Comments Add Comment

६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क

१६ फागुन, काठमाडौं । नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

०७६ असोजमा लगानी बोर्डले गरेको सम्झौताअनुसार पार्कमा विभिन्न चरणमा गरेर ६५ अर्ब नेपाली रुपैयाँ बराबरको चिनियाँ लागानी भित्रिने छन् । झापाको दमक र गौरादह नगरपालिकामा तथा कमल गाउँपालिकामा फैलिने यो पार्कको निर्माण कार्य छिटोमा अबको तीन साता पछि अघि बढ्ने निर्माण कम्पनीले दाबी गरेको छ ।

औद्योगिक पार्कको विशेषता

लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालकै सबै भन्दा ठूलो र दक्षिण एसियाकै नमूना हुने चीन-नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए । एक लाख मानिसलाई रोजगारी दिने दाबी गरिएको पार्कमा सबै चरणमा गरेर विभिन्न प्रकारका ४९१ वटा औद्योगिक प्लान्टहरु रहने छन् ।

औद्योगिक पार्कमा मूख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्क सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई वटा पार्कहरु पनि रहनेछन् ।

औद्योगिक पार्कभित्र होमप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतिय सूचना प्रविधिका सामाग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने अध्यक्ष थापाले बताए ।

पार्कमा बिद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण हुने उनले बताए । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने कम्पनीले जनाएको छ ।

वैदेशिक लगानी नेपाल भित्र्याउने, प्रविधि हस्तान्तरण गराउने, रोजगारी व्यवस्थापन गर्ने र हाइटेक कम्पनीमार्फत नेपालबाट विश्व बजारमा उत्पादनहरु पुर्‍याउने पार्कको विशेषता हुने अध्यक्ष थापाको भनाइ छ ।६५ अर्ब लगानी भित्र्याउने दावी

निर्माण कम्पनीले तयार पारेको पार्कको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अहिले मुल्यांकनको अन्तिम चरणमा छ । दुवै प्रतिवेदन केही दिनमै स्वीकृत भएपछि ढिलोमा तीन साता पछि पार्क निर्माणको काम अघि बढ्नेछ ।

पहिलो पटक चिनियाँ इन्जिनियरहरुको टोली फिल्ड आएर फर्किएको र अबको तीन साता पनि पुनः माटो परीक्षण लगायतको काम लागि उनीहरु आउने कम्पनीले जनाएको छ ।

यस्तै प्रारम्भिक चरणमा काम थाल्न पुग्नेगरी जग्गा प्राप्तिको काम सकिएको पार्कका अध्यक्ष गोविन्द थापाले बताए । परियोजनाका लगि हालसम्म २ अर्ब रुपैयाँ लगानी भित्रिसकेको र ६ चरणमा गरेर कुल ६५ अर्ब नेपाली रुपैयाँ पार्क निर्माणका लागि भित्रिने उनले बताए ।

निर्माण सम्पन्न भएको ३० वर्षसम्म चिनियाँ कम्पनीले सञ्चालन गरेपछि पार्क सरकारलाई हस्तान्तरण गर्ने गरी लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारी भईसकेको छ ।

‘विश्व बजारमा मेड इन नेपाल’ 

भारत, भुटान र बंगलदेशसंगको नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनीहरु भित्रिने निश्चत भएको पार्क व्यवस्थापनले जनाएको छ । हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको पार्कका अध्यक्ष थापाले बताए ।

विश्व बजारमा खपतका लागि चाहिने महत्वपूर्ण वस्तुहरु अब नेपालमा उत्पादन हुने उनको दाबी छ ।

‘गोपनियताका कारण तत्काल ती कम्पनीहरुबारे सबै कुरा खोल्न मिल्दैन, तर विश्व बजारमा अब ‘मेड इन नेपाल’ वस्तुहरु पुग्नेछन्’ अध्यक्ष थापाले भने । पहिलो चरणमा कृषि र खाद्यन्नजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडी देखि मोबाइल फोनसमेत ओद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाली कम्पनी पनि पार्कमा आउन चाहे बाटो खुला रहने अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment