेमा मतान्तर छ ।

कतिपय सरकारी अधिकारी र विज्ञ सीमित संख्यामा वन्यजन्तु राखेर जाउलाखेलको चिडियाखना चलाइ राख्नुपर्ने मत राख्छन् भने कोही सहरबीचको चिडियाखाना वन्यजन्तुको स्वास्थ्य र सुरक्षामा उपयुक्त नहुने भएकाले सार्नपर्ने पक्षमा छन् ।

वन्यजन्तुविद् डा. उदयराज शर्मा सूर्यविनायकमा खुला चिडियाखाना खोल्नु सकारात्मक भएपनि जाउलाखेलको चिडियाखाना बन्द गर्न नहुने मत राख्छन् ।

सहरबीचमा रहेको यो चिडियाखाना धेरैको लागि सहज पँहुचमा रहेको र यसले बालबालिकाको शैक्षिक चेतनास्तर विकासमा राम्रो सहयोग गरिरहेको उनी बताउँछन् । यसलाई थप व्यवस्थित गरेर चलाउन पर्ने उनी बताउँछन् ।

चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेल सहरमा चिडियाखाना हुँदा कहिलेकाहीँ सहर पस्ने चितुवा लगायतका वन्यजन्तु नियन्त्रणमा लिन पनि सहज भएको बताउँछन् । चिडियाखानाका जनावरलाई भने सहरको प्रदूषणले असर पारेको उनी बताउँछन् ।

जाउलाखेलमा ११० प्रजातिका करिब एक हजार वन्यजन्तु राखिएका छन् । वन्यजन्तु र तिनका प्रजाति घटाउँदै लगिएको चिडियाखानाका प्रमुख पोखरेल बताउँछन् । सानो घेराभित्र राखिएका वन्यजन्तुले प्राकृतिक वातावरण पाएका छैन ।

तिनको वृद्धि पनि हुन सकेको छैन । पटक–पटक विभिन्न रोगव्याधीले सताइएका छन् । ‘सहरी प्रदूषणले मान्छेको स्वास्थ्यमा असर गरिरहेको बेला वन्यजन्तु त्यसबाट अछुतो रहने कुरै भएन,’ चिडियाखानाका प्रमुख पोखरेल भन्छन्, ‘यस बिषयमा व्यवस्थित अध्ययन पनि हुन सकेको छैन ।’

वन्यजन्तुविद् शर्मा चिडियाखाना क्षेत्रमा कपुरका बोटहरु र पानीका मूल पनि रहेकोले यसलाई वन्यजन्तु सुहाउँदा हुनेगरि व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘चिडियाखानाहरु बनाउन विदेशी दातृ निकायले सहयोग गर्दैनन्,’ उनी भन्छन्, ‘सरकारले आवश्यक ठानेको परियोजना आफैंले लगानी गरेर अघि बढाउनुपर्छ ।’

तनहुँको योजना पनि अलपत्र

तनहुँमा नेपालको सबभन्दा ठूलो चिडियाखाना बनाउने योजना पनि चारवर्षदेखि अलपत्र छ । तनहुँको भानु–घाँसीकुवा नगरपालिकाको छिर्केनीभञ्ज्याङ वन क्षेत्रमा ‘प्राणी उद्यान’ निर्माण प्रक्रिया २०७३ सालबाटै अघि बढाइएका थियो ।

प्रत्येक प्रदेशमा एउटा प्राणी उद्यान बनाउने सरकारी योजनाअनुरुप अगाडी बढेको यो उद्यानको काम पनि चलिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता आचार्य बताउँछन् ।

४२५ हेक्टर क्षेत्रफलमा फैलिने तनहुँको प्राणी उद्यानमा नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राख्ने योजना छ । लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिलाई प्राथमिकता दिने योजना छ । यसलाई वन्यजन्तुको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना छ ।

पर्या–पर्यटनको विकासका लागि सूर्यविनायक र भानुको प्राणी उद्यान कोसेढुंगा सावित हुने विभागको दावी छ । जंगलमै राखिने भएकाले यस्ता उद्यानमा घुम्न जानु नेपालमा नयाँ किसिमको अनुभव हुने प्रवक्ता आचार्य बताउँछन् ।

यस्ता योजनाको प्रगति भने निरासाजनक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment