Comments Add Comment
प्रारम्भिक अध्ययनको निष्कर्ष :

ग्वार्कोमा फ्लाइओभर, एकान्तकुना र सातदोबाटोमा अन्डरपास बनाउनुपर्ने

१३ फागुन, काठमाडौं । काठमाडौंका तीन ठाउँमा फ्लाइओभर/अन्डरपास बनाउन डिटेल डिजाइनको काम चलिरहेको छ । त्यसमध्ये चक्रपथको ग्वार्को चोकमा फ्लाइओभर तथा सातदोबाटो चोक र एकान्तकुना चोकमा अन्डरपासको अध्ययन भइरहेको छ ।

विभागले परामर्शदाता कम्पनी छनोट गरेर डिजाइनसहित लागत अनुमान तयार गर्न लागेको छ । सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका आधारमा ग्वार्को चोकमा फ्लाइओभर र सातदोबाटो चोक र एकान्तकुना चोकमा अन्डरपासको संरचना बनाउन अध्ययन भइरहेको छ । अन्तिम रिपोर्ट नआएकाले ती स्थानहरुमा कस्ता प्रकृतिका पूर्वाधार बनाउन सकिन्छ भनेर एकीन भने भइनसकेको उनको भनाइ छ ।

‘प्रारम्भिक प्रतिवेदनका आधारमा ग्वार्को फ्लाइओभरमा यसैवर्षमा टेन्डर गर्न सकिन्छ कि भनेर प्रयासरत छौं,’ जैसीले भन्यो,’अन्य दुई दुई चोकको अवस्था थोरै जटिल भएकाले तत्कालै निर्माणमा जान सकिँदैन होला ।’  डिटेल डिजाइन सकेपछि अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चित गरिने उनले बताए ।

फ्लाइओभर बनाउने प्रक्रिया अघि बढेकै बेला रेल विभागले बुढानीलकण्ठ-महाराजगञ्ज-सातदोबाटो-गोदावरीखण्डको मेट्रो रेल र लगानी बोर्डले धुलिखेल-नागढुंगा रेलमार्गको विस्तृत सम्भाब्यता अध्ययन गरिरहेको छ । यही बेला काठमाडौं महानगरपालिका पनि चक्रपथमा मोनोरेल चलाउन डीपीआर बनाइरहेको छ ।

मेट्रो रेल पनि भूमिगत नभएर ‘एलिभेटेड’ (जमिनमाथि पुलमा गुड्ने) भनिएको छ । मोनो रेल पनि जमिनमाथि पुलमा नै हुन्छ भने फ्लाइओभर सतहमाथि नै बन्ने पूर्वाधार हो । मेट्रो रेल भूमिगत बनाए पनि फ्लाइओभरका ठूला पिल्लरका कारण भविष्यमा समस्या थपिने जोखिम हुने विज्ञहरु बताउँदै आएका छन् ।

त्यसैकारण भवियमा बन्ने रेलमार्गहरुलाई समस्या नपर्ने गरी ग्वार्कोमा फ्लाइओभर बनाउन खोजिएको जैसी बताउँछन् । ‘बीचका चार लेनमा फ्लाइओभर बन्ने हो, दायाँ-बायाँका अबरु चार लेनमा रेल राख्न पर्याप्त ठाउँ हुन्छ,’ उनी भन्छन्,’हामीले सबै निकायसँग छलफल गरेर अध्ययन गरिररहेका छौं ।’

एकान्तकुना र सातदोबाटोमा भने नजिकै अरु पनि चोकहरु रहेकाले लामो फ्लाइओभर बनाउनुपर्ने देखिएको छ । ती चोकमा मेट्रो र मनोरेलको स्टेसन पनि रहनसक्ने भएकाले फ्लाइओभर बनाउँदा जटिलता आउनसक्ने विभागको भनाइ छ ।

‘एकान्तकुना र सातदोबाटोको जनिकै अरु चोकहरु पनि छन्, त्यसेले मुख्य चोकमा मात्रै फ्लाइओभार हालेर नहुने देखियो,’ उनले भने,’ग्वार्कोमा भने फ्लाइओभर बनाउन त्यस्ता खालका सवाल छैनन् ।’

विज्ञका सुझाव

विज्ञहरु पनि भविष्यमा फ्लाइओभर र रेल आयोजना एकअर्काको बाधक नबन्ने गरी नै बनाइनुपर्ने बताउँछन् । करोडौं खर्च गरिएका कुनै पूर्वाधार आयोजनाले क्षति बेहोर्नुपर्ने अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनीहरुको मत छ ।

महानगरपालिकाले चक्रपथमा निर्माण गरेका आकाशेपुलहरु सडक विस्तार गर्दा भत्काउनु परेजस्तै फेरि फ्लाइओभर बनाएर मेट्रो रेल बनाउन भत्काउनपर्ने अवस्था आउन नदिन उनीहरुको सुझाव छ ।

‘प्रतिकिलोमिटर ४-५ अर्ब रुपैयाँले बन्ने ‘एलिभिटेड मेट्रो’लाई फ्लाइओभरले छेक्ने भयो भने प्रतिकिमि १०-१२ अर्ब चाहिने भूमिगत मेट्रोमा जानुपर्ने हुन्छ । अहिले हामीले गर्ने विकास निर्माण भविष्यमा पछुतोको विषय नबनुन्,’ पूर्वाधारविद् डा. सूर्यराज आचार्य भन्छन् । एउटा पूर्वाधारले अर्कोलाई पुर्‍याउने बाधाबारे पहिल्यै सोच्नुपर्ने र अन्तरनिकाय समन्वय गरेर काम गर्नुपर्ने उनी बताउँछन् ।

काठमाडौंको सडक सञ्जाल र त्यसको व्यवस्थापनबारे एकीकृत अध्ययन भएको छैन । न त एकीकृत योजना नै बनेको छ । कुन चोकमा, कुन समयमा, कस्ता सवारी र यात्रुको कति चाप हुन्छ भन्नेबारे अध्ययन भएको छैन । ट्राफिक जामका आधारमा फलानो चोकमा बढी वा कम समस्या छ भन्ने गरिएको छ ।

शहरका कुन सडकका कुन साइडमा कति मिटर मुनि ढल र खानेपानीका पाइप राखिएको छ भन्ने कुरा सम्बन्धित विकासे अड्डाालाई नै थाहा छैन । टेलिफोन र बिजुलीका तार पनि त्यसरी नै सडकमा हालिँदैछ । सडकको सतहमुनि कुन ‘युटिलिटी’ कहाँ छन् भन्ने स्पष्ट नक्सा छैन । ढल मर्मत गर्दा खानेपानीको पाइप फुट्ने र खानेपानीको पाइप मर्मत गर्न सकड खन्दा टेलिकमको फाइबर काटिने समस्या छ ।

अब सडकमाथि र मुनिका पूर्वाधार पनि त्यही शैलीमा बनाउन नहुनेमा विज्ञको जोड छ । पूर्वाधारविद आचार्य शहरी विकासको अवस्था, ट्राफिक चाप र भविष्यमा देखिनसक्ने समस्यको समग्र अध्ययन गरेर मात्र यस्ता काम अघि बढाउँदा उचित हुने बताउँछन् ।

‘शहरी यातायात सञ्जालको आफ्नै विज्ञान छ, उनी भन्छन्, ‘ट्राफिक चाप लगायतका पक्षहरुको विज्ञानमाथि अध्ययन भएर आयोजना प्राथमिकीकरण गरिएको हो जस्तो लाग्दैन ।’

सबै पक्षको अध्ययन नगरी फ्लाइओभरहरु बनाउँदा एउटा चोकमा ट्राफिक जाम हटे पनि अर्कोमा बढ्ने उनले बताए । फ्लाइओभरलाई उनी ‘प्रतिक्रियात्मक सम्बोधन’ भन्छन् । यसमा तालमेल नमिले एक ठाउँमा लाभ भएजस्तो भएपनि अन्य चोकमा झन् समस्या हुने उनी बताउँछन् । उनी भन्छन्, ‘ढाडको नसा च्यापिँदा खुट्टा टेक्न अप्ठेरो हुनु जस्तै हो यो समस्या ।’

डा. आचार्य शहरी यातायातको तुलना मानव शरीरको नसा सञ्जालसँग गर्छन् । यसलाई पहिल्याउन ‘पर्सनल टि्रप सर्भे’सम्म जानुपर्ने उनी बताउँछन् । ‘विदेशमा प्रत्येक सहरी यात्रुको दैनिक यात्रा प्रवृत्ति विश्लेषण गरेर यातायात संजालको योजना बनाइन्छ’, उनी भन्छन्, ‘काठमाडौंमा पनि सवारी जामको समस्या हटाउँन वैज्ञानिक विधि अपनाउनै पर्छ ।’

भक्तपुर र पेप्सीकोला क्षेत्रमा शहरीकरण बढेअनुसार पूर्वाधार योजना नहुँदा कोटेश्वर चोकमा जामको समस्या चर्केको डा. आचार्य बताउँछन् ।

‘अबको १५ वर्षसम्म मेट्रो रेल बनेन भने काठमाडौंका हरेक चोकमा दुई-तीन घण्टा जाममा बस्नपर्छ,’ उनी भन्छन्, ‘मेट्रो बन्ने बाटोमा अरु पूर्वाधार बन्छन् कि भनेर सचेत हुनुपर्छ ।’  फ्लाइओभर र मेट्रोको डिजाइन एकसाथ गरेर निकास निकाल्न सकिने डा. आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment