२३ फागुन, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले मेयर्स कप क्रिकेटमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई २५९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको हो । दीपेन्द्र एक्लैले १४० रन बनाएका छन् ।
दीपेन्द्रले ४८ औं ओभरको दोस्रो बलमा अविनाश बोहरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनले १२० बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरे ।
शनिबार सुरु भएको मेयर्स कपमा यो पहिलो शतक हो । घरेलु क्रिकेटमा र पुलिस क्लबका लागि दीपेन्द्रको यो पहिलो शतक हो ।
पुलिस टिमका दीपेन्द्र र पवन सर्राफले पाँचौ विकेटका लागि ७० रनको साझेदारी गरे । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले अनिल शाहसंग ४४ रनको साझेदारी गरे ।
चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले १३१ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गर्दै १४० रन बनाए । दीपेन्द्रले ४९ औं ओभरमा भुवन कार्कीको बलिङमा २३ रन प्रहार गरे ।
पुलिसका पवन सर्राफले ३५, ओपनर सुनील धमलाले ३३ र अनिल शाहले १८, ओपनर कुशल भुर्तेलले १०, अमी श्रेष्ठले १ र कप्तान मन्जित श्रेष्ठ ३ रन बनाए ।
बलिङतर्फ एपीएफका लागि कप्तान शरद भेषावकरले १० ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहराले २ र अमर राउटेलाले १ विकेट लिए ।
प्रतिक्रिया 4