Comments Add Comment

म्यानमार : आम निर्वाचन गराउने सेनाको प्रतिवद्धता, प्रदर्शनकारीले रोके रेल

Photo Credit : REUTERS

४ फागुन, काठमाडौं । म्यानमारको सेनाले आम निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेको छ । सेनाले मुलुकमा आम निर्वाचन गराउने र निर्वाचनमा जित हात पार्नेलाई सत्ता सुम्पिने बताएको हो । साथै सेनाले निर्वाचित सरकारलाई हटाउँदै सत्ता आफ्नो हातमा लिनु कू नभएको पनि दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघले म्यानमारलाई प्रदर्शनकारीमाथि दमन गरे त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएसँगै मंगलबार म्यानमारको सेनाले यस्तो बताएको हो । सेनाका प्रवक्ता ब्रिगाडियर जनरल ज मिन टुनले भने, ‘हामी उद्देश्य निर्वाचन गराउने र जित्ने पार्टीलाई सत्ता सुम्पिनु हो ।’

सेनाले म्यानमारमा सत्ता आफ्नो हातमा लिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेको हो । यद्यपि सेनाले नयाँ निर्वाचनको मिति भने तोकेको छैन तर एक वर्षका लागि संकटकाल घोषणा गरिएको हो । सेनाका प्रवक्ताले सेनाले लामो समयसम्म शक्ति आफ्नो हातमा नलिने बताएका छन् । ‘हामी आश्वस्त पार्न चाहन्छौं कि निर्वाचन हुनेछ’, मिन टुनले भने ।

सेनाले फेब्रुअरी १ मा मुलुकका प्रजातन्त्रवादी नेता तथा सांसदहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । यसको विरोधमा अहिले म्यारमारमा हजारौं मानिसहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिरासतमा लिइएका नेताहरुलाई तत्काल रिहा गर्न माग गरिरहेका छन् । मंगलबार प्रदर्शनकारीहरुले यान्गोन र मालामयिनबीचको रेलसेवा ठप्प पारेका छन् । उनीहरुले सत्ता जनतालाई नै हस्तान्तरण गर्न माग गरिरहेका छन् ।

म्यानमारमा भइरहेको प्रदर्शन भने अहिलेसम्म शान्तिपूर्ण नै देखिएको छ । सेनाले भने मुलुकमा अहिले भइरहेको प्रदर्शनले मानिसमा त्रास उत्पन्न गराइरहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment