+

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

२०७७ चैत  १४ गते १७:४४ २०७७ चैत १४ गते १७:४४
खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

१४ चैत, काठमाडौं । विवेक यादव कप्तानीको खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई १ रनले पराजित गर्‍यो ।

खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १४५ रन बनाउन सक्यो । रुपनी राइडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए । उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए ।

खडक वारियर्सको बलिङमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिए । खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए । भुलावन सहनीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १४६ रन बनाएको थियो । वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए । उनले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रन बनाए ।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए । रुपनी राइडर्सको बलिङमा दायाँहाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३४ रन खर्चिए । सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए ।

उपाधिसहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पा¥यो । यस्तै रुपनी राइडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिलकुमार शाह चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए । प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुस्लिङ र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए ।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।

मेयर कप सप्तरी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय