Comments Add Comment

ओली समूहमा खटपट, बादल समूहद्वारा युवा भेला बहिष्कार

२६ माघ, काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् ।

नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित ढुंगानाले बताए । ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं । त्यो भेला गुटको हो भन्ने उहाँहरुले प्रमाणित गर्नुभयो’ ढुंगानाले भने ।

बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो । एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, ढुंगानाले अनलाइनखबरसँग भने ।

एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको ढुंगानाले बताए ।

बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ । एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ । पौडेलले आफूले छोड्दा बचन सिंहलाई संयोजक बनाउनुपर्ने अडान लिएका छन् । ‘मैले संयोजक छोड्दा बचन सिंहलाई अगाडि बढाउँछु’, पौडेलले भने ।

इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका छन् । सोमबार दिनभर भएको छलफलपछि बहुपदीय संरचनामा जाने सम्भावना बढेको प्रभातविक्रम कट्वालले बताए । तर बहुपदीय संरचनामा जाँदा पनि विवाद हल हुने सम्भावना कम रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment