+

लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

२०७७ फागुन  २० गते १९:५२ २०७७ फागुन २० गते १९:५२
लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

२० फागुन, भोजपुर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै सुखद पुनरागमन गरेका छन् । बिहीबार प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा जित निकाल्दै विवेक क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलको प्रतिस्पर्धामा विवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । विवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यू–१६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् ।

उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरकै रत्नजीत तामाङलाई पराजित गर्दै च्याम्पियन भएका थिए । यस्तै उनी सिनियरतर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिष्ट र पुरुष युगल तर्फका पनि फाइनलिष्ट खेलाडी रहिसकेका छन् । निकै नै स्तरीय खेल प्रदर्शन गर्ने र सम्भावित राष्ट्रिय च्याम्पियनको रुपमा हेरिएका खेलाडी विवेकले ३ वर्ष अगाडि सुनसरीको इटहरीमा भएको ७ औं पुष्पलाल र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितापछि घरायसी कारणले खेललाई अगाडि बढाउन सकेका थिएनन् ।

विवेकले पुरुष युगलतर्फ पनि जित निकाले । उनले विशाल तामाङसँग मिलेर दिङला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

अन्तिम आठमा स्थान बनाउने क्रममा नम्बर १ खेलाडी रत्नजीत तामाङ र नविन श्रेष्ठको जोडी पनि दिङला भोजपुरका दावा शेर्पा र नरेन्द्र तामाङको जोडीबाट वाकओभर प्राप्त गरे ।

यस्तै पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी खोटाङका विजय राई र सविन श्रेष्ठको जोडीलाई २१–७, २१–११, सुनसरीका सुजन श्रेष्ठ र झापाका प्रनिश सिंह ठकुरीको जोडी बेलबारीका अजय चौधरी र मन्दीप घलेको जोडीलाई २१–१८, २१–१५, भोजपुरका प्रविन बस्नेत र सुभाष तामाङको जोडी संखुवासभाका सुनिल कार्की र निशान कटुवालको जोडीलाई २१–१०, १७–२१, २१–१४, सुनसरीका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडी बेलबारीका नविन राई र लाक्पा शेर्पाको जोडीलाई २२–२०, २१–१७, बेलटारका विनय चौधरी र सुनिल चौधरीको जोडी भोजपुरका सुरोज मगर र मनोज श्रेष्ठको जोडीलाई २१–१६, २१–१८ ले तथा संखुवासभाका प्रविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी खोटाङका प्रेम जोशी र दीपक खत्रीको जोडीबाट वाकओभर प्राप्त गर्दै अन्तिम आठमा पुगे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सुनसरीका सुजन श्रेष्ठ, पाँचथरका दिवस शंकर, झापाका प्रनिश सिंह ठकुरी, पाँचथरका एशिया जवेगु, सोलुखुम्बुका पेम्बा शेर्पा, इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ र संखुवासभाका प्रविन लिनथेप रहेका छन् । सुजनले भोजपुरका सुवाष तामाङलाई २२–२०, १७–२१, २१–१३, दिवसले चौदण्डीगढी नगरपालिका, बेलटारका विनय चौधरीलाई २१–१६, २१–१०, प्रनिशले दिङला भोजपुरका बुद्ध तामाङलाई २१–१२, २१–१०, एशियाले भोजपुरका विशाल तामाङलाई २१–१६, १२–२१, २३–२१, पेम्बाले भोजपुरका सुरज रानालाई २१–१६, २१–१४, भोजले भोजपुरकै प्रविन बस्नेतलाई १४–२१, २१–८, २१–१२ र प्रविनले गाईघाट उदयपुरका सुवेश राईलाई २१–६, २१–१० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
महिला एकलतर्फ सुनसरीकी सृष्टि चामलिङ राईले बेलटारकी स्मृति राईलाई २१–९, २१–११, बेलटारकी रोजी राईले भोजपुरकी मेनुका तामाङलाई २१–१६, २१–८ र धनकुटाकी अरुणा तामाङले भोजपुरकी मनकुमारी राईलाई २१–६, २१–५ ले पराजित गर्दै अन्तिम आठ प्रवेश गरे ।

यू–१७ छात्रातर्फको खेलमा मोरङकी रोज पाण्डे र बेलटारकी रोजी राई सेमिफाइनल प्रवेश गरे । पाण्डेले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सन्ध्या श्रेष्ठलाई २१–८, २१–३ ले तथा राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका आरजु सिग्देललाई २१–८, २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै बेलटारकी स्मृति राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेस्ना गुरुङलाई २१–१९, २१–१६ ले तथा सुनसरीकी सृष्टि चामलिङ राईले अन्जना राईलाई २१–१७, १७–२१, २१–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

ब्वाईजतर्फको खेलमा भोजपुरका युनिश राई चौदण्डीगढी नगरपालिका, बेलटारका विनय चौधरीसँग पराजित भए । विनयले राईलाई २१–६, २१–८ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । अब विनयले फाइनल प्रवेशका लागि इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङको सामना गर्ने भएका छन् । भोजले संखुवासभाका निशान कटुवाललाई १९–२१, २१–१०, २१–१५ ले पराजित गरे ।

यस्तै अर्को खेलमा सुनसरीका सत्यम सुब्बा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भए । सत्यमले चौदण्डीगढीका सुनिल चौधरीलाई २१–१४, २१–१० ले पराजित गर्दै फाइनल प्रवेशका लागि खोटाङका सनम राईसँग भिड्ने भएका छन् । सनमले संखुवासभाका सुनिल कार्कीलाई १८–२१, २४–२२, २१–१६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले भोजपुरका साना बालबालिकालाई ब्याडमिन्टन खेलप्रति आकर्षण गर्न आयोजना गरिएको ब्वाईज यू–१३ तर्फको खेलमा तयाबुङ राईले अभि राईलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । तयाबुङले अभिलाई २–० ले पराजित गरेका थिए । यसैगरी अश्विन मोक्तानले रश्मन राईलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

अर्को क्वाटरफाइनल खेलमा प्रमिश राईले दीपांशु गुरुङलाई तथा मेवुङ राईले समिर राईलाई समान २–० अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । क्वाटरफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा रश्मन राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका सिमोन कार्कीलाई र दीपांशु गुरुङले दीप तामाङलाई २–० ले पराजित गरेका थिए । दीप ६ वर्षका खेलाडी हुन् ।

ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय