Comments Add Comment

नयाँ सरकार गठनको पहल कसले गर्ने ?

११ चैत, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्ने दलहरूको दाबी थियो, संसद बैकल्पिक सरकार दिन सक्षम छ । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाएको एक महिनासम्म पनि नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको छैन ।

संवैधानिक र कानूनी हिसाबले अझै पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा स्पष्ट बहुमत छ । तीन दलले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन भनिरहेका छन्, तर त्यसको प्रत्युत्तरमा प्रम ओली निकट नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिइरहेका छन् ।

तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपा एकअर्काको ‘मूभ’ र निर्णय कुरेर बसेका छन् । तीन दलले न अविश्वासको प्रस्ताव ल्याउन सकेका छन्, न माओवादीले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ ।

प्रमुख प्रतिपक्ष र सरकारको स्वाभाविक दावेदारको हिसाबले नेपाली कांग्रेसले पहल लिनुपर्ने माओवादी र जसपाका नेताहरुको भनाइ छ । कांग्रेसभित्रै पनि पार्टीले नयाँ सरकार निर्माणमा पहल लिनुपर्ने आवाज प्रबल छ ।

जसपाका नेता राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘अहिलेको समस्या भनेको नयाँ सरकार गठनका लागि कसले पहिला पहल गर्ने भन्ने नै हो, सबै दल एकअर्काको निर्णय कुरेर बसिरहेका छन् ।’

उनका अनुसार सरकार गठन गर्ने हो भने अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी अगाडि बढाउने हो त्यसको एउटा स्पष्ट खाकासहित नेपाली कांग्रेस अगाडि आउनुपर्छ ।

जसपा नेताहरुका अनुसार नयाँ सरकार गठनका सम्बन्धमा पार्टीभित्र विवाद भए पनि ठोस निर्णय गर्न सक्ने अवस्थामा पार्टी छैन। उनीहरुका अनुसार पार्टीभित्रको विवाद आफ्नो ठाउँमा छ तर कांग्रेस र माओवादीको अनिर्णयले पनि सरकार गठन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

जसपाका अर्का एक नेताले भने, ‘हामीले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई सरकार गठन गरिदिनुपर्‍यो भनेर बिन्ती हाल्ने होइन, अनि सरकार गठनका सम्बन्धमा हतारमा निर्णय गरेर हामी फस्ने पक्षमा छैनौं ।’

ती नेताले कांग्रेस अग्रसर नभएको र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता नलिएको खण्डमा जसपाले सरकारको सम्बन्धमा ठोस निर्णय नै गर्न नसक्ने बताए ।

कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई सरकारको नेतृत्व लिन औपचारिकरुपमा आग्रह गरेको अवस्थामा चाहिं पहल गर्न तयार रहेको जसपाका नेताहरुको भनाइ छ ।

माओवादी र कांग्रेसले आग्रह गरेको खण्डमा पार्टीमा सरकारको नेतृत्व लिन पनि तयार हुनुपर्ने आवाज जसपामा रहेको छ ।

नेपाली कांग्रेसले भने परिस्थिति परिपक्व नभएको भनी सरकार गठनमा कुनै पनि पहल गरेको छैन । मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गदै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस आफैंले अविश्वासको प्रस्ताव नल्याउने बताए । कांग्रेसले जसपाभित्रको विवाद र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयलाई लिएर ठोस परिस्थिति निर्माण नभएको बताएको छ ।

आइतबार बसेको सो पार्टीको पदाधिकारी बैठकमा पनि नयाँ सरकार गठनका लागि तत्काल पहल नलिने विषयमा नेताहरुको बीचमा समझदारी बनेको थियो ।

उता माओवादी भने जसपाको निर्णय कुरेर बसिरहेको छ । नयाँ सरकारको विकल्प तयार भएपछि मात्र ओलीलाई दिएको समर्थन फिर्ता लिने मूडमा पार्टीका नेताहरु रहेका छन् ।

माओवादी नेता हरिबोल गजुरेलले जसपाको कारण सरकार निर्माण प्रक्रिया अड्किएको बताए । उनले भने, ‘हामी पार्टीभित्र यस विषयमा छलफल गरिरहेका छौं ।’ यसरी तीन दल एकअर्काको निर्णय कुरेर बसेका छन् । नेताहरुका अनुसार कुनै निर्णय हतारमा लिंदा ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने सम्भावना रहेकाले पनि अविश्वासको प्रस्तावका सम्बन्धमा निर्णय लिन कठिन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment